मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. हितेश कुमार भट्टराई
२०७७ असोज १ बिहीबार ०८:४४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालमा लिबरल आर्टस् कलेजको अवधारणा

अग्रलेख

Read Time : > 5 मिनेट
डा. हितेश कुमार भट्टराई
२०७७ असोज १ बिहीबार ०८:४४:००

लिबरल आर्टस् कलेज खोल्न गाह्रो हुन्छ, किनभने धेरै विषयका अध्यापकलाई एकै ठाउँमा ल्याउनुपर्ने हुन्छ

नेपालमा थुप्रै विश्वविद्यालय त खुले, तर पश्चिमी शैलीको लिबरल आर्टस् विश्वविद्यालय भने खुलिसकेको छैन । अवधारणा नआएको भने होइन । नेपालमा दिग्गज शिक्षाविद् केदारभक्त माथेमा तथा विपिन अधिकारीबाट वेलामौकामा लिबरल आर्टस्को महत्वका बारेमा लेख पत्रपत्रिकामा नआएका होइनन् । नवलपरासीको गैंडाकोटमा लिबरल आर्टस् विश्वविद्यालय खोल्ने भनेर ठाउँ पनि छुट्याइएको छ । अवधारणा प्रस्ट पार्ने काम भएको छ । मैले नेपालमा एउटा स्तरको अध्ययन सकाएपछि अमेरिकाको स्वार्थमोर कलेजबाट विज्ञान तथा अर्थशास्त्र विषयमा स्नातक गरेँ । अमेरिकाकै कोर्नेल विश्वविद्यालयबाट मोलिक्युलर बायोलोजी विषयमा विद्यावारिधि हासिल गरी नेपाल फर्किएर काठमाडौं विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा अध्यापन गर्न थालेको पनि तीन वर्षभन्दा बढी भयो । अमेरिका र नेपाल दुवैतिरका कलेजको अनुभव संगालेकाले तथा लिबरल आर्टस् कलेजको अनुभव भएकाले यो लेख लेख्ने जमर्को गरेको छु । 

अमेरिकी र नेपाली कलेजको अन्तर प्रवेश परीक्षणबाटै सुरु हुन्छ । मैले प्रवेश परीक्षाको सट्टा परीक्षण भन्ने शब्द प्रयोग गरेँ, किनकि धेरैजसो अमेरिकी कलेजमा प्रवेश परीक्षा नै हुँदैन । अमेरिकी कलेजले भर्ना लिनुअगाडि विद्यार्थीको एउटा जाँचको नतिजा होइन, पूरा जीवन हेर्न चाहन्छन् । कलेजमा भर्ना हुन निवेदन हाल्दा साधारणतया पाँच प्रकारका सामग्री पेस गर्नुपर्ने हुन्छ । विगत पाँच वर्षको पढाइको नतिजा, विद्यार्थीको भाषा तथा गणितको बुझाइ मापन गर्ने मानक परीक्षा ‘एसएटी’को नतिजा, पढाइबाहेक विद्यार्थी संलग्न अन्य गतिविधिको विवरण, अध्यापकको सिफारिस तथा आफ्नो बारेमा लेखिएको निबन्ध कलेजले हेर्ने पाँच पक्ष हुन् । मैले अध्यापन गरेको काठमाडौं विश्वविद्यालय तथा नेपालका अरू कलेजमा विस्तृत प्रवेश परीक्षा लिने चलन छ । नेपालका मेडिकल स्कुलका प्रतिष्ठित प्रवेश परीक्षाले चर्चा त पहिलेदेखि नै पाएका हुन् । एउटा परीक्षाबाट क्षमता निर्धारण गर्नुभन्दा जीवनभरको परीक्षण गर्नु उत्तम हुन सक्छ । नेपालमा जीवनी नहेरिनुको पछाडि दुइटा कारण हुन सक्छन् । पहिलो, यस्तो पद्धति लागू गर्नलाई विद्यालयले निष्पक्ष नतिजा दिन्छन् भनेर विश्वास गर्न सकिने आधार हुनुपर्‍यो । नेपाली विद्यालयलाई यस प्रकारको निष्पक्षता कायम गर्न कठिन हुन सक्छ । अर्को कलेजका भर्ना समितिले निष्पक्ष निर्णय गर्न जरुरी छ । जब आफ्नो बारेमा निबन्ध विद्यार्थी छनोटका लागि एक स्रोत बन्न जान्छ, निश्चित रूपमा विवाद सिर्जना हुन सक्छ, किनभने निबन्धको मूल्यांकन व्यक्तिपरक हुन्छ ।

