मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
विनोद विष्ट काठमाडौं
२०७७ भदौ २८ आइतबार ०४:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

घुस भनिएको एक हजार रुपैयाँसँग खरिदार सुवेदी मात्र होइन, १२ जनालाई पक्राउ गरिएको थियो (भिडियो रिपोर्टसहित)

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
विनोद विष्ट, काठमाडौं
२०७७ भदौ २८ आइतबार ०४:०९:००

एक हजार रुपैयाँ घुस खाएको आरोपमा ४२ दिनसम्म अख्तियारको थुनामा परेका मालपोतका कर्मचारी रामहरि सुवेदीको भक्तपुरस्थित निवासमा शनिबार हामी पुग्दा परिवारले उनको श्राद्ध भर्खरै सकेको थियो । दुर्व्यवहार सहन नसकेर उनले आत्महत्या गरेका थिए, शनिबार श्राद्ध सकिएपछि श्रीमतीले भनिन्, ‘धर्तीको अदालतले नै बाटो खोलिदिएकोले स्वर्गमा उहाँको यात्रा खुला भएको छ । आत्माले पक्कै शान्ति पाएको छ ।’

आत्महत्या गरेका श्रीमान्को आत्माले शान्ति पायो भन्नेमा विश्वस्त श्रीमती रिताको आफ्नै आत्मा भने हजारौँ प्रश्नले अशान्त छ । ‘एक हजार रुपैयाँ भ्रष्टाचार गरेको भनेर ४२ दिनसम्म थुनामा राखियो, अब उहाँ निर्दोष साबित हुनुभयो, तर बालबच्चा र हामीले जे गुमायौँ, अब क्षतिको मूल्य माग्न म कहाँ जाऊँ ?’ यी वाक्य उच्चारण गर्दा उनका आँखामा आँसु टिल्पिलाइसकेका थिए । 

यति भन्दै गर्दा अनायसै उनका नजर बैठककोठाको भित्तातर्फ दौडिए । ढोकानजिकै दिवंगत श्रीमान्को तस्बिर छ, उनको नजर तस्बिरमा पुगेर टक्क अडियो । कोठामा केहीबेर शून्यता छायो ।

शून्यता चिर्दै रिता आफैँले प्रश्न गरिन्, ‘सबैलाई थाहै छ, भ्रष्टाचार आरोप लागेका व्यक्तिको परिवारलाई हेर्ने समाजको मनोविज्ञान कस्तो हुन्छ भन्ने ? वर्ष दिनसम्म सहेका यातनाको बयान म कसरी सुनाऊँ ?

जब कि अख्तियारकै पदाधिकारीले करोडौँ रुपैयाँ घुस लिएको सुनिन्छ । तर, उनीहरूले नै मेरा श्रीमान्लाई हजार रुपैयाँ घुसमा फसाए । यसको क्षतिपूर्ति माग्न म कहाँ जाऊँ ?’

खरिदार रामहरि सुवेदी मालपोतमा आएको ६ महिना मात्र भएको थियो, त्यसअघि काभ्रेको पाँचखाल नगरपालिकामा थिए । २२ साउनका दिन कार्यालयकै पछाडिस्थित क्यान्टिनमा खाजा खाँदै थिए । सोही क्रममा उनी अख्तियारको स्टिङ अपरेसनमा परे, एक हजार घुससहित भ्रष्टाचारी पक्राउ भनेर अख्तियारले विज्ञप्ति जारी गर्‍यो । उनलाई ४२ दिनसम्म हिरासतमा राखेर मुद्दा दर्ता गरियो । विशेष अदालतबाट धरौटीमा मुक्त भए पनि आफूमाथि भएको बदनामीको त्रासले उनलाई लेखटिरह्यो । घर आएको एक साता नपुग्दै ६ असोज ०७६ मा आफ्नै निवासमा पासो लगाई आत्महत्या गरे । 

