१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कोरोना महामारीका कारण सुनसान पोखरा पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिर : गोविन्द सुवेदी/नयाँ पत्रिका
२०७७ भदौ २५ बिहीबार ०६:२४:००
Read Time : > 6 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुलुकका प्रमुख पर्यटन हब संकटमा, ११ लाख मजदुर विपदमा

कोरोना महामारीले ६ महिनादेखि ताल्चा लागेका होटेलका ढोका खुल्ने टुंगो छैन, दशकौँ पुराना व्यवसायी धमाधम पलायन हुँदै

Read Time : > 6 मिनेट
२०७७ भदौ २५ बिहीबार ०६:२४:००

विगत ११ वर्षदेखि ठमेलमा ब्राइट स्टार होटेल सञ्चालन गर्दै आएका अर्घाखाँचीका गोपाल पाण्डेले १ असारबाट बन्द गर्ने निर्णय गरे । लामो समय होटेल बन्द गर्दा बिग्रिसकेका अधिकांश सामान घरमा ल्याएर थन्क्याएका छन् ।

लकडाउन भएसँगै चैतदेखि असारसम्म घरबेटीसँग पटक–पटक छलफल गर्दा घरबेटी भाडा घटाउन तयार नभएपछि होटेल नै बन्द गर्ने निर्णयमा पुगेको पाण्डे बताउँछन् । ‘१ लाख ३० हजार भाडा तिर्नुपर्ने व्यवसाय कहिलेसम्म बन्द हुने, टुंगो भएन, आम्दानी शून्य भएपछि कसरी तिर्नु,’ पाण्डेले भने । पाण्डेजस्ता दर्जनौँ साना होटेल व्यवसायीहरूले अहिले भाडाका घर छाडेर बसेका छन् । व्यवसायीहरूले भाडाबापत मात्रै मासिक ३० करोड रुपैयाँभन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को अनुमान छ ।

साना केही व्यवसायीले छाडेर हिँडे पनि करोडौँ लगानी रहेको ठूलो व्यवसायलाई भने समस्या भएको ठमेलमा चारवटा होटेल तथा ट्रेकिङ व्यवसायसमेत सञ्चालन गरिरहेका गोरखाका सागर पाण्डेले बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिवसमेत रहेका पाण्डेले धेरैजसो भाडामा रहेका व्यवसायलाई घरबेटीले ३० देखि ७० प्रतिशतसम्म भाडामा छुट दिएको जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमका कारण पर्यटन व्यवसाय ठप्प भएपछि नेपालको पर्यटकीय नगरी ठमेल चैतयता सुनसान छ । सामान्य नाङ्लो व्यापारीदेखि ठूला तारे होटेलसम्म रहेको ठमेल दिनको २० घन्टा गुल्जार रहने गथ्र्याे । अधिकांश व्यवसायीहरू चैतयता ठमेल फर्किएका छैनन् । आफ्नौ जीवन नै पर्यटन क्षेत्रमा लगाएका तथा करोडौँ लगानी गरेका व्यवसायीहरू ठमेल छाडेर जान नसक्ने अर्का व्यवसायी देवेन्द्र वाग्ले बताउँछन् । उनी भन्छन्, ‘ठमेल छाडेर गइहाले पनि कहाँ जानु, फेरि फर्केरे यहीँ आउनुपर्छ ।’

ठूला लगानीका भन्दा पनि साना धेरै व्यवसायी विस्थापित भएको उनको अनुमान छ । करिब १७ सय घर रहेको ठमेलमा ५ हजार २ सय व्यवसाय सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालभर ३ हजार ३ सय पर्यटकस्तरीय होटेल छन् । यीबाहेक पनि केन्द्रीय तहमा दर्ता नभएका होटेलको संख्या धेरै छ । साना होटेल व्यवसायीलाई राष्ट्र बैंकले ल्याएको ऋण स्किम तथा अन्य सरकारी सहुलियतले खासै उद्धार गर्न नसक्ने व्यवसायीको तर्क छ ।

अहिलेको अवस्थाले साना तथा ठूला सबै होटेललाई समस्या परेको र महामारी लम्बिँदै जाँदा धेरै पलायन हुन सक्ने अवस्था आएको होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहको भनाइ छ । ‘महामारीको असर संसारभरका होटेल क्षेत्रमा परेको छ, बचाउन संसारभर विभिन्न उद्धार प्याकेजहरू आए पनि नेपालमा नहुनु दुःखद हो,’ शाहले भने ।  नेपालको पर्यटन क्षेत्रमा ११ लाखले रोजगारी पाएका छन् । तीमध्ये अधिकांश अहिले कामविहीन बनिसकेका छन् । 

