१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडौ
२०७७ भदौ २८ आइतबार १८:००:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

सामाजिक सुरक्षा कोषले कोरोना उपचार खर्च व्यहोर्ने, निधन भएमा आश्रित परिवारलाई पनि सुविधा 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौ
२०७७ भदौ २८ आइतबार १८:००:००

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना संक्रमण देखिएमा उनीहरूको उपचार खर्च कोषले नै व्यहोर्ने विवेक पन्थीले जानकारी दिएका छन् । त्यस्तै कोषमा आबद्ध श्रमिकको मृत्यु कोरोनाका कारणले भएमा पनि आश्रित परिवारले सुविधा पाउनेछन् । कोषले सञ्चालन गरेको सुरक्षा योजनाहरू औषधि–उपचार, स्वास्थ्य सुरक्षा तथा आश्रित परिवार सुरक्षा योजनाअनुसार कोभिड– १९  संक्रमणको उपचार र श्रमिकको मृत्यु भएमा आश्रित परिवारले पाउने सुविधा  उपलब्ध गराउनेछ । योगदानमा आधारित कोषले श्रमिकका लागि चारवटा विभिन्न खालका सुविधा उपलब्ध गराएको छ । जसमध्ये कोरोना संक्रमण भएमा वा संक्रमितको मृत्यु भएका श्रमिकले तीनवटा सुविधा प्राप्त गर्नेछन् ।  तर, हालसम्म कुनै पनि श्रमिकले कोराेना उपचारका लागि माग नगरेको कोषका प्रवक्ता पन्थीले बताए । उनका अनुसार तीनजना संक्रमित श्रमिकले सम्पर्क भने गरेका छन् । 

कसरी पाउँछन् कोरोना उपचार सुविधा ?

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि–उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत श्रमिकले यस्तो सुविधा प्राप्त गर्न सक्छन् । यो योजनाअनुसार श्रमिकले कुनै पनि रोग लागेर घरमै बसेर उपचार गरेमा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाउनेछन् । त्यस्तै, अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक एक लाख रुपैयाँ वा कुल दाबी रकमको ८० प्रतिशत कोषले व्यहोर्ने उल्लेख छ । बाँकी २० प्रतिशत भने योगदानकर्ता स्वयंले या अन्य कुनै विकल्प रोज्न पाउनेछन् । अर्थात् सामाजिक सुरक्षा कोषमा आबद्ध  श्रमिकले कोरोना संक्रमण भएर घरमा नै उपचार गरेमा पनि २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनेछन् । संक्रमण भएर अस्पतालमा उपचार गर्दा अधिकतम एक लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाउनेछन् । यो सुविधा श्रमिकले कोषमा योगदान रकम जम्मा गर्न सुरु गरेको तीन महिना पूरा भएदेखि योगदान गर्न छाडेको तीन महिनासम्म लागू हुनेछ । 

मृत्यु भएमा आश्रित परिवारलाई सुविधा 

सामाजिक सुरक्षा कोषको आश्रित परिवार सुरक्षा योजनाअनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका श्रमिकका परिवारले यो सुविधा उपभोग गर्न पाउनेछन् । 

संक्रमणका कारण कोषमा आबद्ध श्रमिकको निधन भएमा मृतकको पति वा पत्नीले श्रमिकले खाइपाई आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम जीवित रहेसम्म निवृत्तिभरण पाउनेछन् । त्यस्तै मृतक श्रमिकको छोरी–छोराले २१ एक वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउनेछन् । एकभन्दा बढी सन्तती भएमा ६० प्रतिशत रकम दामासाहीले पाउनेछन् । तर, शारीरिक वा मानसिक रूपमा अशक्त भएका बच्चाको हकमा उमेरको हद लाग्नेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोरा–छोरीले पनि अध्ययन खर्च पाउनेछन् । मृतक श्रमिक अविवाहित भएमा एकाघरका बुबाआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत जीवनभरि मासिक निवृत्तिभरण सुविधा पाउनेछन् । त्यस्तै, मृतकको हकवालालाई २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्चबापत प्रदान गरिन्छ ।

