मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अपूर्वानन्द
२०७७ भदौ २८ आइतबार ०७:५५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्वामी अग्निवेश : आधुनिक आध्यात्मिकताको खोज

उनी गृहस्थ जीवनमा थिएनन्, तर संसारसँग उनको प्रगाढ सम्बन्ध थियो । प्रेम, घृणा र क्रोध, यी तीनै भाव उनमा पनि प्रचुर मात्रामा थियो ।

Read Time : > 2 मिनेट
अपूर्वानन्द
२०७७ भदौ २८ आइतबार ०७:५५:००

८१ वर्ष पूरा हुन केही दिन बाँकी थियो, स्वामी अग्निवेशले यो संसारबाट बिदा लिए । उनी गृहस्थ जीवनमा थिएनन्, तर संसारसँग उनको प्रगाढ सम्बन्ध थियो । प्रेम, घृणा र क्रोध, यी तीनै भाव उनमा पनि प्रचुर मात्रामा थियो । उनी धार्मिकहरूको आखिरी सम्झनामा रहिरहनेछन् किनभने उनले धर्मका प्रति आस्थाका कारण समाजलाई अधार्मिकताबाट उकास्न प्रयास गरे । उनी समाजलाई उदार, मानवीय र प्रेमिल बनाउन चाहन्थे । मलाई एउटा प्रसंग सम्झना हुन्छ– मेरी एकजना छात्राको अनुराग जुन युवकसँग थियो, उनका परिवारका सदस्यले उनीहरूको वैवाहिक सम्बन्ध स्विकार्न तयार थिएनन् । तर, दुवैले विवाह गर्ने निर्णय लिए ।

विशेष विवाह अधिनियमका तहत विवाहको दर्ता प्रक्रिया सजिलो छैन, जसकारण धेरैजसो युगल जोडीलाई त्यो बाटो अंगाल्न गाह्रो छ । हामीले स्वामी अग्निवेशलाई फोन ग¥यौँ । उनले लाजपत नगरको आर्य समाज मन्दिरमा कुरा गरेर विवाहको व्यवस्था मिलाए । विवाहको आयोजनमा आफैँ पनि सहभागी भए र अन्तिमसम्म उपस्थित पनि भए । उनको अनुहारमा प्रसन्नताको भाव स्पष्ट झल्किन्थ्यो ।

एउटा सन्न्यासीले दुई प्राणीलाई सांसारिक बन्धनमा बाँध्दै थियो । यसले मेरी छात्रालाई मात्र होइन, हामी सबैलाई ठूलो आड–भरोसा दियो । मलाई थाहा छ यो मेरो एक्लो अनुभव होइन । हामीजस्ता कैयौँ मान्छेले स्वामीको आशिष पाएका छौँ । ईश्वरीय सृष्टिमा मनुष्यले जुन विकृति पैदा गरिदिएको छ, त्यसलाई सच्याउनु पनि धार्मिकहरूकै उत्तरदायित्व हो । यति गर्नका लागि पनि संसारसँग जुध्नुपर्छ ।

मानवीय विकृतिलाई ईश्वरीय योजनाको परिणाम भन्दै त्यसलाई जारी राख्नु शक्तिशाली मानिसको धर्मद्रोह हो । उनीहरूसँगको संघर्षको अर्थ हो, कोपभाजन सहन तयार हुनु । त्यसैले यो ईश्वरीय विधान होइन भन्ने जान्दा–जान्दै सन्न्यासी यसलाई हरिइच्छा भन्दै त्यसको भजनमा लीन हुन मन पराउँछन् । जसले मानिसले ईश्वरको ठाउँ लिन सक्दैन भनेर चुनौती दिएका छन्, उनीहरूमाथि चारैतिरबाट प्रहार भएको छ । स्वामी अग्निवेशको जीवन यसै द्वन्द्वबाट गुज्रियो ।

