मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २९ सोमबार १२:१६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बनेन नयाँ पुल, भएको काठेपुल भाँचियो, दुनै आउने सवारी आवतजावत बन्द

Read Time : > 1 मिनेट
२०७७ भदौ २९ सोमबार १२:१६:००

डोल्पाको ठुलीभेरी नगरपालिका– ८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ ।

सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्यसामग्रीहरू बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर पुल भाँचिएको हो ।

ट्रयाक्टर बीचपुलमा पुगेलगत्तै काठको पुल भाँचिएपछि बीचमै  फसेको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए ।
भएको काठेपुल भाँचिएपछि सवारीसाधन आवतजावत ठप्प भएको छ ।

पुल भाँचिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी, सर्वसाधारणलाई पनि १३ किलाेमिटर सडकमा दुईवटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।

तीन करोडको पुल खोइ ?
तत्कालीन जिल्ला विकास समितिको तीन करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने ०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण सुरु गरिएको थियो ।

०७३ सालमा टेन्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निर्माण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका थिए । 

पुल निर्माणको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि हिमबहादुर बुढाले आफूहरूले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताए ।

निर्माण व्यवसायी हिमबहादुर बुढाले पेस्कीस्वरूप लगेको रकमले स्थानीय ढुंगा, गिटी, बालुवा संकलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डा खन्ने काममा ठिक्क भएको बताए ।

तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दाबी छ ।

पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने समयवधि ०७४ चैतमा सकिसक्नुपर्ने भए तापनि तीनपटकसम्म म्याद थप गर्दासमेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

जोखिम मोलेर सवारी यात्रा
समयमै पुलको निर्माण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधन जोखिम मोलेर काठकोे पुलमार्फत ओहाेरदोहाेर गरिरहेका छन् ।

काठको पुलबाटै गाडीहरू वारपार गर्दा कुन दिन ठूलो मानवीय दुर्घटना हुन्छ चिन्ताको विषय भएको जिपचालक सुशील कठायतले बताए ।

दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहज रूपमा यातायात सञ्चालन गर्ने वातावरण मिलाउन उनले माग गरे ।

अघिपछिभन्दा बर्खायाममा खोला बढेको वेला वारपार गर्न एकदमै जोखिम हुने उनको भनाइ छ ।