Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २९ सोमबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोटेश्वर–जडीबुटी सडकखण्डमा जाम घटाउन चार लेन थपिँदै

‘फ्लाईओभर’ र ‘अन्डरपास’ निर्माण चर्चा मात्रै

Read Time : > 4 मिनेट
२०७७ भदौ २९ सोमबार १८:००:००

कोटेश्वर–जडीबुटी सडकखण्डमा जाम घटाउन चारबाट आठ लेन निर्माणको काम सुरु भएको छ । सडक विभागले पाँच सय मिटर सडकमा थप चार लेन विस्तारका लागि ट्र्याक खोलिसकेको छ । जाम घटाउन वैकल्पिक संरचना बनाउने योजना लामो समयसम्म अलमलमा परेपछि तत्कालका लागि जाम कम गर्न विभागले सडक विस्तार सुरु गरेको हो ।सडकको दायाँबायाँ दुवैतर्फ थप विस्तार गरी तत्काललाई सडकमा सवारी चाप कम गर्न चार लेन विस्तारका लागि ट्र्याक खोलिसकेको सडक डिभिजन कार्यालय काठमाडौंकी इन्जिनियर सजना अधिकारीले बताइन् । 

सडक विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब साढे सात रोपनी जग्गा निःशुल्क अधिग्रहण गरी कोटेश्वर–जडीबुटीतर्फ एक लेन र जडीबुटी–कोटेश्वरतर्फ तीन लेन विस्तार गर्न ट्रयाक खोलेको हो । कालोपत्रेका लागि सडक डिभिजनले करिब १२ करोड रुपैयाँको लागत अनुमानसहित इस्टिमेट तयार गरेको छ । टेन्डर गर्ने तयारी भइरहेको जनाएको छ । ‘जडीबुटी–कोटेश्वर खण्डमा महानगरको सार्वजनिक शौचालयका कारण केही काम बाँकी छ, ट्र्याक ओपन गर्ने काम लगभग सकिएको छ, अब टेन्डर प्रक्रिया पूरा गरी यही आर्थिक वर्षभित्र सो खण्डमा थप चार लेन सडक तयार हुन्छ,’ इन्जिनियर अधिकारीले भनिन् । राजधानी प्रवेश गर्ने पूर्वी नाका भएकाले पनि २४सै घन्टा तीन जिल्लाको सवारी चाप हुन्छ । सवारी चाप भएकाले सो क्षेत्रमा काठमाडौंकै सबैभन्दा धेरै सवारी जाम हुने गरेको छ । 

सडक डिभिजन काठमाडौंका प्रमुख इन्जिनियर कुवेर नेपालीले चार लेन थपिएपछि ३० प्रतिशत जाम कम हुने बताए । इन्जिनियर नेपालीले भने, ‘लेन थपेर यहाँ जामको पूर्ण समाधान हुँदैन, तर यो खण्ड आठ लेनको बनेपछि काठमाडौंबाट भक्तपुर जाने र भक्तपुरबाट ललितपुर जाने गाडीहरू यहाँ नरोकिई जान सक्छन् ।’ सडकछेउको केही निजी जग्गासमेत अधिग्रहण गरी मनोहरा करिडोरसम्म सडकलाई जोडेपछि कोटेश्वरको जाम थप खुकुलो हुने उनले बताए । 

‘फ्लाईओभर’ र ‘अन्डरपास’ निर्माण चर्चामै सीमित
सरकारले काठमाडौंका व्यस्त सडकमा जाम घटाउन ‘फ्लाईओभर’ र अन्डरपास निर्माणको चर्चा वर्षौँदेखि चले पनि अहिलेसम्म ठोस काम सुरु भएको छैन । सडक र सवारीको अनुपात नमिल्दा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन बर्सेनि कठिन बन्दै गएको छ । तर, दीर्घकालीन समाधानका लागि सरकारले बनाएका योजना भने अघि बढेका छैनन् ।

सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेटमा सवारी चाप भएका चौबाटोहरूमा फ्लाईओभर निर्माणको पूर्वतयारी गर्ने उल्लेख गरेको थियो । त्यसयता सरकारले बर्र्सेेनि जाम घटाउन विभिन्न वैकल्पिक योजनाहरू अघि सार्दै आएका छन् । तर, कलंकीमा अन्डरपास निर्माण भएकोबाहेक जाम घटाउन सरकारले अन्य ठाउँहरूमा ‘फ्लाईओभर’ वा अन्डरपास निर्माण गर्ने योजनाको डिपिआरसमेत तयार भएको छैन ।

