मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ माघ २० आइतबार १०:३७:००
Read Time : < 1 मिनेट
विश्व

चीन–अमेरिका व्यापार वार्तामा प्रगति

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ २० आइतबार १०:३७:००

वासिंटनमा यसै साता चीन र अमेरिकाबीच सम्पन्न व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले बताएका छन् । दुई देशबीच देखिएको व्यापार विवाद समाधान गर्न चीन र अमेरिकी उच्च प्रतिनिधिमण्डलबीच बुधबार र बिहीबार छलफल भएको थियो । 

चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ताटोलीले अमेरिकी समूहसँग छलफल गरेको थियो । वार्ता सकारात्मक एवम् महत्वपूर्ण बनेको छ भने अर्को चरणको वार्ताका लागि तालिका, कार्यदिशा र परामर्शका लागि दुवै समूहले सहमति जनाएका छन् । वार्ता सकारात्मक दिशामा अगाडि बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ टोलीनेता तथा उप–प्रधानमन्त्री लिउसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए । 

दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्सआयर्समा आयोजित भेटमा व्यापार विवादलाई समाधान गर्न सहमति जनाएका थिए । दुई देशका नेताले दुवै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्झौता गरी व्यापार विवादलाई टुंग्याउने सहमति जनाएका थिए ।

दुई दिन लामो वार्ताका दौरान अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, सेवाक्षेत्र, कृषि र कार्यसम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही विषयमा पनि छलफल भएको छ । 

दुवै समूह द्विपक्षीय व्यापारलाई थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएका छन् । चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, ऊर्जा, निर्माण तथा अन्य सेवामूलक सामानमा विस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने  विश्वास लिएको छ ।