Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २९ सोमबार १२:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लकडाउनमा विपन्नको पीडा : आमा क्षयरोगी, छोरा कुपोषणको सिकार, घरमा खाने अन्न छैन

Read Time : > 1 मिनेट
२०७७ भदौ २९ सोमबार १२:५३:००

कल्याणपुर नगरपालिका– १२ बेल्हा मुसहरीकी २२ वर्षीया सबिता सदा क्षयरोगले थलिएर आफैँ राम्ररी खडा हुन सक्दिनन् । उनलाई नुहाउन, कपाल कोरिदिन, सफासुग्घर गर्न र खाना खुवाउनसमेत अर्कै व्यक्तिको सहारा चाहिन्छ । यी सबै काममा उनलाई आमाबुबाले सघाउँदै आएका छन् । 

पौष्टिक आहार कमीले कमजाेर भएकी सबितामा क्षयरोग थपिएको छ । २० दिनदेखि क्षयरोगविरुद्धको औषधि खाँदै आएकी छिन् । उनमा क्षयरोग देखिएपछि जिल्ला अस्पताल सिराहाले निःशुल्क औषधि दिएको छ । तर, पौष्टिक आहारविनाको यो औषधिले मात्रै उनका क्षयरोग ठीक हुने विश्वास छैन । यद्यपि, चिकित्सकले भनेबमोजिम उनले आषधि खाँदै आएको बताइन्र । पेटभरि खानसमेत नपाउने सबितालाई पौष्टिक आहार पाउनु भनेको असम्भवजस्तै हो । उनले भनिन्, ‘बोल्ने आँट पनि छैन ।’

उनको ६ वर्षअघि सिराहाको लहान नगरपालिका– १७ तरेगना गोविन्दपुरका इनर सदासँग विवाह भएको थियो । उनीहरूका चार वर्षीया छोरी किरण र दुई वर्षीय छोरा प्रशान्त साथैमा छन् ।

उनका श्रीमान् इनर सदा मिथिला क्षेत्रमा चर्चित लोकनाचमा ‘नटुवा’को रोल (भूमिका) निर्वाह गरी परिवारको जीवनयापन चलाउने गर्थे । तर, कोरोना महामारीबीच लकडाउन, निषेधाज्ञा भएसँगै इनरको राेजगार गुम्यो । मेला, उत्सव नभएपछि बेरोजगार भएका इनरले केही सयम खेती–मजदुरी गरी परिवारको भोक टार्ने कोसिस गरे । तर, लामो लकडाउन र तीनपटकसम्मको निषेधाज्ञाले रोजगारविहीन बनेका छन् ।

सबिताको दुई वर्षीय छोरा प्रशान्त पनि कुपोषणको सिकार बनेका छन् । उनका अनुसार छोरालाई दूध र पौष्टिक आहार दिन नसकेकाले कुपोषणबाट ग्रस्त भएका हुन् । 

ऐलानी जग्गामा बस्दै आएका सबिता सदाका बाबुआमालाई छोरीमा क्षयरोग र नाति कुपोषणबाट ग्रस्त भएपछि झन् समस्या थपिएको छ । पौष्टिक खानाकाे अभावमा दुईवर्षे बालकको हात, खुट्टा, अनुहार पूरै सुकेका छन् । सबिताकी आमा सुमित्रा भन्छिन्, ‘गरिबलाई हेर्ने कोही छैनन् । बिरामी छोरी राम्ररी हिँड्न सक्दिनन् । नातिलाई अर्को समस्या आइपरेको छ ।’

सुमित्रासहित बेल्हा मुसहरबस्तीमा रहेका ७० परिवार लकडाउन र निषेधाज्ञा थपिँदै गर्दा उनीहरूमा पीडाको मिटर बढ्दै गएको छ । पौष्टिक आहार खानुपर्ने बिरामी र बालबालिकाले पेटभर खानसमेत पाएका छैनन् । तर, कतैबाट सहयोग नपाएको उनीहरूको दुखेसो छ ।

चिकित्सक भन्छन्– पौष्टिक आहार नै उपचार 
सिराहा अस्पतालका डा. सुभाष मण्डलले लामो समयदेखि पौष्टिक आहार नपुगेर आमामा क्षयरोग र बालकमा सुकेनास लागेको बताए । उनले भने, ‘बच्चालाई पौष्टिक आहारको उपलब्धता हुनेगरी उपचार गर्नुपर्छ ।’

विपन्न गरिब परिवारलाई खाना नपुग्ने वेला पौष्टिक आहारको जोहो गर्नु अर्को समस्या भएको अधिकारकर्मी जितेश कर्णले बताए । राज्यले कोरोना रोक्न लकडाउन समाधान देखे पनि यस्ता बालबालिकाप्रति कुनै ध्यान नदिएको कर्णको भनाइ छ ।