ठमेल क्षेत्र बचाउन घरबेटी र व्यवसायीबीचको मध्यस्तता गरिरहेको ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारी ९० प्रतिशत घरबेटीहरू ३ महिनादेखि १ वर्षसम्म विभिन्न छुट दिन सहमत भएको बताउँछन् । ‘मेरो आफ्नै पनि ६ वटा व्यवसाय भाडामै हो, ३० प्रतिशतदेखि ७० प्रतिशतसम्म भाडामा छुट दिएका छन्,’ अधिकारीले भने ।

अन्य क्षेत्रमा भन्दा ठमेलमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको व्यवसायीको भनाइ छ । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन् र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन् । ठमेलको व्यापार पूर्ण रूपमा पर्यटनमा आधारित छ ।

ठूलै संकट आउन सक्छ, आन्तरिक पर्यटन खोलौँ :  प्रचण्डमान श्रेष्ठ, पूर्वसिइओ, नेपाल पर्यटन बोर्ड

साना मात्रै नभएर पछि लगानी गर्ने ठूला व्यवसायीहरूमा समेत गम्भीर समस्या आउँदै छ । सानालाई राहत दिने हो भने सबै मापदण्ड लागू गरेर बिस्तारै आन्तरिक पर्यटनलाई खुला गर्नुको विकल्प छैन । आन्तरिक मात्रै खोल्दा पनि साना होटेल रेस्टुरेन्टहरूमा आर्थिक गतिविधि बढ्छ र धेरै संकटलाई पार लगाउँछ । सरकारले दिने कुरामा कन्जुस्याइँ गरेको जस्तो लाग्छ ।

पहिले घरबेटीलाई भाडा छुट देऊ भन्यो, पछि फेरि कर्मचारीलाई तलब देऊ भन्यो, सरकारको काम निर्देशन दिने मात्रै भयो । केही पुनर्कर्जाको विषयमा सम्बोधन भए पनि सबैलाई समेट्न सक्दैन । सरकारले हामी यो गरिदिन्छौँ, व्यवसायीले यो काम गर्नु भनेर छुट्याउन नसक्नुले समस्या बढ्दै जाने देखिन्छ ।

पोखराका २०% व्यवसायी पलायन

कोभिड–१९ का कारण भएको लकडाउनले देशकै पर्यटकीय राजधानी पोखराका २० प्रतिशत व्यवसायी पलायन भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार असोजबाट सुरु हुने सिजनमा पनि व्यवसाय सञ्चालन गर्न नपाइने अवस्था आइसकेकाले सन् २०२० को अन्त्यसम्ममा पोखराका ४० प्रतिशत व्यवसायी पलायन हुनेछन् । उनको भनाइसँग नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी पनि सहमत छन् ।

पोखरामा मात्र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीको संख्या ५ हजारभन्दा बढी छ । कोभिड–१९ को प्र्रभाव सबैभन्दा पहिले पोखराको लेकसाइडमा परेको उनी बताउँछन् । नेपालमा लकडाउन सुरु भएको चैतको अन्त्य र वैशाखदेखि व्यवसायी पलायन हुन बाध्य भएका हुन् । पोखराको लेकसाइडमा मात्रै ३ खर्बको भन्दा धेरै लगानी रहेको पर्यटन बोर्डका पूर्वसदस्य त्रिपाठीले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यहाँ लगानी बढेको थियो ।  

पोखराको पर्यटन व्यवसायमा सबैभन्दा धेरै होटेल क्षेत्रमा लगानी छ । साना–ठूला गरेर पर्यटकीयस्तरका ७ सय होटेल रहेको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन् । कोभिडयता होटेल व्यवसाय क्षेत्रका २५ प्रतिशत व्यवसायी पलायन भइसकेको उनको अनुमान छ । तीन महिना लामो लकडाउनपछि नेपाली ग्राहकमार्फत नै पर्यटन क्षेत्र चलायमान हुने अपेक्षामा व्यवसायी थिए ।

तर, त्यसपछि पनि अवस्था झनै बिगँ्रदै गएको उनले बताए । मौद्रिक नीति आउँदा केही उत्साहित देखिएका व्यवसायी अहिले आएर पुनः निराश हुने अवस्थामा आएको उनको भनाइ छ । पुनर्कर्जालगायतका प्रावधानले सुरुमा व्यवसायीलाई उत्साहित गराए पनि झन्झटिला प्रक्रियाले अपेक्षित लाभ लिन सक्ने अवस्था नरहेको उनले बताए । अध्यक्ष तुलाचनका अनुसार पोखराका होटेलहरूमा मात्र १ खर्ब २५ अर्बभन्दा धेरै लगानी छ ।

