१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ भदौ २९ सोमबार ०७:२१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिन्धुपाल्चोकमा तीन महिनामा तीन ठूला पहिरो : ६७ को मृत्यु ४२ बेपत्ता

आइतबार बिहान गएको पहिरोले ११ घर बगाउँदा ११ को मृत्यु, २० बेपत्ता

Read Time : > 3 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ भदौ २९ सोमबार ०७:२१:००

भूकम्पको पाँच वर्षपछि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्बाट धनजनको ठूलो क्षति भएको छ । भूकम्पले थिलथिलो भएको जमिन यस वर्षको अधिक वर्षाले गलाएर बाढी र पहिरोमा परिणत गरेपछि तीन महिनामा तीन ठूलो विपत्ति व्यहोर्नुपरेको छ । आइतबार बिहान आएको पहिरोसँगै यो वर्षात्मा बाढी र पहिरोबाट ६७ जनाले ज्यान गुमाएका छन् भने ४२ जना बेपत्ता भएका छन् । 

अघिल्ला विपत्तिझैँ आइतबार बिहान ३ः१५ बजे पनि भूकम्पले थिलथिलो भएको जमिनै पहिरोमा परिणत भएको छ । बाह्रबिसे नगरपालिका– ७ मा गएको भीषण पहिरोले भिरखर्क, नागपुजे र भिरथाप्लो गाउँलाई बगरमा परिणत गरेको छ । देउराली भिरबाट खसेको ठूलो–सानो पाँचवटा पहिरोले भिरखर्क, नागपुजे र भिरथाप्लो गाउँका दुई सय २२ घरपरिवारको उठीबास लागेको छ । पहिरोले ११ घर बगेका छन् । तीनै गाउँका झन्डै एक हजारजना बस्छन् । 

पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६० वर्षीय धनलाल नेवार, ६० वर्षीया हिरामाया नेवार, ९८ वर्षीया ल्याक्सी शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, पाँच वर्षीया सरस्वती विक र २५ वर्षीय करणबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । 

त्यस्तै, पहिरोमा परेर २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा कुमार विक, सोनिया विक, रूपा विक, सिंहबहादुर प्रधान, रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रिता श्रेष्ठ, डानियल श्रेष्ठ, नादन श्रेष्ठ, अमृत श्रेष्ठ, मनीषा श्रेष्ठ, रविना श्रेष्ठ, रियासु शिवमली, लक्ष्मी श्रेष्ठ, पदमकुमारी श्रेष्ठ, चिनीमाया श्रेष्ठ, नाम नखुलेको दुई वर्षका बालक, लालबहादुर श्रेष्ठ र बुद्धमाया श्रेष्ठ रहेका छन् । उनीहरूको खोजी भइरहेको डिएसपी सापकोटाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसँगै स्थानीय बासिन्दा पनि खोजी तथा उद्धारमा खटिएका छन् । 

देउराली भिरमुनिको गाउँ भिरखर्क चिराचिरा परेको र दिनदिनै भासिँदै गएकाले नागपुजेको मूलबस्तीका स्थानीय पनि गाउँ छोड्ने तयारीमा छन् । ‘आज राति जसोतसो टेन्ट हालेर नागपुजेको मूलगाउँमा बस्छौँ । भोलिदेखि सुरक्षित ठाउँ खोज्ने मनस्थितिमा छौँ,’ स्थानीय शिक्षक बजिरसिंह भण्डारीले भने । उनका अनुसार नागपुजे फाँटमा रहेको खेतको फाँट पुर्दा पाँच सय मुरी धान फल्ने बाली नष्ट भएको छ । 

पहिरोस्थल पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागपुजे र भिरखर्कका स्थानीयलाई सुरक्षित स्थानमा राख्न ९० वटा टेन्ट, दुई सय त्रिपाल र आवश्यक भाँडाकुँडा पुर्याएको बताए । वर्षा निरन्तर भइरहेकाले जिल्लावासीलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको उनले उनको भनाइ छ । उद्धार र राहतलाई प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई परिचालन गरिएको छ ।

तीन महिनामा पहिरोका शृंखला
बर्खाको तीन महिना असार, साउन र भदौमा घटेको तीन ठूला बाढीपहिरोको दुर्घटनाले ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । २४ असार राति १२ बजे याल्मो खोलामा आएको पहिरोमिश्रित बाढीले बाह्रबिसे नगरपालिका– ५ जम्बु बजार बगायो । घटनामा दुईको मृत्यु भयो । अझै १७ जना बेपत्ता छन् । बाढीपहिरोले २८ घर बगायो । २८ घरका एक सय २० विस्थापित छन् । 

त्यही राति बाढीले बाह्रबिसेको खाग्दल बजार बगायो । २० घर बगाउँदा ८० जना विस्थापित भएका छन् । उता भोटेकोसी गाउँपालिका–५ मार्मिङमा बुल्कोटे खोलाले चार स्थानीयलाई बगायो । सातापछि एकको शव भेटियो । तीनजना अझै बेपत्ता छन् । जम्बुका पाँच र मार्मिङका चार घाइते उपचारपछि घर फर्केका छन् ।  ३२ असार राति भोटेकोसीको दुगुना खोलामा आएको बाढीले २४ घर बगायो । १ साउनमा भोटेकोसी– ४ फुल्पिङमा पहिरो जाँदा एकै घरका पाँचको मृत्यु भयो । भोटेकोसीको लार्चा र अन्य ठाउँ गरी बाढीपहिरोबाट हालसम्म एक सय २० घर विस्थापित भएका छन् । 

