मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २८ आइतबार १६:१४:००
Read Time : > 1 मिनेट
विश्व

अक्सफोर्ड युनिभर्सिटीले कोभिड–१९ विरुद्धको खोप परीक्षण पुनः सुरु गर्ने

Read Time : > 1 मिनेट
२०७७ भदौ २८ आइतबार १६:१४:००

औषधि उत्पादक कम्पनी एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले संयुक्त रूपमा निर्माण गरेको कोभिड– १९ विरुद्धको भ्याक्सिनको परीक्षण पुनः सुरु हुने भएको छ । यसअघि ब्रिटिस भोलेन्टियरहरूलाई भ्याक्सिन लगाउँदा साइडइफेक्ट देखाएको भन्दै परीक्षण बन्द गरिएको थियो ।

गत मंगलबार एस्ट्राजेनेकाले खोप परीक्षण गरेका व्यक्तिहरूमा प्रतिकूल असर देखिएको भन्दै ट्रायल (परीक्षण) रोक्ने निर्णय गरेको थियो । सो क्रममा खोपबारे थप अध्ययन गरिने पनि जनाएको थियो । तर, शनिबार अक्सफोर्ड युनिभर्सिटीले खोप सुरक्षित रहेको दाबी गर्दै पुनः ट्रायल सञ्चालन गर्न सकिने जनाएको हो । बेलायतका स्वास्थ्यमन्त्री म्याट  ह्यान्ककले परीक्षण सुरु गर्ने निर्णयलाई स्वागत गर्दै सामान्य असर देखिँदा पनि बन्द गर्नुले हामी खोपप्रतिको सुरक्षामा कति संवेदनशील छौँ भन्ने पुष्टि गरेको बताए । उनले परीक्षण अगाडि बढ्दा छिटो र प्रभावकारी रूपमा खोप वितरण गर्न सकिने बताएका छन् । 

युनिभर्सिटीले विज्ञप्ति जारी गर्दै भ्याक्सिन परीक्षणका क्रममा केही व्यक्ति अस्वस्थ देखिन सक्ने स्वीकार गरेको छ । भ्याक्सिन परीक्षण गरिएका बिरामीबारे कुनै सूचना बाहिर ल्याउन नमिल्ने भए पनि न्युयोर्क टाइम्सले बेलायतका एक भोलेन्टियरमा भ्याक्सिन परीक्षणपछि ट्रान्सभर्स माइलाइटिसका लक्षण देखिएको बताएको छ । जुन एउटा स्पाइनल इन्फ्लेमेन्टरी सिन्ड्रोम हो, यसले मेरुदण्डमा असर गर्छ । जुन भाइरल इन्फेक्सनका कारणले हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर कोरोना भारसविरुद्धका एक सय ८० खोप परीक्षणमा छन् । तर, हालसम्म कुनै पनि खोपको परीक्षण पूरा भइसकेको छैन । 

अक्सफोर्डले तयार गरेको यो खोप बेलायत, अमेरिका, ब्राजिल र दक्षिण अमेरिकाका हजारौँ व्यक्तिमा परीक्षण भइरहेको छ । परीक्षणको पछिल्लो चरणका रहेको सिएचएडिओएस१ कोभ–१९ नामक यो खोप पुनः बेलायतका सबै क्लिनिकल परीक्षण केन्द्रमा सुरु हुनेछ । जुन हालसम्म १८ हजार व्यक्तिमा परीक्षण गरिसकिएको थियो । खोपको असुरक्षाको पक्षमा पनि अध्ययन भइरहेको छ । यसबाहेक अमेरिका र जर्मनीले उत्पादन गरेर परीक्षणमा रहेका दुईवटा खोप परीक्षणको अन्तिम चरणमा छन् ।