चितवनमा दैनिक ३ करोड घाटा

अरूको होटेलमा काम गर्दै आएका ठाकुरप्रसाद रिमालले गत वर्ष असोजमा ५० लाख बैंकबाट कर्जा लिएर भाडाको घरमा जंगल लज होटेल सञ्चालनमा ल्याए । वर्षको २२ लाख रकम दिने सर्तमा १२ जना कामदारसहित सञ्चालन गरेको व्यवसायमा कोरोना जोखिम नियन्त्रण गर्न गरिएको लकडाउनले गम्भीर असर परेको छ । १५ भदौदेखि १५ मंसिरसम्म पर्यटनको सिजन भएकाले यही समयलाई केन्द्रित गरी होटेलको मर्मत गर्दा २० लाख लगानी भइसकेको छ । तर, सिजनमै लकडाउन हुँदा लाखौँको लगानी खेर जाने चिन्ताले सताएको उनी बताउँछन् ।

अहिले २ जना कर्मचारी मात्र राखेर होटेलको सरसफाइ र रेखदेख गर्दै आएको उनले बताए । घरबेटी र सरकारले समस्या बुझिदिएन भने अर्को पेसा रोज्नुको विकल्प नभएको उनको भनाइ छ । त्यस्तै, गाइडको काम छोडेर ४ वर्षदेखि आफ्नै होटेल चितवन पार्क भिलेज सञ्चालन गर्दै आएका ३४ वर्षका रञ्जन भण्डारी पनि भाडाकै घरमा व्यवसाय गर्दै आएका छन् ।

१५ कोठासहितको होटेल सञ्चालन गर्न उनले वार्षिक १० लाख भाडा तिर्नुपर्छ । तर, विगत ५ महिनादेखि उनको व्यवसाय पनि ठप्प छ । सौराहामा मात्र एकसय १० होटल छन् । १५ भन्दा बढी ठूला होटल भाडा लिएर सञ्चालन गरिएको छ । अहिलको अवस्थामा आफ्नै घरमा होटेल भएकाहरूको समेत अवस्था नाजुक भएको जंगल सफारी लजका सञ्चालक तथा क्षेत्रीय होटेल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए । लामो समयसम्म यस्तै अवस्था रहेमा आफूहरूसमेत विकल्प खोज्न बाध्य हुने उनी बताउँछन् ।  

लकडाउन तथा निषेधाज्ञाका कारण चितवनका पर्यटन व्यवसायीहरूले प्रत्यक्ष रूपमा दैनिक ३ करोड नोक्सान व्यहोर्नुपरेको छ । पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार चितवनमा १२ सय ५० वटा सामान्य होटेल तथा लज छन् । त्यसमध्ये २ सय २५ होटेल बाह्य पर्यटकहरू राख्ने क्षमताका छन् । यस्तै, कफीसप, चियापसल र खाजाघर करिब १५ सय छन् । यी सबैमा सिजनको समयमा दैनिक ३ करोड कारोबार हुने गरेको थियो । तर, अहिले यी सबै क्षेत्र ११ चैतदेखि ठप्प छन् । यसकारण यहाँ आबद्ध १६ हजार कामदारको रोजगारीसमेत खतरामा परेको सुवेदी बताउँछन् । 

 १५ भदौदेखि १५ मंसिर र फागुन, चैत, वैशाखलाई यहाँको पर्यटन गतिविधि हुने सिजनका रूपमा लिने गरिन्छ । कोरोनाका कारण ११ चैतबाट भएको लकडाउन हटे पनि पछिल्लो समय जिल्लामा निषेधाज्ञा जारी छ । चितवनमा पर्यटकीय होटेलमा ३० अर्बको लगानी छ । यसमध्ये आधाभन्दा बढी लगानी सौराहमा छ । विगतमा प्रदेश सरकारले भ्रमण वर्षसमेत सौराहबाट उद्घाटन गर्दा यहाँका व्यवसायी उत्साहित देखिन्थे । 

