मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जेनेभा एजेन्सी
२०७७ भदौ २७ शनिबार ०९:०४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दर्शकसहित युरोपमा  फुटबल सुरु हुन गाह्रो

Read Time : > 2 मिनेट
जेनेभा एजेन्सी
२०७७ भदौ २७ शनिबार ०९:०४:००

युरोपियन फुटबलको नयाँ सिजनको मिति सार्वजनिक भएको छैन । युरोपका पाँचै शक्तिशाली लिगमा आबद्ध क्लबमा स्टार खेलाडी आउने र जाने चलिरहेको छ । इंग्ल्यान्ड, स्पेन, जर्मनी, इटाली र फ्रान्सेली क्लबले सिजनको सुरुअघि नै खेलाडीमाथि लगानी गरिसकेका छन् । उनीहरू प्रतिफल प्राप्तिको प्रतीक्षामा छन् । तर, युरोपियन राष्ट्रहरूले यसपटकको फुटबल सिजनमा दर्शकको आगमन हुन्छ वा हुँदैन भन्ने प्रश्न राखेका छन् ? कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच युरोपियन फुटबलको २०१९/२० को सिजन बन्द रंगशालाभित्र समाप्त भयो । 

घरेलु प्रिमियर लिगदेखि युरोपियन च्याम्पियन्स लिगसम्मको प्रतियोगिता बन्द रंगशालामै भए । अर्थात् ती सबै प्रतियोतिगा दर्शकरहित थिए । करोडौँ डलर लगानी गरेका क्लबहरूले नयाँ सिजनमा खेलाडी उतार्न हतारमा छन् । कोरोना संक्रमित भएकाले धेरै स्टार खेलाडी आइसोलेसनमा बसेका छन् । एकपछि अर्को खेल स्थगित भइरहेका छन् । जोखिमले नै खेल स्थल तटस्थ भूमिमा गर्नुपरेको छ । 

कोभिड–१९ ले आक्रान्त बनाएको फुटबल माहोलबीच फुटबल सुचारु गर्न मुस्किल छ । फेरि विनादर्शक सुरु भए उनीहरूको लगानी खेर जानेछ । रंगशाला भरिभराउ हुँदा मात्र क्लबको आम्दानी हुन्छ । क्लबको मुख्य आम्दानी स्रोत नै रंगशालामा आउने दर्शक हो । जति धेरै रंगशाला भरिन्छ, क्लबले त्यति नै टिकटबाट आम्दानी गर्छ । कोरोना भाइरस पूर्णतया निर्मूल नहुँदासम्म रंगशालामा दर्शकको उपस्थित हुने आशा न्यून छ । 

इंग्ल्यान्ड र स्पेनले नयाँ सिजनको तयारी गरेका छन् । आठ महिनासम्म चल्ने घरेलु लिग कसरी धान्ने भन्ने प्रश्न उनीहरूको छ । अधिकांश प्रिमियर लिगमा ३८ खेल हुन्छन् । फेरि अर्को समस्या भनेको युइएफएले सन् २०२१ मा युरोकपलगायत अन्य ठूला प्रतियोगिता गर्ने घोषणा गरेको छ । २०२० मा स्थगित भएका प्रतियोतिगा एक वर्षपछि हुने युइएफएले जनाएको छ । 

त्यही तालिकाअनुसार युरोपियन प्रिमियर लिग निर्धारित समयमा हुन कठिन देखिएको हो । २०१९–२० को सिजनमा क्लबहरूले आर्थिक भार बोके । अर्थतन्त्र कमजोर भएपछि दिग्गज क्लबले समेत खेलाडीहरूको तलब कटौती गर्न बाध्य भए । नयाँ सिजनमा फुटबलको अर्थतन्त्र बिग्रने गरी सुचारु गर्ने पक्षमा क्लबहरू छैनन् । 

‘उनीहरूले बुझेका छन्, समस्या समाधान भएको छैन,’ युरोपिन लिगका म्यानेजिङ डाइरेक्टर जाको स्वार्टले भने, ‘प्रत्येक दिन समस्याविरुद्ध लड्नुपर्छ, अहिलेको अवस्था यही नै हो ।’ कोभिड–१९ कहिले सुधार आउने तथा मानिस सामान्य जीवनमा फर्कने भन्न नसकिएको उनले बताए । भन्छन्, ‘अहिलेको ठूलो प्रश्न नै हामी कहिले सामान्य जीवनमा फर्कन्छौँ, अब साधारण जीवनको अर्थ पनि बिर्सन लागेका छौँ,’ अवस्थाप्रति चिन्तित हुँदै स्वार्टले भने ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी केलियन एम्बाप्पे तथा नेमार जुनियर कोरोना संक्रमित भएका छन् । यसले फ्रेन्च लिग वान केही समय पछि धकेलिएको छ । खेलाडी संक्रमित हुने क्रम नरोकिँदा अन्य लिगको हाल पनि यस्तै छ । ठूला प्रिमियर लिगबाहेक अन्य राष्ट्रका घरेलु फुटबल प्रतियोगिता तटस्थ भूमिमा खेलाउन सकिने स्वार्टले बताए । ‘हामीले केही सहरमा खेल गराउने योजना बनाएका छौँ, जहाँ अहिले पनि लकडाउन चलिरहेको छ,’ उनले भने, ‘कतिसम्म दर्शकविना खेल गराउने भन्ने हो ।’ 

फुटबल मात्र नभएर नै सिंगो राष्ट्र नै आर्थिक संकटमा परेको उनको भनाइ छ । भन्छन्, ‘आजको यो अवस्था फुटबलमा होइन, सिंगो राष्ट्रको अर्थतन्त्र नै धराशयी बनेको छ ।’ युरोपियन क्लबहरूले २०२१ को सिजनमा चार अर्ब युरो आम्दानी गर्ने अपेक्षा राखेको छ । पूरै सिजन खेल प्रसारण अधिकारबाट करोडौँ डलर आम्दानी गर्ने उनीहरूको अपेक्षा छ । यदि हालै सम्पन्न भएको सिजनजस्तै भएमा उनीहरूले आशा गरेअनुसार आम्दानी गर्न नसिकने अवस्था छ ।

तर, कोभिड–१९ बीच पनि युरोपले फुटबल कल्चर नबिर्सिएको युरोपिन लिगका म्यानेजिङ डाइरेक्टर स्वार्टले मूल्यांकन गरेका छन् । ‘कोभिड–१९ ले संसार आक्रान्त बनाएका बेलामै युरोपले आफ्नो फुटबल संस्कृति बिर्सेन र यसलाई बचायो, जस्तो परस्थितिमा पनि युरोपले फुटबलको माध्यमबाट लड्न सिकायो, यो कोभिड–१९ विरुद्धको एउटा उदाहरणीय पक्ष हो,’ स्वार्टले भने, ‘फुटबलले नराम्रो शक्तिलाई हराउँछ भन्ने विश्वास दिलाएको छ ।’