प्रख्यात हार्वर्ड कलेजलगायत अमेरिकाका अधिकांश कलेजमा लिबरल आर्टस् शैलीको पढाइ हुन्छ । अझ कति कलेज त लिबरल आर्टस् कलेज नै हुन्छन् । लिबरल आर्टस् कलेज साना कलेज हुन्, जसमा अध्यापक र विद्यार्थीको संख्याको अनुपात ठूलो हुन्छ । त्यो भन्नुको अर्थ प्रतिअध्यापक थोरै विद्यार्थी हुन्छन् । कतिपय कलेजमा स्नातकमाथिको पढाइ नै हुँदैन । स्नातक तहभन्दा माथिल्लो पढाइ भए पनि लिबरल आर्टस् कलेजमा स्नातक तहको पढाइलाई नै बढी जोड दिइन्छ । मैले पढेको स्वार्थमोर कलेज पनि राम्रो विज्ञान विभाग भएको लिबरल आर्टस् कलेज हो । १५ सयजति विद्यार्थी भएको यस कलेजका विद्यार्थीको विद्यालयको तथा एसएटीको नतिजा अमेरिकाको उत्तरपूर्वी सहरमा रहेका आठ प्रतिष्ठित निजी कलेजको समूह आइभी लिगका विद्यार्थीसरहको हुन्छ । 

लिबरल आर्टस् प्राचीन ग्रिसमा सुरु भएको शिक्षा पद्धति हो । सुरुमा खगोल, अंकगणित, ज्यामिति, संगीत, वक्तृत्व, तर्क र व्याकरणलगायत सातवटा विषयको अध्ययन अध्यापन हुन्थ्यो । यी सात विषय पढेपछि कुनै पनि व्यक्तिले विश्वव्यापी शिक्षा हासिल गरेको मानिन्थ्यो ।
 

प्रश्न आउन सक्छ, लिबरल आर्टस् पढाइ भनेको के हो ? लिबरल आर्टस् प्राचीन ग्रिसमा सुरु भएको शिक्षा पद्धति हो । सुरुमा खगोल, अंकगणित, ज्यामिति, संगीत, वक्तृत्व, तर्क र व्याकरणलगायत सातवटा विषयको अध्ययन–अध्यापन हुन्थ्यो । यी सात विषय पढेपछि कुनै पनि व्यक्तिले विश्वव्यापी शिक्षा हासिल गरेको मानिन्थ्यो । लिबरल आर्टस् शिक्षा हासिल गरेपछि सार्वजनिक बहस, जुरी, सेना तथा अदालतमा भाग लिन सहज हुन्थ्यो । आधुनिक युगमा आइपुग्दा पढाइ हुने विषयको संख्यामा निकै वृद्धि भएको छ । मैले पढेकोलगायत थुप्रै कलेजमा हरेक कक्षालाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ । यी तीन वर्गीकरण हुन्– विज्ञान, सामाजिक विज्ञान र मानविकी । लिबरल आर्टस् शिक्षाले आफूले केन्द्रित भएर पढ्ने र भविष्यमा प्रयोग गर्ने विषयबाहेकका अरू विषयमा पनि चाख र ज्ञान राख्न प्रेरित गर्छ । मेरो कलेजमा तीनै वर्गीकरणमा कमसेकम तीन कक्षा लिनुपर्थ्यो । यसरी विभिन्न विषयको अध्ययन गर्दा आलोचनात्मक सोचको विकास हुन्छ भन्ने तर्क छ । यसबाहेक कलेज पास नगर्दै कमसेकम दुइटा भाषा जान्नुपर्छ भन्ने सोच पनि छ । अधिकांश कलेजमा लेखनको आवश्यकता पनि हुन्छ । कमसेकम तीनवटा लेखनका कक्षा लिनुपर्छ, जसमा धेरैभन्दा धेरै निबन्ध लेख्नुपर्छ । 