फ्लाईओभर वा अन्डरपास निर्माण गर्ने सम्भाव्यता अध्ययन भइसकेका योजनाको प्रतिवेदनसमेत मन्त्रिपरिषद्मा अड्किएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा पनि तिनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी ‘फ्लाईओभर’ वा ‘सुरुङमार्ग’ निर्माणको काम प्रारम्भ गर्ने भन्दै बजेट विनियोजन गरेको छ । तर, सबैभन्दा धेरै जाम हुनमध्येको कोटेश्वर–जडीबुटी सडकखण्डमा फ्लाईओभर वा अन्डरपास के निर्माण गर्ने भन्ने टुंगो लागेको छैन । 

जापानी सहयोग नियोग (जाइका)ले अध्ययन थाले पनि कोरोना महामारीका कारण प्राविधिकहरू स्वदेश फर्किएपछि काम प्रभावित भएको छ । सडक विभागका विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘अहिले के बनाउने भन्ने टुंगो लागेको छैन, यो सम्भाव्यता अध्ययन मात्रै हो, अध्ययन प्रतिवेदनको निष्कर्षपछि मात्रै के बनाउने भन्ने टुंगो लाग्छ ।’ उनका अनुसार अहिले नेपाली प्राविधिकहरूले फिल्डको सर्भे गरेर तथ्यांक पठाउने र जापानी प्राविधिकहरूले विश्लेषण गर्ने काम भइरहेको छ । कोटेश्वर क्षेत्रमा जाम घटाउनका लागि वैकल्पिक संरचना बन्ने अझै टुंगो लागेको छैन । 

अन्य स्थानमा पनि अलमल
सरकारले चालू आर्थिक वर्षकै बजेटमा नयाँ बानेश्वरमा अन्डरपास र चक्रपथ सडकको कोटेश्वर–कलंकी खण्डमा तीनवटा ‘फ्लाईओभर’ निर्माण गर्न बजेट विनियोजन गरेको छ । तर, सरकारले पूर्वसम्भाव्यता र बजेटको सुनिश्चितता नै नगरी लोकप्रियताका लागि ठूला आयोजनाको घोषणा मात्रै गर्नाले झन् अलमल छ । ‘फ्लाईओभर’ र अन्डरपास निर्माणमा ठूलो बजेट खर्च हुने भएकाले सरकारले जाइकाबाट सहयोगको अपेक्षा गरेको थियो । तर, पूर्वतयारी नै नगरी घोषणा मात्रै गर्दा यस्ता योजना कागजी सपना मात्रै बन्ने गरेका छन्,’ सडक विभागकै एक अधिकारीले भने । 

चक्रपथ सडकका व्यस्त चोकहरू र कोटेश्वरमा समेत ‘फ्लाईओभर’ निर्माणका लागि जाइका र अन्य परामर्शदातामार्फत सर्भे तथा डिजाइनको काम प्रक्रियामा रहेको सडक विभागले जनाएको छ । सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने, ‘बल्लतल्ल कलंकीमा अन्डरपास बनेको छ । अब कोटेश्वरमा बनाउनैपर्ने अवस्था छ । तर, स्वदेशी स्रोतबाट निर्माण गर्न ठूलो बजेट चाहिन्छ, प्रक्रिया पनि लामो छ, अहिल्यै यस्तै बन्ने भन्ने केही टुंगो छैन ।’ 

सरकारले कोटेश्वर र माइतीघरसँगै चाबहिल, कालिमाटी, बानेश्वर, महाराजगन्जलगायत ठाउँमा ‘फ्लाईओभर’ निर्माण गर्ने प्रस्ताव गरेको थियो । बंगलादेशी कम्पनीसँगको सहकार्यमा सडक विभागले फ्लाईओभर निर्माणका लागि अध्ययन थाले पनि विवाद भएपछि रोकिएको थियो । काठमाडौं उपत्यकामा अहिले सामान्य अवस्थामा हरेक तीनदेखि पाँच किलोमिटर यात्रा गर्दा कम्तीमा पाँच मिनेटसम्म जाम हुन्छ । सडक फराकिलो नहुने, तर सवारी संख्या धेरै भएका कारण बिहान र साँझ कार्यालय समयमा लामो जाम हुने गरेको छ । 

जाइकाले छाडेपछि त्रिपुरेश्वर–माइतीघर खण्डमा अन्योल
सरकारले यसअघि त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डको ट्राफिक व्यवस्थापन सहज बनाउन त्रिपुरेश्वरबाट माइतीघरसम्म सीधा ‘फ्लाईओभर’ निर्माण गर्ने योजना अघि सारेको थियो । तर, ‘फ्लाईओभर’ निर्माणका लागि अध्ययन गरेर प्रतिवेदनसमेत दिइसकेको जापान सहयोग नियोग (जाइका)ले छाडेपछि सो योजना अलपत्र बनेको छ । 

