१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विदेशी पर्यटक प्रतिबन्धका कारण ठप्प पर्यटकीय गन्तव्य ठमेल । तस्बिर: ज्ञानेन्द्र कार्की
केदार दाहाल काठमाडौं
२०७७ भदौ २७ शनिबार ०८:२९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्वका ४० प्रतिशत गन्तव्य  पर्यटकका लागि खुला, नेपालमा कहिले ?

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ भदौ २७ शनिबार ०८:२९:००

कोभिड–१९ को संक्रमणसँगै अधिकांश देशहरूले लकडाउन गर्दै विदेशी पर्यटकलाई बन्द गरेका थिए । तर, १ सेप्टेम्बरसम्ममा ४० प्रतिशत गन्तव्यहरू पर्यटकका लागि खुला गरिएको विश्व पर्यटन संगठनले जनाएको छ । युरोपका ८० प्रतिशत गन्तव्य खुला भइरहँदा अफ्रिका र मध्यपूर्वमा अधिकांश देशमा प्रतिबन्ध जारी छ ।

नेपालको पर्यटन क्षेत्रमा आन्तरिक मात्र नभएर विदेशी पर्यटकलाई पनि खुला गर्नुपर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । अब गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पूरा गरी नेपाल आउन अनुमति दिने प्रस्ताव पर्यटनमन्त्री योगेश भट्टराईले सिसिएमसी बैठकमा राखेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ । अब पर्यटकलाई भिœयाएर सहजतातिर जानुपर्छ ।’ अन्तर्राष्ट्रिय उडानमा समेत खुकुलो बनाउने गरी प्रस्ताव पठाएको उनले बताएका छन् । ६ महिनाभन्दा बढी बन्द पर्यटन क्षेत्रबाट हालसम्म १ खर्ब ५० अर्ब आम्दानी गुमेको अनुमान गरिएको छ । 

गत १७ भदौदेखि नियमित उडान खुले तापनि पर्यटक र गैरआवासीय नेपालीलाई आउन प्रतिबन्ध जारी छ । पिसिआर रिपोर्ट लिएर आउने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई खुला गरेर अर्थतन्त्र जोगाउने बाटोमा लाग्नुको विकल्प नभएको भन्दै सरोकारवाला निकायहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

कोभिड–१९ को संक्रमणका बीच विश्वभरका पर्यटन गन्तव्यहरू पुनः सुचारु हुन थालेका छन् । संक्रमणसँगै विश्व नै प्रायः ठप्प रहेकोमा अहिले ४० प्रतिशत देशहरूले अन्तर्राष्ट्रिय पर्यटकलाई खुला गरिसकेका छन् । अन्य देशहरू पनि खुलाउने तरखरमा लागेको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)ले जनाएको छ । संगठनले जुलाई ३० सम्ममा ८७ देशले पर्यटन गन्तव्य खुला गरेको जनाएको छ । 

संगठनका अनुसार कोभिड–१९ को संक्रमणसँगै गत १५ जुनसम्म ३ प्रतिशत गन्तव्य मात्रै खुला रहेको थियो । त्यस्तै, १९ जुलाईसम्म २२ प्रतिशत गन्तव्यहरू खुला भइसकेका थिए । संगठनका अनुसार १ सेप्टेम्बरसम्म आइपुग्दा ४० प्रतिशत गन्तव्यहरू खुला भएका छन् । अहिले पनि १ सय १५ देशले अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेर पर्यटनमाथि प्रतिबन्ध जारी राखेका छन् । जुन जम्मा गन्तव्यको ५३ प्रतिशत हो । संगठनका अनुसार ७ प्रतिशत गन्तव्यहरू भने केही खुकुलो हुँदै गएका छन् ।

 जिम्मेवार भएर पुनः सुरु गर्न सम्भव
गन्तव्यहरूको प्रतिबन्ध कम गर्न अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण रहेको युएनडब्लुटिओका महासचिव जुराब पोलिकासिविलीले बताए । यसरी नै विश्व पर्यटनले जनताको विश्वास र अत्यावश्यक आधारशिला प्राप्त गर्न सक्ने उनको भनाइ छ । महासचिव पोलिकासिविलीले भने, ‘विश्वले अहिले सामना गरिरहेका नयाँ वास्तविकतामा अनुकूल हुनका लागि मिलेर काम गरिरहेका छौँ ।’ 

युएनडब्लुटिओको रिपोर्टअनुसार पर्यटनमा उच्च निर्भरता भएका गन्तव्यहरूले यात्रामा प्रतिबन्ध सहज पार्ने सम्भावना बढी छ । हालसालै प्रतिबन्धलाई कम गरेका ८७ वटा गन्तव्यहरूमध्ये २० साना टापु विकास राज्यहरू हुन्, जसमध्ये धेरै पर्यटनमा निर्भर रहेका छन् । रोजगार, आर्थिक वृद्धि र विकासको केन्द्रीय स्तम्भ प्रतिवेदनअनुसार प्रतिबन्ध कम भएका ती गन्तव्य स्थानहरूमा करिब आधा युरोपमा रहेका छन् । जसले पर्यटन पुनः सुरु गर्न यस क्षेत्रको अग्रणी भूमिका पुष्टि गरेको समेत उल्लेख गरिएको छ । 

धेरै गन्तव्यहरू अझै पनि दीर्घकालीन लकडाउनमा

अझै पनि १ सय १५ गन्तव्यको अन्तर्राष्ट्रिय पर्यटनमा पूर्ण प्रतिबन्ध छ । रिपोर्टका अनुसार अधिकांश देशहरूले १२ हप्ताभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय पर्यटन पूर्ण रूपमा बन्द जारी राखेका छन् । कोभिड–१९ का कारण विश्वको पर्यटन क्षेत्रले हालसम्म ३ सय २० अर्ब डलरभन्दा बढी आम्दानी गुमाइसकेको छ । जुन सन् २००९ को भन्दा तीन गुणा बढी भएको समेत युएनडब्लुटिओले जनाएको छ । 

कहाँ, कति बन्द ? 
हालसम्म सबैभन्दा बढी प्रतिबन्ध अफ्रिकन मुलुकमा रहेको छ । जसमा ७० प्रतिशत क्षेत्रमा अझै पनि प्रतिबन्ध जारी राखिएको छ । त्यसपछि एसियाली मुलुकहरूमा ६३ प्रतिशत गन्तव्य अझै बन्द जारी राखिएको छ । अमेरिकन देशहरूमा ५५ प्रतिशत गन्तव्यमा अझै प्रतिबन्ध जारी छ । सबैभन्दा बढी खुला भने युरोपले गरेको छ । अहिले युुरोपमा २० प्रतिशत गन्तव्यमा मात्रै प्रतिबन्ध लगाइएको छ । बाँकी ८० प्रतिशत गन्तव्य खुला गरिएको छ । त्यस्तै, मिडिलइस्ट गन्तव्यमा पनि ७७ प्रतिशत गन्तव्यमा प्रतिबन्ध जारी राखिएको छ ।