मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिलबहादुर चौधरी टीकापुर
२०७७ भदौ २६ शुक्रबार ०८:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धानको उत्पादन बढाउन सिँचाइमा आलोपालो नियम

Read Time : < 1 मिनेट
दिलबहादुर चौधरी टीकापुर
२०७७ भदौ २६ शुक्रबार ०८:५३:००

कोरोनाको महामारीले खाद्य संकट आउन सक्ने निष्कर्ष निकाल्दै टीकापुर क्षेत्रका किसान आफैँले खाद्य उत्पादन बढाउन धानखेतमा पानीको व्यवस्थित रूपमा प्रयोग गर्न थालेका छन् । उनीहरूले धानको उत्पादन बढाउन कुलोमा उपलब्ध पानी सबै किसानको खेतसम्म सिँचाइ पु¥याउन पानी प्रयोगको आलोपालो नियम बनाई सिँचाइ सुरु गरेका हुन् ।  

पानी नपाएर उत्पादन गर्न नसकेका किसानका धानखेतका गरासम्म सहज रूपमा पानी पुर्‍याई  धानको उत्पादन यस वर्ष राम्रो बनाउन सिँचाइका लागि आलोपालो नियम बनाएर लागू गरेको वनगाउँका बड्घर पहारुलाल चौधरीले बताए । कुलोको पानी प्रयोगका लागि आलोपालो नियम नबनाउँदासम्म कुलाको शिरतिरका किसानले धेरै पानी प्रयोग गर्ने र पुछारतिरका किसानले पानी नै नपाउने समस्या रहेको वनगाउँ मगरटोलका बड्घर टंकबहादुर घर्तीमगरले बताए ।  

पुछारतिरका किसान महिना दिनसम्म खेतमा पानी हाल्न नपाउने अवस्था रही उत्पादन नहुने भएकाले यो वर्ष गाउँ–समाजको सल्लाहमा सबै किसानले कुलोको पानी प्रयोग गर्ने नियम बनाएर  प्रयोग गरिरहेको उनको भनाइ छ ।  

वनगाउँको ८ सय बिघा खेतीयोग्य जमिनका लागि ३ वटा कुलोको पानी लाग्ने गरेको छ  । जसअन्तर्गत वनगाउँका बीच पुरुवा र दक्षिण पुरुवाका थारू र मगरटोलका गरी करिब ३ सय बिघा क्षेत्रफलको खेतमा एउटै कुलोको पानी प्रयोग गर्ने गरेका छन् । कुलोमा पानी सिँचाइको आलोपालो नियमलाई पालनाका लागि समुदायको टोल भेलाले विभिन्न नियम तथा निर्णयसमेत गरेका छन् ।

कुलोको पानी आफ्नो पालाकोे दिनबाहेक अरू दिन लगाउन नपाइने र लगाएको खण्डमा जरिवाना तिराउने नियम बनाएको बड्घर घर्तीमगरले बताए । कसैले यो नियम उल्लंघन गरे ३ हजार ५ सय जरिवानासहित चेतावनी दिने बड्घर घर्तीमगरले बताए ।