मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २९ सोमबार ०६:४०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भेरी अस्पतालमा प्लाज्माथेरापी विधिबाट सफल उपचार

Read Time : > 1 मिनेट
२०७७ भदौ २९ सोमबार ०६:४०:००

उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सल्यानको शारदा नगरपालिका–६ का प्रवीण केसीलाई १२ भदौमा नेपालगन्जस्थित भेरी अस्पताल भर्ना गरियो । कोरोनाको लक्षण देखिएपछि जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आयो । निमोनिया भई स्वास्थ्य अवस्था झन्–झन् बिग्रँदै  गएपछि उनलाई भेरी अस्पतालको कोरोना विशेष कक्षको आइसियूमा राखेर अक्सिजन दिइयो । तैपनि उनको स्वास्थ्य अवस्था सुध्रिएन । 

स्वास्थ्य स्थिति खस्किँदै गएपछि भर्ना भएको तीन दिनपछि प्लाज्मा थेरापीबाट उपचार सुुरु गरियो । प्लाज्मा थेरापी दिइएपछि २९ वर्षीय केसीको स्वास्थ्य अवस्थामा बिस्तारै सुधार हुँदै गयो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उपचारमा संलग्न चिकित्सकमा आशा पलायो । ‘प्लाज्मा दिएको दिनदेखि नै स्वास्थ्यमा सुधार आएपछि बचाउन सकिने एक किसिमको आशा जाग्यो । प्लाज्माथेरापी सफल भएकोमा हामी खुसी छौँ,’ भेरी अस्पतालका डा.खगेन्द्रजंग शाहले भने, ‘यसले अस्पताललाई मात्र नभई सिंगो पश्चिम क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ ।’

भेरी अस्पतालले प्लाज्माथेरापी उपचारमा पहिलो केसमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य संक्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । ‘प्लाज्मा विधि सफल भएको छ । संक्रमणबाट मुक्त भएकालाई प्लाज्मा दान गर्न हामी आह्वान गर्दछौँ,’ डा. शाहले भने । स्वस्थ भएपछि केसीलाई आइतबार अस्पतालले डिस्चार्ज गरेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘हामी प्लाज्माथेरापी विधिबाट उपचार सफल बनाउनेमा लागेका थियौँ र सफल पनि भयौँ । यसमा धेरै खुसी लागेको छ,’ उनले भने ।

प्लाज्माथेरापी उपचार विधिबाट निको भएर केसी डिस्चार्ज हुँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत निकै खुसी देखिन्थे । भेरी अस्पतालमा उपचाररत दोस्रो बिरामीलाई पनि प्लाज्मा दिइएको छ । ती बिरामीको अवस्था भने स्थिर भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालमा रहेका ५–६ जनाको अवस्था क्रिटिकल भएको डा.शाहले बताए । ‘अहिले रेम्डेसिभिर औषधि दिएका छौँ । त्यसले सुधार भएन भने प्लाज्मा दिनुपर्ने हुन्छ,’ उनले भने ।

पुनर्जीवन पाएँ : केसी
प्लाज्माथेरापीबाट निको भएका केसीले आफूले पुनर्जीवन पाएको बताएका छन् । अत्यधिक ज्वरोसँगै खोकी र श्वासप्रश्वासमा समस्या आएपछि बाँच्ने आशा मारिसकेका थिए उनले । ‘अब जिन्दगी यति नै हो भन्ने लागेको थियो, तर बाँचियो,’ डिस्चार्ज भएपछि नजिकै उभिएका प्लाज्माथेरापी विज्ञ डा.खगेन्द्रजंग शाहसहित नर्सिङ टिम र प्लाज्मा दान गर्नेे प्रमोद रिजालतर्फ हेर्दै केसीले भने, ‘मलाई दोस्रो जुनी दिने तपाईंहरू मेरो भगवान् हो, मैले तपाईंहरूको गुण कहिल्यै बिर्सिने छैन ।’  उनले कोरोनालाई हल्का रूपमा नलिन सुझाब दिँदै स्वास्थ्य सुरक्षा अपनाउन सुझाब दिएका छन् । ‘म मृत्युको मुखमा पुगेर फर्किएको छु । आफू नमरी स्वर्ग देखिन्न भनेझैँ त्यो पीडा र छटपटीको अनुभव मैले गरेको छु,’ केसीले भने ।