मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १४:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको चेतावनी : फुटपाथ र ठेलागाडा चलाउन दिए महामारी नियन्त्रणबाहिर जान्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १४:४२:००

काठमाडौं महानगरपालिकाले ‘फुटपाथ र ठेलागाडा’मा गरिने व्यापार–व्यवसायलाई प्रतिबन्ध लगाउन प्रशासनको ध्यानाकर्षण गराएको छ । 

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटेर महानगरपालिकाले फुटपाथ र ठेलागाडा हटाउने नीतिगत निर्णय गरेर अघि बढिसकेको भन्दै निषेधाज्ञा अवधिमा समेत त्यस्ता पसलहरू सञ्चालन हुन नपाउने व्यवस्था गर्न ध्यानाकर्षण गराइन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ भदौमा जारी गरेको आदेशमा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ भनिएको छ । 

महानगरका वडाध्यक्षहरूसहित पुगेकी उपप्रमुख खड्गीले भनिन्, ‘यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गरियोस्, महानगरले फुटपाथ र ठेलाको व्यापारमुक्त गर्ने नीति पारित गरिसकेको छ ।’ 

उपप्रमुखसहित वडाध्यक्षहरूले निषेधाज्ञामा प्रशासनले जारी गरेको आदेश महानगरकोे नीतिविपरीत रहेको भन्दै सच्याउन आग्रह गरेका छन् ।  

‘सहरी सुन्दरतालाई ध्यान दिएर महानगरले त्यस्तो व्यवसाय बन्द गराएको छ, अहिले त झन् संक्रमण पनि फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन भइरहेको छ,’ उपप्रमुख खड्गीले भनिन्, ‘यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ ।’

ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रशासनले जारी गरेको आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने उद्देश्यले जारी नगरिएको स्पष्ट पारे । 

उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा छलफल गरेर निर्णय लिने बताए । प्रशासनले फुटपाथ पसल र ठेला सञ्चालन गर्न पाइने भने पनि कतिपय वडाहरूले भने सूचना निकालेरै त्यस्तो सेवा रोकिसकेका छन् । 

वडाध्यक्षहरूले प्रशासन र स्थानीय सरकार सँगसँगै हिँड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।