निवृत्तिभरण र अवकाश सुविधा पनि पाउने

कोषमा आबद्ध श्रमिकको कोराना संक्रमणकै कारण मृत्यु भएमा पतिपत्नीले एकमुष्ट रकम पाउनेछन् । मृतक श्रमिकले हालसम्म कोषमा जम्मा गरेको रकम, त्यसमा आउने ब्याज र कोषले प्राप्त गरेको प्रतिफल एकमुष्ट रूपमा पाउनेछन् । तर, दम्पतीले निवृत्तिभरण सुविधा भने पाउने छैनन् । 

कोषले गरेको व्यवस्थाअनुसार ०७६ असार अगावै कोषमा आबद्ध भएका श्रमिकले निवृत्तिभरण र अवकाश योजनामध्ये एउटा योजना छनाेट गर्नुपर्नेछ । तर, २०७६ साउनपछि कोषमा आबद्ध श्रमिकले १५ वर्षसम्म कोषमा रकम जम्मा गरेपछि स्वतः निवृत्तिभरण योजना सुविधा पाउँछन् । तर, १५ वर्ष योगदान नगरेको भए पनि ६० वर्ष पुगेको अवस्थामा श्रमिकले एकमुष्ठ रकम पाउनेछन् । निवृत्तिभरण सुविधाको लागि श्रमिकले कोषमा १५ वर्ष योगदान गरेको र ६० वर्ष पुगेको हुनुपर्नेछ । तर, योगदान गरेको १५ वर्ष नहुँदै मृत्यु भएमा मृतकको दम्पतीले पाउनुपर्ने निवृत्तिभरणको रकम मासिक ५० प्रतिशत पाउनेछन् । 

एक लाख ७३ हजार श्रमिक जोडिए कोषमा

सामाजिक सुरक्षा कोषको तथ्यांकअनुसार हालसम्म कोषमा एक लाख ७३ हजार चार सय ६० श्रमिक आबद्ध भएका छन् । जसमध्ये प्रदेश एकका १७ हजार चार सय २५, प्रदेश नम्बर दुईका १२ हजार तीन सय ५९, बागमती प्रदेशका एक लाख, गण्डकी प्रदेशमा ६ हजार सात सय ५३, प्रदेश नम्बर ५ मा पाँच हजार पाँच सय २८, कर्णाली प्रदेशमा चार सय ३३ र सुदूरपश्चिम प्रदेशमा ६ सय २८ श्रमिक कोषमा आबद्ध भएका छन् । त्यस्तै हालसम्म १२ हजार ६ सय ७५ रोजगारदाता कोषमा आबद्ध भएका छन् । कोषले हालसम्म एक अर्ब ७५ करोड योगदान रकम संकलन गरेको छ भने ८५ लाख ३६ हजार दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार सुविधाअन्तर्गत तीन सय ५० वटा दाबीको भुक्तानी गरेको छ । दुर्घटना तथा अशक्तताबापत २६, आश्रिमत परिवार सुरक्षाबापत नाै र उपदान दाबीबापत १९ वटाको भुक्तानी गरेको छ । 

एक लाखसम्म औषधि–उपचार खर्च पाउने : विवेक पन्थी, प्रवक्ता, सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना संक्रमण भएमा पिसिआर परीक्षणदेखि उपचार खर्च कोषले दाबी भुक्तानी गर्छ । उपचारको लागि श्रमिक जुनसुकै अस्पताल जान सक्नेछन् । सरकारी वा निजी जुनसुकै अस्पतालको बिललाई कोषले भुक्तानी गर्छ । दाबीका लागि श्रमिकले कोषको वेबसाइटमा भएको फारम भरी इमेलबाट नै पनि पठाउन सक्नेछन् । आफैँ आएर वा कुरियरमार्फत पनि कोषमा कागजपत्र पेस गर्न सकिनेछ । कोषमा स्वास्थ्यसम्बन्धी टिम छ । सो टिमले कागजपत्रको मूल्यांकन गरेपछि श्रमिकको खातामा नै रकम जम्मा गरिनेछ । उपचार खर्चबापत श्रमिकले एक लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।