त्यो दिन रामहरि घरमै थिए । छोरा र छोरी बिहानै स्कुल गएका थिए । रिता बजार गर्न काठमाडौं आइन् । करिब साढे तीन बजे घरको ढोका खोलेकी मात्रै के थिइन् रामहरि भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परे । केहीबेरमै टोलछिमेकी भेला भए । घटनास्थलमा प्रहरी आइपुग्यो । पोस्टमार्टम रिपोर्टपछि रामहरिको सद्गद् भयो । 

रिताका अनुसार सदाझैँ रामहरिका साथीहरूले मालपोतका कर्मचारीसँगै खाजा खाएका थिए । साथीहरूमध्येबाटै एकले खाजाको पैसा तिर्न भनेर हजार रुपैयाँ झिके । तिर्न भनेर रामहरिको हातमा थमाए । रामहरिले लगेर खाजाघरको काउन्टरमा तिरे, सरासर कार्यालय गए । अख्तियारले स्टिङ अपरेसनका लागि भन्दै सोही ठाउँमा सिसिक्यामेरा फिट गरेको थियो ।

पछि अख्तियारको कर्मचारीले सिटिटिभी फुटेज अध्ययन गरे । यस क्रममा रामहरिले हजार रुपैयाँ लिएको देखियो । यो रकम घुस भएको दाबी गर्दै अख्तियारका कर्मचारीले रामहरिसहित १२ जनालाई पक्राउ गरे । मुद्दा दर्ता गर्ने क्रममा उनीसँगै पक्राउ परेका १० जना छुटे । रामहरि र कृष्णप्रसाद घिमिरेलाई भने घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो । हिरासत बसेको ४१ दिनपछि थुनछेक बहस भयो । सोही क्रममा हजार रुपैयाँ धरौटी तिरेर रामहरि र कृष्णप्रसाद हिरासतमुक्त भएका थिए । 

वास्तवमा घुसको आरोपमा भएको दुव्र्यवहारले रामहरि डिप्रेसनमा गएका थिए भन्ने रिताको भनाइ छ । ‘अख्तियारबाट छुटेर आएपछि उहाँ एक्लै बस्न रुचाउनुहुन्थ्यो । सोध्यो सबै ठीक छ भन्नुहुन्थ्यो । तर, सधैँ टर्चर भयो, टर्चर भयो भन्नुहुन्थ्यो,’ रिता सम्झन्छिन्, ‘उहाँमा डिप्रेसनजस्तो देखियो । औषधि पनि खुवाउन थाल्यौँ । पिर नगर्नुस्, सबै ठीक हुन्छ भनेर सम्झायौँ । तर, हामी असफल भयौँ ।’

वर्षदिनपछि अर्थात् ३० असारमा विशेष अदालतले फैसला दियोे, ‘हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारको स्टिङ अपरेसनमा पक्राउ परेका रामहरि निर्दोष छन् ।’ सफाइ पाउँदा अभियोग लागेका व्यक्ति र उनका परिवारमा उल्लास छाउँछ । तर, रामहरिका परिवारलाई अदालतको यो फैसलाले हर्षित बनाउन सकेन । रामहरिकी आमा ७० वर्षकी भइन् । छोरी कक्षा १२ मा र छोरा कक्षा १० मा पढ्छन् । उनीहरूलाई धेरै कानुनी दाउपेच थाहा छैन ।

दाउपेच जानेको समाज पनि चकित किन छ भने एक हजार घुस लिएको आरोपमा अख्तियारले १२ जनालाई पक्राउ गरेको थियो । घुस लिनु दण्डनीय कसुर हो । तर, एक हजार घुस खाएको आरोपमा १२ जनालाई पक्राउ गरेर अख्तियारले साँच्चै अनौठो नजिर बनाएको थियो । तर, मुद्दा दर्ता गर्दा दुईलाई मात्र अभियुक्त बनाइयो । अदालतले खासमा त्यो घुस नै थिएन भनेर प्रमाणित गरिदियो । अख्तियारले स्थापना गरेको यो उदाहरणले नेपालमा भ्रष्टाचारविरुद्धको लडाइँको निसानामा कस्ता मान्छे छन् र कस्ता मान्छे उम्किरहेका छन् भन्ने प्रस्ट पारेको छ ।