बँधुवा मजदुरी उनीभन्दा पहिले पनि थियो । अग्निवेशले यसलाई आफ्नो आध्यात्मिक कर्तव्य ठाने र मनुष्यलाई मनुष्यको दास बनाउनुबाट रोक्नुपर्छ भने । केटाकेटी, जसलाई भगवान्को रूप मानिन्छ, उनीहरूलाई गुलाम बनाउन सकिँदैन भने । उनको संघर्ष तिनैसँग भयो, जसले आफूलाई धार्मिक भन्थे, तर नैतिक विजय स्वामी अग्निवेशको भयो । घृणा उपयोगी भाव हो । प्रेमचन्दका अनुसार अनाचार, अन्याय, असमानतासँगको घृणाविना तपाईं यससँग लड्न सक्नुहुन्न । यदि यी कुरामा घृणा छैन भने तपाईं यसमा उदासीन भएर जीवन जिउने बाटो अनुशरण गर्नतर्फ लाग्नुहुन्छ । यस्तो घृणाले न्यायका लागि संघर्षमा होमिन आवेग प्रदान गर्छ । अग्निवेशमा त्यो प्रचुर मात्रामा थियो । आचार्य रामचन्द्र शुक्लले सात्विक क्रोधलाई वरेण्य मानेका छन् । 

जोन दयालले प्यालेस्टिन र जोर्डन यात्राको स्मरण गर्दै लेखेका छन्– इजराइलका सीमा सुरक्षाकर्मीले उनीहरूलाई रोकिदिए र उनीहरूको राहदानी पनि लिइदिए । स्वामी त्यहीँ धर्नामा बसे, त्यो देखेर इजरायली सुरक्षाकर्मी निकै आक्रोशित भए । पछि उनले त्यहीँ इजरायली र प्यालेस्टिनी शरणार्थीको एउटा हुललाई सम्बोधन गरे । यसबाट झनै क्रोधित भएका इजरायली सुरक्षाकर्मीले दोभाषे बोलाउन पर्यो । दूतावासबाट अधिकारीहरू आए र पछि उनीहरूले राहदानी फिर्ता दिए । त्यसपछि स्वामीको टोली जोर्डनतर्फ लाग्यो ।

त्यस्तो को होला, जो आगोमा हामफाल्न जतिवेलै तत्पर रहन्छ । उनले सबैको संकट निवारणमा आफूलाई सहभागी गराए । उपदेश दिन सजिलो हुन्छ, तर त्यही जीवन व्यवहारमा उतार्न कठिन हुन्छ । स्वामी अग्निवेश यी सबै गर्न कायर थिएनन् । दिल्लीका सामाजिक कार्यकर्तालाई थाहा छ कि सन् १९८४ मा अग्निवेशले कसरी हिन्दूहरू हिंस्रक भिडको सामना गरेका थिए । उनले भने हिन्दूधर्मको साँचो अनुयायीले यसरी हत्या, लुटपाट गर्नु हुँदैन । एउटा साधुले बोलेको कुराले भिडमा जादुई प्रभाव देखाउन थाल्यो ।

स्वामीले पछि स्वयंलाई अप्ठेरोमा पारिदिए । हिमांशु कुमारले छत्तिसगढमा माओवादी र सरकारबीचको हिंसामा हस्तक्षेप गर्नका लागि उनलाई सम्झिए । उनी लेख्छन्, ‘स्वामीजी निकै साहसी थिए । उनीभित्र डर भन्ने नै थिएन । छत्तिसगढमा सलवा जुडुमका कारण र त्यसपछि सरकारद्वारा ठुल्ठूला आदिवासी नरसंहार भए । स्वामी ती सबैका खिलाफ आवाज उठाउन जहिले पनि अघि नै पुग्थे ।

एकपटक माओवादीहरूले पाँचजना सिपाहीको अपहरण गरिदिए । स्वामी अग्निवेश उनलाई छुटाउन भनेर अबुझमाड गए र सफलतापूर्वक उनीहरूलाई छुटाएर ल्याए । छत्तिसगढको ताडमेटलामा जति वेला आदिवासीका तीन सय घर पुलिसले जलाइदिए, मेरो सूचनामा स्वामी तत्कालै छत्तिसगढ आइपुगे । त्यहाँ पुलिस अधिकारी कल्लुरीको नेतृत्वमा उनीमाथि भयानक हमला भयो । तर, स्वामी ज्यान जोगाउन सफल भए ।
(लेखक दिल्ली विश्वविद्यालयमा अध्यापन गर्छन्) द वायरबाट