१९ साउन बिहान मेलम्ची नगरपालिका– ११ मा कभर्डहल निर्माणमा संलग्न नौ मजदुरको पहिरोमा पुरिएर मृत्यु भयो । मृतकमध्ये दुई भारतीय नागरिक हुन् । त्यही दिन पाँचपोखरी थाङपाल– २ बरुवामा पहिरोले घर पुर्दा एकै परिवारका दुईको मृत्यु भयो । 

३० साउनमा जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो गयो । पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भयो । दुई अझै हराइरहेका छन् । पहिरोले २९ घर पुर्यो । एक सय ७२ घर रहेको लिदीका झन्डै सात सय बासिन्दा ज्यान जोगाउन गाउँ नै छोडेर जुगल गाउँपालिका–१ को बाँसखर्कमा बसिरहेका छन् । 

त्यसको एक महिना नबित्दा २८ भदौ बिहान बाह्रबिसे नगरपालिका–७ मा भीषण पहिरो गयो । भिरखर्क, नागपुजे र भिरथाप्लो गाउँलाई पुरेको छ । देउराली भिरबाट आएको ठूला–साना पाँच पहिरोले भिरखर्क, नागपुजे र भिरथाप्लो गाउँका दुई सय २२ घरपरिवारको उठीबास लागेको छ । 

सीमा क्षेत्रका सबै बस्तीमा रुवाबासी
बाह्रबिसे बजारबाट खासा जोड्ने लिपिङसम्म २६ किलोमिटर कोदारी सडक बर्खे भेलले बगरमा परिणत गरेको छ । भोटेकोसी नदीको तीरैतीर रहेको कोदारी सडक मात्रै होइन, तटीय क्षेत्रका सबै बस्तीमा पहिरोले उठीबास लगाएको छ । पहिरोले सीमा क्षेत्रका बासिन्दाको रुवाबासी चलेको छ । 

बाह्रबिसे र भोटेकोसीमा रहेका सबै बस्ती पहिरोको मारमा परेका छन् । जम्बु, सखुवा, बसेरी, घुम्थाङ, नयाँपुल, चाकुदेखि तातोपानीसम्म तटीय क्षेत्रका बासिन्दामा भागदौड चलेको छ । भूकम्पले थिलथिलो पारेको जमिन जेठदेखि नै परेको अविरल वर्षाले गलाएर छियाछिया पारेको छ । भोटेकोसी र बाह्रबिसेका भोटेकोसी नदी किनारआसपास रहेका कम्तीमा पाँच सय घर कुनै पनि वेला पहिरोको लपेटामा पर्ने देखिएको छ । 

भूकम्पले चिराचिरा पारेको जमिनमा ठाउँठाउँबाट भेल पसेकाले ठूला पहिरो जान थालेको हो । वर्षा अझै जारी रहे अन्य ठाउँमा पनि पहिरो जाने खतरा छ । तर, उनीहरूलाई सुरक्षित स्थानमा सार्न भने सरकारले ध्यान दिएको छैन ।

पहिरोपीडित बजिरसिंह भण्डारी भन्छन्– राति ठूलो आवाज आयो र गाउँ नै हल्लियो
भदौको सबै दिनरात भारी वर्षा भएकाले डराएका थियौँ । रातभर पानी पर्ने, चट्याङ हान्ने गरेकाले चिन्ता पसेको थियो । शनिबार पनि राति ११ बजेसम्म निद्रा लागेको थिएन । चारैतिर पहिरो र चट्याङको आवाज आइरहेको थियो । भोटेकोसी नदीको एकोहोरो आवाजले भारी वर्षालाई सुन्न दिन्नथ्यो ।

राति २ बजेतिर ठूलो आवाजमा चट्याङ पर्यो । त्यसको आवाजले हामी घरका सबै ब्युँझियौँ । एकैछिनमा अर्को ठूलो आवाज आयो, गाउँ नै थर्किने गरी । गाउँ हल्लियो । भूकम्प पो आयो कि भनेर घरको कुनामा एउटै डल्लो बनेर बस्यौँ । तर, त्यतिवेला देउराली भिरबाट बज्रेको पाँचवटा पहिरोले भिरखर्कको २० घर पुरेछ । त्यसपछि सबै पहिरो एकैठाउँमा जम्मा भएछ ।

नागपुजेमाथि रहेको ठूलो खेतको फाँट पहिरो बनेर खसेछ । राति ३ बजेतिर पहिरो छलेर अँध्यारोमा भाग्दै आएका छिमेकीले रुँदै बताएपछि हामी पनि एकछिन बेहोसजस्तै भयौँ । तर, उठेर सुरक्षित ठाउँतर्फ गइयो । गाउँ अहिले बगर बनेको छ । चारैतिर पहिरोले घेरेको छ ।