१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रतियोगिताअघि चर्चित फुटबल खेलाडी आइसोलेसनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २६ शुक्रबार ०६:२३:००

कोरोना भाइरस महामारीबीच अन्तर्राष्ट्रिय खेल निरन्तर चलिरहेको छ । युरोपियन फुटबलका सबै लिग सम्पन्न भएका छन् । नयाँ सिजनको तयारीमा क्लबहरू लगिसकेका छन् । जमैकामा क्यारेबियन प्रिमियर लिग चलिरहेको छ । यस सिजनको यो नै पहिलो टी–२० फ्रेन्चाइज लिग हो । इन्डियन प्रिमियर लिग (आइपिएल) दुबईमा एक सातापछि सुरु हुनेछ । दर्शकरहितका यी प्रतियोगितामा खेलाडी, स्टाफ तथा प्रशिक्षकहरूले अनिवार्य रूपमै कोभिड–१९ को सतर्कता अपनाए पनि उनीहरूको विधि कति सुरक्षित भन्ने प्रश्न चिह्न खडा भएको छ । 

कोभिडको महामारीको सुरुवातका क्रममा टेनिसका नम्बर एक खेलाडी नोभाक जोकोभिक, क्रिकेटका अलराउन्डर साहिद अफ्रिदी र अर्जेन्टिनी खेलाडी पाउल डिबालाजस्ता चर्चित खेलाडी संक्रमित भएका थिए । कोभिडले प्रभावित पारेको खेल क्षेत्रमा पछिल्लो समय फुटबलका नाम चलेका खेलाडी संक्रमित भएको समाचार आइरहेको छ । फ्रेन्च खेलाडी केलियन एम्बाप्पे र ब्राजिलियन नेमार जुनियर पछिल्लो उदाहरण हुन् । 

केलियन एम्बाप्पे (फ्रान्स)

कोरोना भाइरसका कारण केलियन एम्बाप्पे फ्रान्सेली टोलीबाट हाल बाहिरिएका छन् । अहिले युरोपमा नेसन्स लिग प्रतियोगिता चलिरहेको छ । मंगलबार परीक्षणको रिपोर्टमा एम्बाप्पे संक्रमित छन् । प्रशिक्षकले एम्बाप्पे तत्कालका लागि टोलीबाट बाहिरिएको बताएका छन् ।

नेसन्स कपको पहिलो खेलमा फ्रान्सले स्विडेनलाई १–० लाई हराएको थियो । सो खेलमा एम्बाप्पे नै विजयी गोल गरेका थिए । त्यस बेलासम्म उनको कोरोना परीक्षण रिपोर्ट आएको थिएन । एम्बाप्पेले सोमबार सबै सत्रमा अन्य खेलाडीसँगै प्रशिक्षण गरेका थिए । उनको रिपोर्ट पोजेटिभ आएपछि अन्य खेलाडी भयभीत भएका छन् । एम्बाप्पे अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । कम्तीमा उनी आठ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने छ । 

नेमार जुनियर (ब्राजिल)

स्थापना भएको ५० वर्षपछि पिएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्दा उपविजेतामै सीमित भयो । क्लबले यसै खुसीयालीमा खेलाडीलाई स्पेनको इविजामा छुटी मनाउन पठायो । एक साताको छुट्टी मनाएर फर्किएका खेलाडी फ्रेन्च लिग वानको तयारीमा थिए ।

लिग वानमा सहभागी हुनुअघि सबै खेलाडीको कोरोना परीक्षण भयो । जसमध्ये नेमारको रिपोर्ट कोरोना पोजेटिभ देखियो । लिग वानमा उपलब्ध भएका खेलाडीको पहिलो चरण परीक्षण भएको हो । इविजामा असुरक्षित रूपमा छुट्टी मनाएका कारण नै पिएसजीका खेलाडीलाई कोरोना लागेको बताइएको छ । नेमार पनि फ्रान्समै आइसोलेसनमा बसेका छन् । 

एन्जेल डिमारिया (अर्जेन्टिना)

नेमारसँगै छुट्टी मनाउन अर्जेन्टिनी खेलाडी एन्जेल डी मारिया पनि निस्किएका थिए । पिएसजीका स्टार खेलाडी एकपछि अर्को गरी पोजिटिभ निस्किँदा डी मारिया पनि अलग रहेनन् । उनको रिपोर्ट पनि पोजिटिभ आएको छ । डिमारियासँगै लिएन्ड्रो पेडेस पनि संक्रमित भएका छन् । उनीहरू पनि आइसोलेसनमा बसेका छन् ।

डेभिड सिल्भा (स्पेन) 

यसै सिजन स्पेनिस क्लब रियल सोसिडाडसँग आबद्ध भएका स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी डेभिड सिल्भा पनि संक्रमित छन् । केही दिनअघि मात्र उनी सोसिडाडसँग आबद्ध भएका थिए । हालैको रिपोर्टअनुसार उनी संक्रमित भएको सोसिडाडले जनाएको छ । स्पेनिस राष्ट्रिय टोलीबाट उनले सन् २०१० को विश्वकप र २०१२ को युरोकप ट्रफी उचालेका थिए । इंग्लिस क्लब म्यानचेस्टर सिटीमा दश वर्ष व्यावसायिक फुटबल खेलेका सिल्भा यसै सिजनमै स्पेनिस क्लबमा आएका हुन् ।