लिबरल आर्टस् शिक्षणमा हुने अध्ययनलाई बुझाउन मैले लिएका कक्षाको उदाहरण दिन चाहन्छु । मैले विज्ञानको बायोकेमिस्ट्री विषयलाई आफ्नो मुख्य विषय बनाएको थिएँ र कलेजमा लिएका धेरै कक्षाहरू यसै विषयसँग सम्बन्धित थिए । साथसाथै मैले अर्थशास्त्रलाई पनि आफ्नो मुख्य विषय बनाएर त्यस विषयमा थुप्रै कक्षा लिएको थिएँ । मानविकीको आवश्यकता पूरा गर्न मैलै दुइटा कक्षा स्पेनिस भाषाका, एउटा फिल्म र अर्को अभिनय कक्षा पनि लिएको थिएँ । अमेरिकाको तुलनामा नेपालको स्नातक तहको पढाइ निकै भिन्न छ । आफ्नो विषयबाहेकका कक्षाहरू उपलब्ध हुँदैनन् । काठमाडौं विश्वविद्यालयमा बायोटेक्नोलोजी पढ्नेले चारै वर्ष लिने कक्षा बायोटेक्नोलोजीका लागि सहयोगी विषय हुन्छन् । विद्यार्थीले पहिलो वर्ष साधारण विज्ञानका विषय अध्ययन गर्छन् । विज्ञान तथा इन्जिनियरिङका विद्यार्थीले एउटै खालका कक्षा लिन्छन् । उनीहरूले गणित, जीवविज्ञान, रसायनशास्त्र, भौतिकशास्त्र, इन्जिनियरिङ तथा अंग्रेजी विषयको अध्ययन गर्छन् । यसरी अंग्रेजी पनि सिकाउनुले भाषामा पनि जोड दिइएको छ भन्ने देखिन्छ । दोस्रो र तेस्रो वर्षको पढाइ भने विषयकेन्द्रित हुन्छन् । बायोटेक्नोलोजीको स्नातकमा जेनेटिक्स, माइक्रोबायोलोजी, जीवको प्रतिरोधात्मक विज्ञानजस्ता विषयमा पढाइ हुन्छ । चौथो वर्षमा अलि–अलि वैकल्पिक पढाइ हुन्छ । विभिन्न बायोटेक्नोलोजीका विषयबीच छानेर कक्षा लिन सकिन्छ । अन्तिममा एक सेमेस्टर अनुसन्धानको विषय छानेर, अनुसन्धान गरी एक शोध लेख्नुपर्ने हुन्छ । 

मेरो अनुभवमा दुवै प्रकारका शिक्षा प्रणालीको आआफ्नै फाइदा छन् । अमेरिकाजस्तो विकसित, सम्भ्रान्त समाजमा लिबरल आर्टस् पढाइको बढी महत्व हुन सक्छ । रोजगारीका अवसर पनि अनेक हुन्छन् । मैले जस्तो विद्यावारिधि हासिल गरेपछि अध्यापन गर्न सकिन्छ । विश्वविद्यालयमा अनुसन्धान गर्न सकिन्छ । वित्तीय क्षेत्रमा काम गर्न सकिन्छ । चिकित्सा लेखक बन्न सकिन्छ वा विभिन्न क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्न सकिन्छ । यस्ता विभिन्न क्षेत्रमा काम गर्दा एउटा मात्र विषयको नभएर विभिन्न विषयको प्रयोग हुन सक्छ । जस्तै, मैले वित्तीय क्षेत्रमा काम गर्दा विज्ञानबाहेकका अर्थशास्त्र र लेखन विषय निकै उपयोगी साबित भयो । नेपालमा चाहिँ मेरो जस्तो विषयमा विद्यावारिधि हासिल गरेर तुरुन्त जागिर पाउने धेरै अवसर छैनन् । अहिले जस्तै शिक्षण पेसामा लाग्नुप¥यो अथवा मिल्दोजुल्दो विषयमा कम्पनी सुरु गर्नुपर्‍यो । दोस्रो काम त्यति सजिलो छैन, किनकि व्यवसाय सुरु गर्न समय, अर्थतन्त्र र संगतीजस्ता धेरै पक्ष मिलाउनुपर्ने हुन्छ । तसर्थ नेपालमा काम गर्दा नेपालकै पढाइ बढी उपयोगी हुन सक्छ ।

