१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २९ सोमबार २१:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साउनमा साढे दुई अर्ब वैदेशिक ऋण, प्रतिबद्धता ५४ अर्ब पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २९ सोमबार २१:४०:००

नेपालले चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो महिनामा साढे दुई अर्ब रुपैयाँ वैदेशिक ऋण प्राप्ति गरेको छ । साउनमा सरकारले दुई अर्ब ४८ करोड ६२ लाख रुपैयाँ वैदेशिक ऋण प्राप्ति गरेको हो । त्यस्तै, साउनमा वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेखनीय वृद्धि भई ५४ अर्ब ९४ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये अनुदान सहायता ९४ करोड र ऋण सहायता ५४ अर्ब रहेको छ । वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः १.७ प्रतिशत र ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गत आव ०७६/७७ को साउनमा यस्तो सहायता रकम ९५ करोड थियो । जसमा शतप्रतिशत हिस्सा अनुदानको रहेको थियो । 

चालू आवमा सरकारले ६० अर्ब ५२ करोड अनुदान र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ प्राप्ति गर्ने लक्ष्य लिएको छ । त्यस्तै, आन्तरिक ऋण दुई खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ । 

कुल ऋण पौने १४ खर्ब पुग्यो
नेपालको कुल ऋण पौने १४ खर्ब रुपैयाँ पुुगेको छ । आव ०७७/७८ को साउन महिनासम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड पुगेको हो । यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड र वैदेशिक ऋण ७ खर्ब ५९ अर्ब ३८ करोड रहेको छ । चालू आवको पहिलो महिनामा संघीय सरकारले आन्तरिक ऋणतर्फ ३० करोड ४४ लाखबराबरको ब्याज भुक्तानी गरेको छ । त्यसैगरी, बाह्य ऋणतर्फ साँवा ६० करोड पाँच लाख र ब्याज २८ करोड ८१ लाख गरी कुल एक अर्ब १९ करोड ३० लाख भुक्तानी गरेको छ । 

प्रतिनेपालीको थाप्लोमा ४५ हजार ऋण
तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या तीन करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४५ हजार ६ सय ९५ रुपैयाँ सरकारी ऋण पुगेको छ । तर, यस्तो ऋण जनता आफैँले भने तिर्नुपर्दैन । सरकारले हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको साँवा–ब्याज भुक्तानी गर्ने गर्छ । सरकारले गत आवमा साढे ८३ अर्ब रुपैयाँबराबरको ऋण र ऋणको ब्याज भुक्तानी गरेको छ ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार कुल ३३ अर्ब ९७ करोड ७० लाख आन्तरिक ऋण फिर्ता भुक्तानी गरेको छ । त्यस्तै, आन्तरिक ऋणको ब्याज २० अर्ब ८२ करोड २५ लाख भुक्तानी गरेको छ । वैदेशिक ऋण फिर्तातर्फ भने २३ अर्ब ५६ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक ऋणको ब्याज भने पाँच अर्ब २३ करोड ७७ लाख भुक्तानी गरेको कार्यालयले जनाएको छ ।