मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ २५ बिहीबार १७:३०:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सशस्त्र प्रहरी गण धनगढीका ४१ प्रहरीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १७:३०:००

नेपाल प्रहरीको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमातहतको सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ३७ जनामा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

संक्रमित सबै गणभित्रै ड्युटीमा खटिएकाहरू रहेका उनले बताए । उनीहरु पछिल्लो केही समययता सार्वजनिक ठाउँमा नखटिएको कार्यालयले जनाएको छ । बुधबार मात्रै गणमा कार्यरत चारजनामा संक्रमण पुष्टि भएको थियो । योसँगै धनगढी गणमा मात्रै ४१ जनामा संक्रमण देखिएको छ । जवानदेखि सइसम्मका प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका सबैलाई धनगढीस्थित नेपाल प्रहरी आवासीय विद्यालयमा बनाएको आइसोलेसनमा राखिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान भइरहेको उनले बताए । सम्पर्कमा आएकाहरूलाई पनि छुट्टै राखिएको छ । संक्रमणको स्रोत भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिममा हालसम्म नेपाल प्रहरीका ८३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २९ जना संक्रमणमुक्त भएर फर्केका प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिएका छन् । बाँकी विभिन्न ठाउँमा आइसोलेसनमा उपचाररत रहेको उनले बताए । 

सेतीको प्रयोगशालामा पछिल्लो २४ घन्टामा तीन सय १९ जनाको स्वाब परीक्षण गरिएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये कैलालीका ६७ र कञ्चनपुरका दुईजना हुन् ।