मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २७ शनिबार ०६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देशभरका नर्सहरू आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २७ शनिबार ०६:३८:००

कोरोना महामारीमा खटिएका नर्समाथि चरम शोषण भएको गुनासो

स्वास्थ्य क्षेत्रमा न्यायोचित व्यवस्थापन नभएको भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । कोभिड महामारीको अग्रपंक्तिमा खटिएका नर्स चरम शोषणमा परेको जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । 

पटक–पटकको दबाबबाट पनि सम्बन्धित निकायले ध्यान नदिएपछि उनीहरूले शुक्रबार नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघको कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन् । ‘स्वास्थ्य मन्त्रालयमा हामी नर्सहरूको न्यायोचित व्यवस्थापन गर्ने महाशाखा त छैन नै सिंगो सीपयुक्त नर्स जनशक्तिलाई चिकित्सा शाखाअन्तर्गत राखी हेप्ने, चेप्ने, निमोठ्ने र चरम विभेद तथा शोषण गरिएको छ,’ नर्सिङ विभागमा भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेकी संयोजक ज्योति रानाभाटले भनिन् ।

सरकारी प्रतिष्ठान, गैरसरकारी तथा निजी संस्थाहरूमा समेत नर्सहरू चरम शोषणमा परेको उनीहरूको गुनासो छ । भ्रष्टाचारविरुद्धको अभियानकी अर्की अभियन्ता जिता बरालका अनुसार ९९ प्रतिशत महिलाको सहभागिता भएको नर्सिङ पेसामा नर्सिङ शिक्षा र सेवा दुवै क्षेत्रमा नर्सहरू पीडित छन् । ‘नर्सहरू विक्षिप्त छन्, त्यत्तिकै मात्रामा असुरक्षित पनि । यस्तो अवस्था कहिलेसम्म रहने ? यसको जिम्मेवारी नेपाल नर्सिङ संघले लिनुपर्छ,’ बरालले भनिन् । 

सम्पूर्ण नर्सको समस्यालाई उपयुक्त समयमा सम्बोधन नगर्दा यो भयावह समय आएको उनीहरूको भनाइ छ । संयोजक रानाभाटले नर्सहरूको अन्यायमा केही नतिजाउन्मुख कार्यहरू नदेखिएकाले महामारीको समयमा पनि आन्दोलनमा आउन बाध्य भएको बताइन् । ‘हाम्रो मागमा यथाशीघ्र सम्बन्धित निकायले नतिजासहित जवाफ नदिएको खण्डमा नेपाल नर्सिङ संघको विरुद्ध चर्को विरोध गर्नेछौँ,’ उनले भनिन् ।