Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २७ शनिबार २०:४५:००
Read Time : > 1 मिनेट
समाचार

प्रहरी हिरासतमा युवकको मृत्युप्रति मानव अधिकार आयोगको चासो, छानबिन समिति गठन

Read Time : > 1 मिनेट
२०७७ भदौ २७ शनिबार २०:४५:००

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक युवकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । आयोगको टोलीले शनिबार थुनुवा कक्षको निरीक्षण गर्दै घटनाबारे जिल्ला प्रहरी प्रमुखसँग जानकारी लिएको छ ।

चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– ५ का १९ वर्षीय रोशन विकको शव शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको थियो । मोबाइल चोरीको आरोपमा उनलाई प्रहरीले २२ भदौमा पक्राउ गरेको थियो । प्रहरी कार्यालयले विकले शौचालयमा झुन्डिएर आत्महत्या गरेको दाबी गर्दै आएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेको बताए ।

मृतकका आफन्तले भने उनको मृत्यु प्रहरीको कुटपिटबाट भएको आरोप लगाएका छन् । मुख र नाकमा चोटपटक देखिनुका साथै रगत आएकोले कुटपिटबाट मृत्यु भएको आफन्तको भनाइ छ । मृतकका बाबु टेक विकले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन 
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा चार सदस्यीय समिति गठन भएको छ । प्रदेश प्रहरी कार्यालयले समितिलाई सात दिनको म्याद दिइएको जनाएको छ । समिति गठन भएपछि आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख झंकर रावलले घटनाको विस्तृत अध्ययन गरिने बताए । प्रहरी हिरासतमा रहेका मान्छेको मृत्यु हुनुले हिरासतको सुरक्षा बन्दोबस्त कमजोर रहेको देखिएको उनले बताएका छन् । रावल नेतृत्वको आयोगको टोलीले मृतक विकसँगै थुनामा रहेका अर्का व्यक्तिसँग पनि घटनाबारे बुझेको छ । घटनाको गम्भीरताका साथ अनुसन्धानका लागि आयोगको टोलीले प्रहरीको ध्यानाकर्षण गराएको छ । 

प्रहरी हिरासतमा युवकको मृत्यु भएको घटना बाहिरिएपछि आफन्तले शुक्रबार दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।