मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७७ भदौ २८ आइतबार १४:५२:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना उपचार खर्च र मृत्यु भएमा दाबी भुक्तानी पाउने  

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ भदौ २८ आइतबार १४:५२:००

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना संक्रमणबापतको उपचार खर्च र मृत्युपछिको पनि दाबी भुक्तानी पाउनेछन् । कोषले सञ्चालन गरेका चारवटा सुरक्षा योजनामध्ये औषधि–उपचार, स्वास्थ्य सुरक्षा तथा आश्रित परिवार सुरक्षा योजनाले कोरोना संक्रमणको उपचार र मृत्युपछि आश्रित परिवारले पाउने सुविधासमेत उपलब्ध गराउने भएको हो।  

योगदानमा आधारित कोषले श्रमिकका लागि चारवटा विभिन्न खालका सुविधा सञ्चालनमा ल्याएको छ । जसमध्ये कोरोना संक्रमित वा संक्रमणपछि मृत्यु भएका श्रमिकका परिवारले तीनवटा सुविधा प्राप्त गर्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । उनका अनुसार हालसम्म कोषमा कुनै पनि दाबी आएको छैन । तर, तीनजना संक्रमित श्रमिकले दाबीका लागि सम्पर्क गरेको उनले बताए । 

कोरोना उपचारमा कस्तो सुविधा पाउँछन् श्रमिकले ?

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योेजनामध्ये औषधि–उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना एक हो । यो योजनाअनुसार श्रमिकले कुनै पनि रोग लागेर घरमै बसेर उपचार गरेमा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी रकम पाउनेछन् । अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक एक लाख रुपैयाँ वा कुल दाबी रकमको ८० प्रतिशत कोषले व्यहोर्ने र बाँकी २० प्रतिशत योगदानकर्ता स्वयंले व्यहोर्नेमध्ये कुनै पनि विकल्प रोज्न पाउनेछन् । 

अर्थात् सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले कोरोना संक्रमण भएर घरमा नै उपचार गरेमा पनि २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनेछन् । संक्रमण भएर अस्पताल गएर उपचार गरेमा पनि अधिकतम एक लाख रुपैयाँसम्म औषधि–उपचार खर्च पाउनेछन् । यो सुवधा श्रमिकले कोषमा योगदान रकम जम्मा गर्न सुरु भएको तीन महिना पछिदेखि योगदान गर्न छाडेको तीन महिनासम्म लागू हुनेछ । 

मृत्यु भएमा आश्रित परिवारले पाउने सुविधा 

कोषले सञ्चालन गरेको आश्रित परिवार सुरक्षा योजनाअनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका श्रमिकका परिवारले समेत यो सुविधा उपभोग गर्न पाउनेछन् । 

संक्रमणका कारण कोषमा आबद्ध भएका श्रमिकको मृत्यु भएमा मृतकको पति वा पत्नीले श्रमिकले खाइपाई आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम जीवित रहेसम्म निवृत्तिभरण पाउनेछन् । 

त्यस्तै, मृतक श्रमिकको छोरीछोराले २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउनेछन् । एकभन्दा बढी सन्तति भएमा ६० प्रतिशत रकम दामासाहीले पाउनेछन् । तर, शारीरिक वा मानसिक रूपमा अशक्त भएका बच्चाको हकमा उमेरको हद लाग्नेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले पनि अध्ययन खर्च पाउनेछन् । 

त्यस्तै, मृतक श्रमिक अविवाहित भएमा एकाघरका बुबाआमालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत जीवनकालभरिमा मासिक रूपमा निवृत्तिभरण सुविधा पाउनेछन् । मृतकको हकवालालाई २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्चबापत प्रदान गरिन्छ ।

निवृत्तिभरण र अवकाश सुविधा पनि पाउने

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण र अवकाश सुविधासमेत पाउनेछन् । अवकाश सुविधाअनुसार कोषमा आबद्ध भएका श्रमिकको कोराेना संक्रमणकै कारण मृत्यु भइहालेमा दम्पतीले हालसम्म कोषमा  जम्मा भएको रकम, सो रकमले प्राप्त गर्ने ब्याज र कोषले प्राप्त गरेको प्रतिफलसमेत एकमुष्ट पाउनेछन् । त्यस्तै, निवृत्तिभरण योजनाबापत मृतकको दम्पतीले कोषमा जम्मा भएको रकमलाई १८० ले भाग गर्दा आउने रकम जीवनभर मासिक रुपमा पाउनेछन् ।

कोषले गरेको व्यवस्थाअनुसार ०७६ साल असारअगावै कोषमा आबद्ध भएका श्रमिकले निवृत्तिभरण र अवकाश योजनामध्ये एउटा योजना छनाेट गर्नुपर्नेछ । तर, ०७६ साउनपछि कोषमा आबद्ध भएका श्रमिकले १५ वर्षसम्म कोषमा रकम जम्मा गरेपछि स्वतः निवृत्तिभरण योजना सुविधा पाउँछन् । तर, १५ वर्ष योगदान नगरेको यद्यपि ६० वर्ष पुगेको अवस्थामा श्रमिकले एक मुष्ट रकम पाउनेछन् । 

त्यस्तै, निवृत्तिभरण सुविधाका लागि श्रमिकले कोषमा १५ वर्ष योगदान गरेको र ६० वर्ष पुगेको हुनुपर्नेछ । तर, योगदान गरेको १५ वर्ष नहुँदै मृत्यु भएमा मृतकको दम्पतीले पाउनुपर्ने निवृत्तिभरणको रकम मासिक रूपमा ५० प्रतिशत रूपमा पाउनेछन् । 

एक लाखसम्म औषधि, उपचार खर्चकाे व्यवस्था गरेका छाैँ :  विवेक पन्थी, प्रवक्ता, सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकलाई कोरोना संक्रमण भएमा पिसिआर परीक्षणदेखि उपचार सबै खर्चको कोषले दाबी भुक्तानी गर्छ । उपचारका लागि श्रमिक जुनसुकै अस्पताल जान सक्नेछन् । सरकारी वा निजी जुनसुकै अस्पतालको बिललाई कोषले भुक्तानी गर्छ ।

दाबीका लागि श्रमिकले कोषको वेबसाइटमा भएको फारम भरी मेलबाट नै पनि कागजपत्र पठाउन सक्नेछन् । आफैँ आएर वा कुरियरमार्फत पनि कोषमा कागजपत्र पेस गर्न सकिनेछ । कोषमा स्वास्थ्यसम्बन्धी टिम छ । सो टिमले कागजपत्रको मूल्यांकन गरेपछि श्रमिकको खातामा नै रकम जम्मा गरिनेछ ।