विषयकेन्द्रित पढाइ नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा उपयोगी सिद्ध हुन सक्छ । बर्सेनि सयौँ यही शिक्षा पद्धतिमा हुर्केका नेपाली तथा भारतीय अमेरिका तथा अन्य धनी देशहरूमा गएर विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो योगदान दिइरहेका छन् । विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने हो भने त मलाई लाग्छ, यहाँको विषय केन्द्रित पढाइ अझ उपयोगी हुन्छ । विज्ञानका विभिन्न विषय एक–अर्कासँग गहिरो अन्तरसम्बन्ध राख्छन् । नेपालमा चाहिने धेरैजसो विषयको गहिरो सैद्धान्तिक अध्ययनले विद्यार्थीलाई आफ्नो विषयमा अनुसन्धान गर्न पारंगत बनाउँछ । सायद यसैकारणले पनि नेपालका विज्ञानका स्नातक कार्यक्रम जोडतोडका साथ चलिरहेछन् । यी कार्यक्रम विदेशी अनुसन्धानका लागि सफल भर्तीकेन्द्र भएका छन् ।

नेपाली र अमेरिकी शिक्षा पद्धति दुवैको आआफ्नै फाइदा–बेफाइदा छन् । कुनै पनि प्रणालीको सफलताका पछाडि अध्यापक र विद्यार्थीको ठूलो भूमिका हुन्छ । सक्षम, मिहिनेती र निष्ठावान् शिक्षक तथा जेहेनदार विद्यार्थी कुनै पनि सफल शिक्षा पद्धतिका कसी हुन् । कक्षामा ४० घन्टा पढाउनुपर्ने ठाउँमा पाँच घन्टा पढाउने, व्यक्तिगत रिस साँध्न विद्यार्थीलाई दुःख दिने, मनपरी कापी जाँचेर अंक दिने अध्यापक भएमा जुनसुकै पद्धति असफल हुन्छ । त्यस्तै जान्ने, मिहिनेती शिक्षकलाई पढाउनै नदिने, पढ्दै नपढ्ने विद्यार्थी भएको पद्धति पनि असफल नै रहन्छ । नेपालको सेवा, विज्ञान तथा प्रविधि क्षेत्रहरू क्रमिक रूपमा अघि बढिरहेको अवस्था छ । विदेशमा लिबरल आर्टस् पढेर आएका र यस्तो पद्धतिको महत्व बुझ्नेको संख्या पनि बढ्दो छ । मेरो कलेजमा पढेका अफ्रिकाको घानाका एकजना सफल उद्यमीले आफ्नो देशमा गएर लिबरल आर्टस् कलेज खोले । उनकै अनुशरण गर्दै नेपालमा पनि भविष्यमा कसैले लिबरल आर्टस् कलेज खोल्ने जमर्को नगर्ला भन्न सकिन्न । लिबरल आर्टस् कलेज खोल्न कस्ता–कस्ता समस्या आइपर्लान् त ?

नेपालमा वेला–बखतमा नयाँ कलेज खुलिरहन्छन् । कुनै बायोमेडिकल इन्जिनियरिङमा होलान् त कुनै बायोटेक्नोलोजीमा । यस्ता कलेज खोल्न सजिलो हुन्छ किनभने विषयकेन्द्रित भएकाले अध्यापक थोरै भए पुग्छ । तर, लिबरल आर्टस् कलेज खोल्न गाह्रो हुन्छ किनभने धेरै विषयका अध्यापकलाई एकै ठाउँमा ल्याउनुपर्ने हुन्छ । हाम्रो सानो १५ सयजना विद्यार्थी भएको कलेजमै ५० वटा विषयमा केन्द्रीकृत हुन सकिन्छ । ५० वटा विषयमा सयौँ कक्षा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने हुन्छ । अझ ठूलो कलेज अथवा विश्वविद्यालय बनाउनुपर्‍यो भने त कक्षा, विषय र अध्यापकको संख्या त्यही अनुपातमा बढाउनुपर्ने हुन्छ । समाज परिष्कृत बन्दै गएकाले नेपालमा पनि लिबरल आर्टस् कलेज खोल्ने वेला आएको हुन सक्छ । नेपालको शिक्षा पद्धति पूरै परिवर्तन गरेर अमेरिकी शैलीको लिबरल आर्टस्मा जाऔँ भन्ने मेरो मान्यता होइन । केवल एक–दुईवटा लिबरल आर्टस् कलेज खोलेर यस पद्धतिको नेपालमा परीक्षण गरौँ भन्ने हो । तर, यो सोचेजस्तो सजिलो भने छैन । सरकारी तथा निजी क्षेत्रका पहुँचवाला व्यक्तिलाई चासो जागेमा मात्र नेपालमा लिबरल आर्टस्को अवधारणा साकार हुन सक्छ।

(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्)