मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २९ सोमबार २१:३०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

समस्या समाधान गर्न नेप्सेले माग्यो बिहीबारसम्मको समय

जलविद्युत्मा आकर्षित लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २९ सोमबार २१:३०:००

केही दिनदेखि नेप्सेको कारोबार प्रणालीमा देखिएको समस्या समाधानका लागि बिहीबारसम्म लाग्ने नेप्सेले सोमबार दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा जानकारी गराएको छ । हार्डवेयर थपेर क्षमता वृद्धि गरेमा समस्या समाधान हुने भन्दै यसतर्फ लागेको जानकारी नेप्सेले गराएको हो ।

नेप्सेको प्रणालीमा समस्या आउँदा गत बिहीबारको मात्रै तीन हजारभन्दा बढी कारोबार रद्द गर्नुपर्ने भएको छ । आइतबारको रद्द गर्नुपर्ने कारोबारको विवरण भने अहिले यकिन नभएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए । ‘अघिल्लोपटक समस्या आउँदा १ हजार तीन सयवटा कारोबार रद्द गर्न करिब डेढ दिन लागेको थियो,’ न्यौपानेले भने, ‘रद्द गर्ने काम म्यानुअली हुने भएकाले हरेक कारोबारका लागि तीनदेखि चार मिनेट लाग्छ, त्यसैले तीन हजारवटा कारोबार रद्द गर्न केही दिन पक्कै लाग्नेछ ।’

जलविद्युतमा आकर्षित लगानीकर्ता 
बजारमा रहेका लघुवित्त, बिमा कम्पनीहरूको मूल्यमा उच्च वृद्धि भएपछि लगानीकर्ता जलविद्युतकाे कारोबारतर्फ लागेका छन् । लगानी विविधिकरण अभाव, यी कम्पनी अंकित मूल्यभन्दा कम र त्यहीआसपास रहेका कारण कम जोखिम मानिएको छ । अरुण भ्याली, युनियन, रिडी, आँखुखोला, सिनर्जी, चिलिमे, वरुण, दिव्यश्वरी जलविद्युत् कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । अन्य कतिपय जलविद्युत् कम्पनीहरूको समेत मूल्य २ देखि ८ प्रतिशतसम्म बढेको छ । यो समूहगत परिसूचकमा १ प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ । 

आइतबारदेखि बैंकिङ समूहको परिसूचकमा समेत वृद्धि भएको छ । गत साताको अन्तिम दिन उल्टो ह्यामर बनाएर बजार केही दिन बढ्न सक्ने संकेत दिएको यो समूहले अझै पनि गत साताकै उच्च बिन्दु एक हजार दुई सय ५८ लाई पार गर्न सकेको छैन । यद्यपि, सोमबार बैंकिङ समूहले सेतो मैनबत्ती आकृति बनाएको छ । यसले बजार बढ्न सक्ने देखाएको छ । यो समूहको कारोबार रकममा भइरहेको वृद्धिले पनि लगानीकर्ताको आकर्षण बढेको संकेत गर्छ । आइतबार बैंकिङ समूहमा ५९ करोड रुपैयाँ लगानी गरेका लगानीकर्ताले सोमबार यो क्षेत्रका कम्पनीमा ७८ करोड रुपैयाँको कारोबार भएको छ । 

कारोबारमा आएकामध्ये सात समूहको परिसूचक घटे पनि नेप्सेमा झिनो सुधार देखियो । नेप्से ३ दशमलव २६ अंकले बढेर एक हजार पाँच सय ४० बिन्दुमा आइपुगेको छ । बजारमा एक सय ९० कम्पनीको सेयर किनबेच भएर तीन अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको एक लाख ५८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।