१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १९:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ओली–प्रचण्डको प्रतिवेदनमाथि भुसालको टिप्पणी : महाधिवेशनसम्म दलाल पुँजीवादले हाइज्याक गर्ने खतरा 

ब्रेन ट्यूमरको बिरामीलाई टाउको दुखेको तेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १९:३८:००

नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनले दलाल पुँजीवादसँग आत्मसमर्पण गर्न खोजेको टिप्पणी गरेका छन् । उनले प्रतिवेदन परिमार्जन गरेर दलाल पुँजीवादसँगको संघर्ष नचर्काए पार्टी महाधिवेशनसम्म समाजवाद अपहरणमा पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकमा भाग लिँदै भुसालले दलाल पुजीवादसँगको प्रमुख अन्तरविरोधलाई नजरअन्दाज गर्दै अध्यक्षहरूको प्रतिवेदनले ब्रेनट्युमरको बिरामीलाई टाउको दुख्दा सञ्चो बनाउने नुरानी तेल धस्ने कोसिस गरेको टिप्पणी गरे । ‘यो प्रस्ताव ब्रेनट्युमरका बिरामीलाई निको बनाउन नुरानी तेल लाएजस्तै हो । साना छँदा टाउको दुख्यो, मर्क्याे, नाक–कान दुख्दा गाउँघरतिर नुरानी तेल लगाइन्थ्यो, अलिअलि गनाउँथ्यो । अहिले ब्रेनट्युमरको बिरामीलाई त्यही तेल लगाएर सञ्चो बनाउन खोजिँदै छ,’ भुसालको टिप्पणी उदृत गर्दै एक नेताले भने । भुसालले दोस्रो विश्वयुद्धपछि थुप्रै मुलुकमा जनवादी क्रान्ति भए पनि दलाल पुँजीवादसँगको आत्मसमर्पणकै कारण समाप्त भएको दृष्टान्त प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तो खतरा देखिएको औँल्याएका थिए । ‘दोस्रो विश्वयुद्धपछि संसारका धेरै देशमा जनवादी क्रान्ति भयो, तर दलाल पुँजीवादसँग आत्मसमर्पण गर्दै वर्ग रूपान्तरण हुँदै नवधनाढ्य वर्गमा परिणत भएर, ती सबैजसो देशमा क्रान्ति पतन भो,’ भुसालको भनाइ थियो, ‘हामीले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने भन्दै आएका छौँ, तर यो  प्रतिवेदनमा दलाल पुँजीवादको कुरा उल्लेखै नगरी ६ ठाउँमा समाजवाद र यत्रतत्र समृद्धिको कुरा मात्र गरेका छौँ । त्यसैले दलाल पुँजीवादलाई नजरअन्दाज गरेर, नदेखेझैँ गरेर समाजवाद ल्याउने कुरा गर्नु त्यही नुरानी तेल धसेजस्तै हो ।’

उनले वर्गउत्थानका कारण दलाल पुँजीवादसँग ऊसँगको प्रमुख अन्तरविरोधको विषयलाई डराएर नियोजित रूपमै प्रतिवेदनमा चर्चासमेत नगरेको आरोपसमेत लगाएका थिए । ‘प्रतिवेदन नजानेर लेखिएन भन्न त मिलेन । तर, लेख्दा हामी किन डराउँछौँ भने हाम्रै वर्गउत्थान भइसकेको छ, प्रश्न उठ्ने सम्भावना छ । तर, ट्युमर फाल्नुको सट्टा टाउको दुखेको मात्रै कुरा गरेर जाने हो भने महाधिवेशनसम्म हाम्रा दुःख बल्झिरहनेछ, टाउको दुखाइरहनेछ,’ भुसालको चेतावनी उल्लेख गर्दै अर्का स्थायी समिति सदस्यले भने, ‘यत्तिकै महाधिवेशनमा गयौँ भने हाम्रो समाजवाद, हाम्रो आदर्श समृद्धि सबैलाई दलाल पुँजीवादले हाइज्याक गर्छ । त्यसकारण प्रतिवेदनले मूल समस्या समाधान गर्दैन भन्नेमा सचेत हौँ ।’