मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २७ शनिबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेरणाले दाइजोमा पाएको एक अर्ब ७५ करोडको घरजग्गा खाली गर्न मागिन् अझै एक वर्ष 

Read Time : > 2 मिनेट
२०७७ भदौ २७ शनिबार १८:००:००

पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले ताहाचलस्थित नेपाल ट्रस्टको घरजग्गा खाली गर्न आनाकानी गरेकी छिन् । तत्कालीन राजा ज्ञानेन्द्रले ‘श्री ५ महाराजाधिराज’को नाममा भएको घरजग्गा छोरीलाई दाइजो दिएका थिए । तर, अनेक कानुनी झमेलापछि घरजग्गा नेपाल ट्रस्टको नाममा आएको छ । 

खाली गर्नका लागि ट्रस्टको कार्यालयले दिएको ६ महिनाको अवधि सकिएपछि फेरि उनले समय मागेकी हुन् । थप एक वर्ष प्रयोग गर्न दिन उनले निवेदन दिएकी छिन् । तर, यसपटक ट्रस्टको कार्यालय उनलाई म्याद थप नगर्ने पक्षमा छ । ‘थप एक वर्ष बस्न दिन दुई साताअघि प्रेरणाको निवेदन आएको छ,’ ट्रस्टको कार्यालयका सहसचिव बाबुकाजी श्रेष्ठले भने, ‘तर, हामी अब फेरि म्याद दिन सक्दैनौँ, घर र जग्गा खाली गराउने प्रक्रियामा लाग्दछौँ ।’ सो घरजग्गाको हालको बजार मूल्य करिब एक अर्ब ७५ करोडको रहेको ट्रस्टका कर्मचारीहरू बताउँछन् ।

उनी बस्दै आएको ताहाचलस्थित घरजग्गा ट्रस्टको हुने अन्तिम फैसला सर्वाेच्च अदालतले गरिसकेको छ । सर्वाेच्चको फैसलापछि ट्रस्टको कार्यालयले घरजग्गा खाली गर्न पटकपटक ताकेता गरिसकेको छ । गत, चैतमा प्रेरणाकै निवेदनका आधारमा उनलाई ६ महिनाको अवधि दिएकोमा त्यो अवधि पनि सकिएको छ । 

गत २४ माघमा सर्वाेच्च अदालतले सो घरजग्गा नेपाल ट्रस्टकै हुने फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंहको संवैधानिक इजलासले यस्तो फैसला गरेको थियो । सो फैसलाबाट घरजग्गा खाली गराउने प्रक्रिया सुरु भएको हो । 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले २१ पुस ०७३ मै सो जग्गा नेपाल ट्रस्टको हुने अन्तिम फैसला गरेको थियो । तर, प्रेरणाले ट्रस्ट नै खारेज गर्नुपर्ने माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन् । संवैधानिक इजलासले उनको रिट माघमा नै खारेज गरिसकेको छ । अब यो विषयमा मुद्दा–मामिला गर्न मिल्ने छैन किनकि सर्वोच्चको फैसलामाथि संवैधानिक इजलासमा एकपटक मात्रै पुनरावलोकन हुने व्यवस्था छ । 

मुद्दाको फैसला भएको तीन वर्ष हुँदा पनि प्रेरणा बस्दै आएको घरजग्गा हालसम्म ट्रस्टको कार्यालयमातहत आउन सकेको छैन । गत ४ माघमा ट्रस्टको कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । त्यसविरुद्ध प्रेरणाले १० माघमा निषेधाज्ञासम्बन्धी रिट दिएकी थिइन् । सर्वाेच्चले सो रिट पनि खारेज गरिदिएको छ । 

प्रेरणाले आफूले सो घरजग्गा दाइजोबापत भएकाले ट्रस्टको नाममा नजाने दाबी गरेकी थिइन् । राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न ०६४ मा नेपाल ट्रस्ट स्थापना भएको थियो । ट्रस्टले दाइजोमा दिइएको ताहाचलको १५ रोपनी १ आना जग्गा र घर पनि ट्रस्टको नाममा ल्याएको थियो । 

सो घरजग्गा राज्यको नाममा आएको ०६४ मा हो । त्यसको सात वर्षपछि ०७१ मा उनले सर्वोच्चमा मुद्दा हालेकी थिइन् । ४ जेठ ०६२ मा जग्गा आफ्नो नाममा नामसारी भएको उनको दाबी थियो । ०६४ मा मात्रै कानुन आएको, तर त्यसअघि नै आफ्नो नाममा जग्गा आएकाले कानुन लागू नहुने प्रेरणाको जिकिर थियो । ६ असार ०७२ मा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भन्यो, ‘पहिले नै दाइजोमा दिइसकेको सम्पत्ति पछि बनेको कानुनअनुसार राज्यको नाममा ल्याउने मन्त्रिपरिषद्को निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकोले फिर्ता गर्नू ।’ यसरी दाइजोलाई अदालतले अनुमोदन गरेको थियो । तर, त्यो फैसला विवादमा पऱ्याे । 

सर्वोच्चको फैसलाविरुद्ध ट्रस्टले सर्वोच्चमा पुनरावलोकनका लागि आवेदन दियो । न्यायाधीशत्रय विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले पुनरावलोकन हुने ठहर गऱ्याे । २१ पुस ०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले भन्यो, ‘सो सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा दर्ता नै नभएकाले उनले दाइजो दिन मिल्दैन ।’ यो फैसलाले सम्पत्ति ट्रस्टमा फर्कियो । त्यसपछि अन्तिम प्रयास गर्दै प्रेरणाले नेपाल ट्रस्ट नै खारेज गर्ने मागसहित ०७५ पुसमा संवैधानिक इजलासमा रिट दायर गरिन् । जसलाई संवैधानिक इजलासले खारेज गरिसकेको छ । 

अनेक बहाना गर्दै उनले घरजग्गा छाड्न नमानेको सहसचिव श्रेष्ठ बताउँछन् । अब अन्तिम ताकेता गर्ने र खाली नगरे बल प्रयोग गर्ने ट्रस्टको कार्यालयको तयारी छ ।