मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २८ आइतबार १४:०७:००
Read Time : > 3 मिनेट
खेलकुद

राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने यी हुन् विश्वका सात उत्कृष्ट खेलाडी

Read Time : > 3 मिनेट
२०७७ भदौ २८ आइतबार १४:०७:००

हरेक खेलाडीमा राष्ट्रिय टोलीबाट डेब्यु गर्ने चाहना हुन्छ नै । राष्ट्रिय टोलीको जर्सी लगाएर अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चम्काउने चाहना कुन खेलाडीमा नहोला र ? यसै पृष्ठभूमिमा फुटबलका खेलाडीमा अर्को एउटा इच्छा पनि हुन्छ– धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्नु । अहिले विश्वमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको शीर्ष स्थानमा इरानका अली दाइ एक सय नौ गोलका साथ शीर्ष स्थानमा छन् । विश्व फुटबलमा नाम चलेका खेलाडीले ५० गोल पनि राष्ट्रिय टोलीबाट गरेका छैनन् । ब्राजिलका रोनाल्डो, पोर्चुगलका लुइस फिगो र इंग्ल्यान्डका डेभिड बेकह्यामलगायत खेलाडीले राष्ट्रिय टोलीबाट धेरै गोल गर्न नसकेको इतिहास छ । 

नेपालकै कुरा गर्दा नीराजन रायमाझी र हरि खड्काले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेसी यो मामलामा १५औँ स्थानमा छन् । विश्व फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सात खेलाडी यस्ता छन् । 

अली दाइ (इरान) : खेल १४९, गोल १०९
इरानका पूर्वस्ट्राइकर तथा कप्तान अली दाइले राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेका छन् । एसियाकै गोल मेसिनका रूपमा चिनिने अलीले एक सय नौ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९३ मा डेब्यु गरेका अलीले सन् २००६ मा सन्न्यास लिएका थिए । उनले एक सय ४९ अन्तर्राष्ट्रिय क्याप जितेका थिए ।

सन् १९९० को दशकमा एसियाकै निकै राम्रा फिनिसरका रूपमा अलीले आप्mनो नाम स्थापित गरेका थिए । क्लबस्तरीय व्यावसायिक खेलमा उनले दुई सय ८७ खेलमा एक सय १२ गोल गरेका थिए । सन् १९९८–९९ को सत्रमा अलीले जर्मनीको चर्चित क्लब बायर्न म्युनिखबाट पनि प्रतिस्पर्धा गरेका थिए । बायर्नमा २३ खेलमा उनले ६ गोल गरेका थिए । 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : खेल १६५, गोल १०१
अली दाइको कीर्तिमाननजिक कोही छन् भने क्रिस्टियानो रोनाल्डो मात्र हुन् । रोनाल्डोबाहेक उनको नजिक केही पुगेका छैनन् । हालै मात्र रोनाल्डोले स्विडेनविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा एक सय एक व्यक्तिगत गोलसंख्या पु¥याएका छन् । 

राष्ट्रिय टोलीबाट सय गोल गर्ने रोनाल्डो दोस्रो फुटबलर हुन् । अलीको रेकर्ड तोड्न अब रोनाल्डोलाई नौ गोल आवश्यक छ । पोर्चुगलका कप्तान रोनाल्डोले एक सय ६४ क्याप जितेका छन् । सन् २००३ मा काजखिस्तानविरुद्ध डेब्यु गरेका रोनाल्डोले विश्वकप तथा युरोकप फुटबल प्रतियोगितामा गोल गरेका छन् । रोनाल्डोले सन् २००२ मै क्लब लेभलको व्यावसायिक फुटबल सुरु गरेका थिए । पाँचपटकका फिफा वर्षखेलाडी रोनाल्डो हाल युभेन्ट्समा आबद्ध छन् । 

मोख्तर दाहारी (मलेसिया) : खेल १३१, गोल ८६
मलेसियाका कप्तान मोख्तर अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने पंक्तिमा तेस्रो नम्बरमा छन् । उनले एक सय ३१ खेलमा ८६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९७० को दशकमा मोख्तर मलेसिया अति नै राम्रा खेलाडी थिए । उनको कप्तानीमा तत्काल मलेसियाले दक्षिण कोरिया तथा जापानमाथि सानदार जित निकालेको थियो । मलेसियन टोलीबाट उनले सन् १९७२ मा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट सन् १९८६ मा सन्न्यास लिए । सन् १९८० ताका उनलाई स्पेनिस क्लब रियल म्याड्रिडले प्रस्ताव गरेको थियो । त्यसवेला मलेसियामा राजनीतिक अस्थिरताका कारण उनी रियलमा आबद्ध भएनन् । 

