मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २८ आइतबार ०८:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा ४३ करोडले घट्यो कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २८ आइतबार ०८:०७:००

बैंकिङ अझै बढ्न सकेन, लघुवित्त र बिमा कम्पनीमै झुम्मिँदै लगानीकर्ता

अघिल्लो साताको भन्दा सेयर बजारमा गत साता ४३ करोडले कारोबार कम भएको छ । अघिल्लो साता ११ अर्ब ९० करोडको सेयर किनबेच भएकोमा गत साता ११ अर्ब ४७ करोडमा कारोबार खुम्चिएको छ । साताभरमा नेप्से परिसूचक भने १० अंकले बढेको छ । 

बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताले बजार निर्देशित गरिरहेको समयमा लगानीकर्ताको कारोबार स्वभाव हेर्न केही प्राविधिक विश्लेषणका औजारहरूले सहयोग पुग्नेछ । मैनबत्ती चित्र विश्लेषणले नेप्से बढ्न आइतबारको उच्च बिन्दु १ हजार ५ सय ३८ नै प्रतिरोधका रूपमा रहने संकेत गरिरहेको छ । साताको अन्तिम दिन बनेको लामो माथिल्लो धागोसहितको सानो शरीर भएको मैनबत्तीले यही संकेत गर्छ । यो संकेत प्रवृत्ति परिवर्तनको दरिलो संकेत भने होइन । 

साताको सुरुदेखि नै घट्न थालेको बैंकिङ समूहगत परिसूचक बिहीबार भने बढेर बजार बन्द भयो । साताभरमा यो समूह २६ दशमलव ४१ प्रतिशतले घटेको छ । कोभिड–१९ को असर सम्बन्धमा वाणिज्य बैंकहरूबारे अन्य सूचीकृत समूहको भन्दा बढी चर्चा चलिरहेपछि बजार पुँजीकरणका आधारमा ४९ प्रतिशत हिस्सा रहेको यही समूहमा बढी प्रभाव देखिएको छ । 

बैंकिङ समूह भने साताकै न्यून अन्तिम बिन्दु १ हजार २ सय ४ नजिक छ । अन्तिम दिन उल्टो ह्यामर आकृति बनाएको छ । यसले यो समूह घट्नेक्रम रोकिने संकेत गरे पनि यसलाई दरिलो संकेत भने मानिँदैन । आगामी कारोबार वृद्धि भएमा भने केही समय परिसूचक बढ्नेछ । 

त्यस्तै, प्रभाव देखिएको होटेल समूहमा गत साता १३ अंकले गिरावट आयो । विकास बैंक समूहमा पनि १९ अंकले कमी आएको छ । विकास बैंक र वित्त कम्पनी समूहमा अन्तिम दिन सेतो मैनबत्ती बनेको छ । यसले मूल्य बढ्न सक्ने संकेत गरिरहेको भए पनि यी दुवै समूहले साताको उच्च विन्दु पार गर्न सकेका छैनन् । वित्त कम्पनी भने ६ दशमलव ५३ अंकले बढेको छ । 

होटेल समूहको मैनबत्ती चित्रले लगानीकर्ता अन्योलको अवस्थामा रहेको संकेत गरिरहेको छ । अन्तिम दुई दिनमा पहिलो दिन वृद्धि भए पनि दोस्रो दिन सुटिङ स्टार बनेको छ । यसले समूहमा गिरावट आउने संकेत गर्छ । यसअघि पनि होटेल समूहमा स–साना डोजी आकृति बनेकाले अनिश्चयको अवस्था कायमै रहेको देखिन्छ । टेलिकम सूचीकृत ‘अन्य’ समूहको अन्तिम दिन पनि सुटिङ स्टार बनेकाले यस समूहमा रहेका कम्पनीहरूको मूल्यलाई लिएर लगानीकर्तामा अन्योल देखिन थालेको संकेत यसले गर्छ । साताभरमा ‘अन्य’ समूहको परिसूचक २३ दशमलव ४३ अंकले बढेको छ । 

तुलनात्मक रूपमा कम सेयर भएका कम्पनीहरूमा भने लगानीकर्ता ओइरिरहेका छन् । लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा कम्पनीहरूको मूल्य बढ्दा समूहगत परिसूचक नै वर्षको उचाइमा पुगेको छ । लघुवित्तहरूमा सेयर जारी गरिसकेका र जारी गर्न बाँकी कम्पनीहरू मर्जर गरेर थप सेयर (एफपिओ) जारी गर्ने र आएको प्रिमियम पुनः लाभांश दिन प्रयोग हुने आसले पनि उच्च मूल्यमा पनि लगानीकर्ता सेयर खरिद गरिरहेका छन् । लघुवित्त समूहमा गत साता ९९ अंकको वृद्धि भयो ।  

जीवन बिमा कम्पनी ३ सय १ र निर्जीवन बिमा ५ सय ६७ अंकले बढेको छ । लघुवित्त, जीवन बिमा र निर्जीवन बिमा समूहका मैनबत्ती चित्रमा अन्तिम दुई दिन सेतो मैनबत्ती बनेका छन् । यसले लगानीकर्ता यी कम्पनीमा लगानी गर्न इच्छुक रहेको संकेत गरिरहेको छ ।