खर्च थेग्न नसकेपछि बन्द हुँदै इलामका होटेल

कोभिड–१९ संक्रमण रोकथामका लागि भएको लकडाउनका कारण इलामका होटेल व्यवसायी पलायन हुन थालेका छन् । अनिश्चित अवधिसम्म महँगो भाडा तिर्न नसक्ने निष्कर्ष निकाल्दै व्यवसायीले होटेल बन्द गर्न थालेका हुन् । इलाम बजारको बसपार्कमा २५ वर्षदेखि तमु होटेल सञ्चालन गर्दै आएकी हिमा गुरुङ बन्द होटेलको सरसामान थन्क्याउँदै छिन् ।

लकडाउनपछि होटेलले व्यहोर्दै आएको नोक्सानी थेग्नै नसक्ने अवस्थामा पुगेपछि उनी व्यवसाय बन्द गर्ने निर्णयमा पुगेकी हुन् । गुरुङ भन्छिन्, ‘होटेल बचाउन पनि नसकिने भयो, बाँच्न पनि नसकिने अवस्था भयो ।’ मासिक ६० हजार रुपैयाँ भाडा तिर्नुपर्ने होटेलको भाडा नै तिर्न नसक्ने भएपछि होटेल बन्द गरेकी गुरुङलाई अब के व्यवसाय गर्ने भन्ने पनि अन्योल नै छ ।

बसपार्कमै रहेको गजुरमुखी होटेलका सञ्चालक कृष्ण राईले भदौको सुरुदेखि नै होटेल व्यवसाय छाडेका छन् । घाटा थेग्न नसकेकै कारणले व्यवसाय छाडेको राईले बताए । मासिक १ लाख रुपैयाँ तिरेर होटेल–लज सञ्चालन गर्ने कृष्णलाई घरबेटीले तीन महिनाको भाडा छुट दिए । तर, अब पूरै रकम तिरेर व्यवसाय सञ्चालन गर्नुपर्ने भएपछि नसकेर होटेल चलाउन छाडेको बताउँछन् ।

उनी भन्छन्, ‘अब होटेल चलाएर बस्न सक्ने अवस्था नभएकाले बन्द गरेको हुँ ।’ बसपार्कमै हाम्रो पोखरेली होटेल चलाइरहेका विजय राई पनि व्यवसाय बन्द गर्ने सोचमा छन् । उनी बसपार्कभन्दा केही पर अपायक पर्ने ठाउँको निर्माणाधीन घरमा होटेल चलाउने तयारीमा छन् । राईले भने, ‘यो होटेलमा अहिले मासिक ३ लाख रुपैयाँभन्दा बढी नोक्सानी छ, त्यसलाई केही कम गर्न सकिन्छ कि भनेर बनाउँदै गरेको ठाउँमा सर्न लागेको हो ।’

मानिसहरूको मुख्य आवतजावत हुने बसपार्क क्षेत्रमा होटेल व्यवसाय गरिरहेका धेरैले होटेल बन्द गरिसकेका छन् । बसपार्क क्षेत्रमा रहेको देउराली होटेल बन्द छ । अरू होटेल पनि धमाधम बन्द हुने अवस्थामा छन् । खर्च धान्न नसकेर कतिपय व्यवसायीले होटेल नै बिक्री गर्न खोज्दै छन् ।

लगानी असुरक्षित हुने भएपछि होटेल किन्न कोही पनि तयार देखिँदैनन् । भाडामा होटेल चलाइरहेका व्यवसायीहरू धमाधम होटेल बन्द गर्दै छन् । घरधनीले लकडाउन अवधिको भाडामा केही छुट गरेको भए पनि पहिलेकै भाडा तिरेर होटेल चलाउन असम्भवजस्तै भएपछि व्यवसायीहरू पलायन हुन थालेका हुन् ।

होटेल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलका अनुसार लकडाउनको अवधिमा इलामका ७५ प्रतिशत होटेल सञ्चालकले छुट पाएका छन् । कतिले ५० प्रतिशत छुट पाएका छन् भने कतिले पूरै रकम छुट पाएका थिए । तर, लकडाउनको अन्त्यपछि पूरै घरभाडा लिन थालेपछि व्यवसायी पलायन हुन थालेका हुन् । ‘पहिले होटेल चलेका वेलाको जस्तै भाडा लिने हो भने व्यवसाय छोड्नेको संख्या अझ बढ्छ,’ अध्यक्ष पौडेलले भने, ‘अहिले होटेल चलाउन नसकेर धेरैले होटेल बेच्न खोज्दै छन्, तर कोही पनि किन्न तयार छैनन् ।’ इलाम जिल्लामा ४ सय ४० भन्दा बढी होटेल सञ्चालनमा छन् ।