जाइकाले चार लेनको एक किलोमिटर लामो ‘फ्लाईओभर’ निर्माण गर्न सकिने निष्कर्ष निकाल्दै सुझाबसहितको प्रतिवेदन दिएको थियो । सो ‘फ्लाईओभर’ निर्माणपछि त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । तर, सो क्षेत्रमा ‘फ्लाईओभर’ निर्माण गर्दा नेपाली सेनाको जंगी अड्डा र त्रिभुवन विश्वविद्यालयको समेत केही जग्गा अधिग्रहण गर्नुपर्ने भएपछि योजना अघि नबढेको सडक विभागको विकास सहायता महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । ‘त्रिविको जग्गा अधिग्रहण हुन सक्ने थियो, तर सेनाले सुरक्षा संवेदनशीलता देखाउँदै जग्गा दिन अस्वीकार गरेपछि जाइकाले योजनाबाटै हात झिक्यो,’ उनले भने । सरकारले चालू आर्थिक वर्षको बजेटमा त्रिपुरेश्वर–माइतीघर खण्डमा पनि सवारी आवागमन सहज बनाउन विकल्प पहिचान गर्ने भनेको छ । 

ललितपुरका पाँच स्थानमा ‘फ्लाईओभर’ निर्माणका लागि अध्ययन
ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरका पाँच स्थानमा ‘फ्लाईओभर’ निर्माण गर्ने तयारी छ । ललितपुर महानगरपालिकाले पुल्चोक–कुपण्डोल क्षेत्र, ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो र एकान्तकुना चोकहरूमा फ्लाईओभर निर्माण गर्ने योजना अघि सारेको हो । चक्रपथ सडकको ग्वार्को, सातदोबाटो र चापागाउँ दोबाटोमा फ्लाईओभर निर्माणका लागि सडक विभागले पनि अध्ययनको काम गरिरहेको छ । 

ललितपुर महानगरले भने आर्थिक वर्ष ०७४/७५ देखि नै फ्लाईओभर निर्माणका लागि अध्ययन सुरु गरेको थियो । ग्रिडइन्डिको मटेरियल टेस्ट जेभीले दुई वर्षसम्म लगाएर गरेको अध्ययनले पाँच स्थानमा फ्लाईओभर निर्माण गर्न सकिने र त्यो ट्राफिक व्यवस्थापनका लागि राम्रो हुने निष्कर्ष निकालेको हो । आफ्नो घोषणापत्रमै ‘फ्लाईओभर’को योजना लिएर आएका मेयर चिरिबाबु महर्जन अब फ्लाईओभर निर्माणको योजनालाई गौरवको आयोजनाका रूपमा अगाडि बढाउने बताउँछन् । तर, ती आयोजना निर्माणका लागि बजेटको सुनिश्चितता भने भइसकेको छैन । महानगरले फ्लाईओभर सञ्चालनका लागि मापदण्डसमेत बनाइसकेको छ । 

महानगरको पहलमा भएको अध्ययनमा परामर्शदाता कम्पनीले चक्रपथ सडकअन्तर्गत ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो र एकान्तकुनामा दोबाटोसहितको फ्लाईओभर निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । चापागाउँ दोबाटो र सातदोबाटोमा भने फ्लाईओभर र अन्डरपाससमेत निर्माण गर्न सकिनेछ । यस्तै, पुल्चोकदेखि थापाथलीको बागमती पुलसम्म पनि फ्लाईओभर निर्माण गरेर ट्राफिक व्यवस्थापन सहज हुने निष्कर्ष छ । रातो मत्स्येन्द्रनाथको रथ बुङमतीबाट एकान्तकुना हुँदै ल्याउनुपर्ने भएकाले त्यहाँ ‘लुप फ्लाईओभर’ निर्माण गर्न उपयुक्त हुने सुझाब छ । महानगरले फ्लाईओभरको योजनाबारे सडक विभाग र संघीय सरकारसँग परामर्श लिएर काम अघि बढाउने मेयर महर्जनले बताए । 

फ्लाईओभर निर्माणले ट्राफिक व्यवस्थापनमा सहजतासँगै सडक दुर्घटनासमेत कम गर्न सहयोग पुग्ने सहरी योजनाविद् ईश्वर जोशी बताउँछन् । ‘जनताले अप्रत्यक्ष रूपमा महसुस गर्ने सहजता पनि धेरै छन्, समयको बचतदेखि सवारीसाधनको मर्मतसम्भारसम्मलाई यसले फाइदा पुग्नेछ,’ उनी भन्छन् । उनले लगानी र सम्भाव्यता अध्ययनपछि मात्रै डिपिआर बनाउन सुझाब दिएको बताए ।