मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ११ शुक्रबार
  • Friday, 25 June, 2021
२०७७ भदौ ३० मंगलबार ०८:४८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोर्दी करिडोरमा ट्रान्समिसनलाइन निर्माण प्रभावित

Read Time : > 1 मिनेट
२०७७ भदौ ३० मंगलबार ०८:४८:००

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन राष्ट्रिय विद्युत् प्रसारणलाइन (ट्रान्समिसनलाइन) निर्माणमा ढिलाइ भएकाे छ ।  कोरोनाकाे प्रभाव र सरकारले  पहिले जारी गरेको लकडाउनले निर्माण सामग्री र जनशक्ति नहुँदा निर्माणमा ढिलाइ भएकाे हाे । हाल  ट्रान्समिसनलाइनकाे काम  निरन्तर भइरहेकाे छ । 

दोर्दी गाउँपालिका–६, साबिक ढोडेनीको कीर्तिपुरदेखि बेसीसहर–१ उदीपुरसम्म १० किलोमिटर १३२ केभी ट्रान्समिसनलाइन निर्माणको काम अन्तिम चरणमा पुगे पनि  लकडाउनकाे समयमा आवश्यकताअनुसार निर्माण सामग्री ढुवानी र जनशक्ति अभाव हुँदा काम सम्पन्न गर्न कठिनाइ भएको दोर्दी करिडोर राष्ट्रिय प्रसारणलाइन आयोजना प्रमुख रमेश पौडेलले बताए ।

 उनले भने, ‘ट्रान्समिसनलाइन निर्माणका लागि १८ महिनामा सक्ने गरी  ०७५ फागुनमा सम्झौता भएको थियो । ६० करोड रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन गत आर्थिक वर्षभित्र पूरा गर्ने प्राधिकरणको लक्ष्य रहेको थियो ।’

प्रसारणलाइन निर्माण तथा सबस्टेसनका लागि जग्गा अधिग्रहणको काम सकेर टावर फाउन्डेसन निर्माण सुरु भइसकेको पौडेलले बताए । १० किलोमिटर ट्रान्समिसन लाइनमा ३३ वटा टावरमध्ये अब आठवटा मात्रै टावरको फाउन्डेसन तयार पार्न बाँकी छ ।

 पौडेलका अनुसार आयोजनाको कुल ७० प्रतिशत काम सम्पन्न भएको छ । ट्रान्समिसन लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणाधीन दुई सय मेगावाटका आयोजनाको विद्युत् प्रसारणलाइन २२० केभी मर्स्याङ्दी  करिडोरमा गएर जोडिनेछ । 

दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ख, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । यीमध्ये माथिल्लो दोर्दी ‘ए’ र दोर्दी खोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । गत असारमा सक्ने गरी प्रसारणलाइन निर्माणका लागि मुडभरी एण्ड जोशी कम्पनीले जिम्मा लिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्युत ट्रान्समिसनलाइन समयमै नबन्ने भएपछि दोर्दी करिडोरका निर्माणाधीन आयोजना र लगानीकर्ताहरू चिन्तित भएका छन् । निर्माण सम्पन्न अन्तिम चरणमा  पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माणमा ढिलाइ भएमा आफूहरूलाई समस्या हुने आयोजनाका सञ्चालक रामबहादुर पाण्डेले बताए ।