१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३० मंगलबार ०५:२४:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

चीनतिरको आउजाउ सहज गर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३० मंगलबार ०५:२४:००

पर्यटनमन्त्री योगेश भट्टराईले हालै लुम्बिनी र पोखरामा निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गरे । त्यस अवसरमा दिइएको जानकारीअनुसार दुवै विमानस्थलले कोरोनाको समयमा पनि लगातार काम गरिरहेका छन् । पोखराको झन्डै ६५ प्रतिशत र लुम्बिनीको ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको छ । ती दुवै विमानस्थलमा काम गर्ने उच्चस्तरका प्राविधिकमध्ये धेरैजसो चिनियाँ छन् । मेसिनरी पनि बाहिरबाट आयात गर्नुपर्छ र त्यसको एउटा हिस्सा पनि चीनबाटै आयात गर्नुपर्नेछ । कतिपय कामदारसमेत चीनबाटै आउनुपर्नेछ किनभने दुवै विमानस्थलका ठेकेदार कम्पनी चिनियाँ हुन् । तर, कोरोना महामारीका कारण चीनतिरको आउजाउ सहज नहुँदा उनीहरू नेपाल आउन सकिरहेका छैनन् । 

त्यसले समयमै आयोजना सक्न ठेकेदार कम्पनीलाई मुस्किल परिरहेको छ । उता चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढीमा गएको जनवरीमै आयातका लागि अर्डर गरेर केरुङ आइपुगेको सामानसमेत यता आउन पाएका छैनन् । पहिले हिमपातले रोकिएको नाका पछि कोरोनाका कारण बन्दै भयो । दुई महिनापहिले उक्त नाका खोलिएको भए पनि चिनियाँहरूले नेपाली आयातकर्तालाई प्रवेश दिएका छैनन् । उनीहरूले नै केरुङबाट सिमानाको मितेरी पुलसम्म सामान ल्याइदिने र अनलोड गर्ने, त्यहीँबाट नेपाली पक्षले सामान लोड गरेर ल्याउने गर्दा दिनको ५ देखि १० वटासम्म कन्टेनरबाट सामान आउने गरेको छ । सयौँ कन्टेनर सिमानापारि रोकिँदा त्यहाँ भएका स्याउजस्ता सामान नष्ट हुँदै छन् भने अन्य दैनिक उपभोगका समान आयातकर्ताको पनि रकम डुबिरहेको छ । यता तिनै सामानको अभाव भएर मूल्य बढ्न थालेको छ । 

चीनले पहिले आफ्नो देशको रोग यता नसरोस् भनेर रोक लगायो, अहिले नेपालबाट रोग उता नभित्रियोस् भनेर अवरोध पुर्‍याइरहेको छ । यसले नेपालको व्यापारिक समुदाय, उपभोक्ता र राजस्व संकलनका दृष्टिले राज्यलाई नोक्सान गरिरहेको छ ।
 

चीनले पहिले आफ्नो देशको रोग यता नसरोस् भनेर रोक लगायो । अहिले नेपालबाट रोग उता नभित्रियोस् भनेर अवरोध पु¥याइरहेको छ । यसले नेपालको व्यापारिक समुदाय, उपभोक्ता र राजस्व संकलनका दृष्टिले राज्यलाई नोक्सान गरिरहेको छ । यसरी चीनसँगको आउजाउ असहज हुँदा नेपालले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाको निर्माण कार्य समयमा नसकिने र आयातकर्ताले नोक्सानी व्यहोर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । आयोजनाको काम समयमै सक्नका लागि पनि चीनबाट मेसिनरी सामान र प्राविधिक तथा कामदार आउन तत्काल बाटो खोल्नु जरुरी छ । दसैँ आउँदै छ, नेपालीले सबैभन्दा बढी सामान खरिद गर्ने समय पनि यही हो । यद्यपि यसपालि साधारण मानिसको आयस्तामा बिर्को लागेको र कोरोनाका कारण चहलपहल कम हुने भएकाले पहिलेकोजस्तो उपभोग्य वस्तुको माग नहोला । 

तर, सिमानामा आएर रोकिएका सामानको म्याद गुज्रिने, सड्ने, गल्ने र नष्ट हुने जोखिम पनि आयातकर्ताले नै व्यहोर्नुपर्ने भएकाले जतिसक्यो छिटो ल्याउन सकियो, त्यसले व्यापारी र उपभोक्तालाई राहत दिनेछ । यसका लागि दुई देशका सरकारबीच उच्चस्तरीय संवाद हुनु जरुरी छ । नेपाल सरकारले पनि विदेशीलाई भिसा दिने काम रोकिराखेकाले नेपालतिर आउन तयार भएका चिनियाँसमेत आउन नपाएको निर्माण कम्पनीले बताएका छन् । यस्तो अवस्थामा यो अवरोध तत्काल हटाउन पर्यटन मन्त्रालय, उद्योग तथा वाणिज्य र आपूर्ति मन्त्रालय तथा परराष्ट्र मन्त्रालयबीच समन्वय गरी तत्काल संवाद अघि बढाउनु आवश्यक देखिन्छ । कोरोना रोग सर्न नदिन आवश्यक प्रोटोकल पालना गरेर सामान र आवश्यक मानिसको समेत आउजाउ खोल्न पहल गर ।