मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ २७ शनिबार १८:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा विमानस्थल निर्माण समयमै पूरा हुन्छ : मन्त्री भट्टराई

Read Time : > 1 मिनेट
२०७७ भदौ २७ शनिबार १८:११:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् । शनिबार निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये समयमै निर्माण सम्पन्न भएर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नमुना बन्ने उनले विश्वास व्यक्त गरे । उनले विमानस्थल निरीक्षणमा करिब दुई घन्टा बिताएका थिए । ‘कोरोना महामारी नआएको भए ६ महिनाअघि नै सम्पन्न हुने थियो,’ मन्त्री भट्टराईले भने, ‘तैपनि निर्धारित समयमै सक्ने गरी काम भएको रहेछ । यो विमानस्थल सन् २०२१ को जुनभित्रै सम्पन्न हुन्छ ।’ उनले आयोजनालाई आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताए । ‘चिनियाँ कामदार ल्याउनका लागि आयोजना आफैँ लागेको छ, थप सहयोग आवश्यक गरे सरकार तयार छ,’ भट्टराईले भने । सो क्रममा उनले अब ल्यान्डफिल्ड साइटलाई अन्यत्र सार्न पोखरा महानगरसँग समन्वय गरिने बताए । शुक्रबार भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनुगमन गरेका मन्त्री भट्टराई शनिबार दिउँसो पोखरा आएका हुन् । 

६४ प्रतिशत निर्माण पूरा
निरीक्षणमा पुगेका मन्त्री भट्टराईलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका कामबारे जानकारी गराएका थिए । मुनकर्मीका अनुसार निर्माणको ६४ प्रतिशत काम पूरा भएको छ । भौतिक निर्माण करिब सकिएको र प्राविधिक काम धेरै हुने भएकाले प्राविधिक कामका लागि चीनबाट कामदार ल्याउनुपर्ने उनको भनाइ छ । ठेकेदार कम्पनीले थप कामदार ल्याउन आग्रह गरेको र सोहीअनुरूप आवश्यक प्रक्रियाका लागि मन्त्रालयमा जानकारी गराएको उनले बताए । 

विमानस्थल निर्माण भएर सञ्चालनमा ल्याउन रिट्ठेपानीको डाँडा २५ मिटर काट्नुपर्छ । केही निजी जग्गा काटान सुरु भए पनि सरकारी वनको जमिन भएको स्थलमा कटानको थालनी भएकै छैन । यद्यपि, त्यसका लागि रेखांकनलगायतका काम भएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । विमानस्थलमा अहिले एक सय ८० जना चिनियाँ कामदार र ९० जना नेपालीे निरन्तर काम गरिरहेका छन् । थप दुईसय जना प्राविधिक कामदार चीनबाट ल्याइन लागेको उनले बताए ।