फेरेन्स पुस्कास (हंगेरी) : खेल ८५ गोल ८४
विश्व फुटबलका अर्का राम्रा फुटबलरमध्ये फेरेन्स पुस्कास पनि हुन् । विश्वकप तथा युरोपमा हंगेरीको उपस्थिति बलियो बनाएका पुस्कासले ८५ अन्तर्राष्ट्रिय खेलमा ८४ गोल गरेका छन् । सर्वाधिक गोल गर्ने खेलाडीमा उनी चौथो स्थानमा पर्छन् । सन् १९५२ मा हंगेरीले ओलम्पिकमा स्वर्ण पदक जित्दा उनी प्रमुख खेलाडी थिए । सन् १९५४ मा हंगेरीले विश्वकप उपाधि जित्न नसके पनि पुस्कास प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । सन् १९४५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले १९५६ मा सन्न्यास लिए । त्यसपछि उनले स्पेनको नागरिकता लिए । स्पेनीको टोलीबाट तीन खेलमा उनले चार गोल गर्न सफल भए । करिअरमा उनले बुढापेस्ट र रियल म्याड्रिडबाट खेल्दै उनले पाँच सय ३० व्यक्तिगत गोल गरेका छन् ।

गुडफ्रेय चितालु (जिम्बाबे) : खेल १११, गोल ७९
जिम्बावेका गुडफ्रेयले १२ वर्ष अन्तर्राष्ट्रिय प्रतियागिता खेले । यसक्रममा उनले जिम्बाबेली टोलीबाट एक सय ११ खेलमा ७९ गोल गरेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा उनी पाँचौँ स्थानमा छन् । जिम्बाबेली फुटलबरका अनुसार उनी जिम्बाबेका अहिलेसम्मकै उत्कृष्ट स्ट्राइकर हुन् । उनी तीनपटक जिम्बाबेका उत्कृष्ट फुटबलर उपाधि जितेका थिए । 

हुसैन मोहमद (इराक) : खेल १३७, गोल ७८ 
हुसैन मोहमदले केवल दुई वर्ष यू–२० इराकी टोलीबाट खेले । उनी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्ने फुटबलरको पंक्तिमा छैटौँ स्थानमा छन् । राष्ट्रिय टोलीमा स्थान बनाउन उनलाई खासै समय लागेन । सन् १९७६ मा इराकको सिनियर टोलीबाट डेब्यु गरेका मोहमदले सन् १९९० मा सन्न्यास लिए । १४ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा उनले एक सय ३७ खेलमा ७८ गोल गरे । सन् १९९७ मा उनले मर्डेका कपमा इन्डोनेसियाविरुद्ध खेलेका थिए । डेब्यु खेलको आठौँ मिनेटमा उनले गोल गरेका थिए । 

पेले (ब्राजिल) : खेल ९२, गोल ७७
विश्व फुटबलले पाएका खेलाडीमध्ये ब्राजिलका पेले उत्कृष्ट मानिन्छन् । पेलेले ९२ खेलमा ७७ गोल गर्न सफल भएका थिए । उनी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्ने फुटबलरको पंक्तिमा सातौँ स्थानमा छन् । क्लबस्तरीय फुटबलमा उनले पाँच सय ६० खेलबाट पाँच सय ४१ गोल गरेका छन् । फुटबल इतिहासमा तीनपटक विश्वकप उपाधि उचाल्ने पेले मात्र हुन् । सन् १९५० देखि १९७२ को अवधिमा ब्राजिलले तीनपटक विश्वकप उपाधि जित्दा पेलेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९९९ मा शताब्दीकै उत्कृष्ट फुटबलर भोटिङ हुँदा पेलेले उपाधि जिते । ब्राजिलियन क्लबका सान्तोष क्लबकै अलटाइम गोलस्कोर उनी नै हुन् ।