मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष ३ मंगलबार १६:०८:००
Read Time : > 1 मिनेट
विश्व

तालिबानसँग वार्ता गर्न अफगानी टोली युएईमा

Read Time : > 1 मिनेट
रासस
२०७५ पौष ३ मंगलबार १६:०८:००

अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिबीच सोमबार वार्ता भएको थियाे ।

प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको अफगान राष्ट्रपति कार्यालयका प्रवक्ता हारुन चाखानसुरीले ट्वीटमार्फत बताएका छन् । 

राष्ट्रपति अश्रफ घानीले गत नोभेम्बरमा वार्ताका लागि राहिमीको नेतृत्वमा १२ सदस्यीय वार्ता टोली घोषणा गर्नुभएको थियो । तर तालिबान समूहले वार्ताका बारेमा टुङ्गो नलागेको बताएको छ । उनीहरुले अफगानी अधिकारीसँग वार्ता नगर्ने विगतकै अडान दोहोर्‍याएका छन् । 

तालिबान समूहले मङ्गलबार जारी गरेको वक्तव्यमा आफूहरुले अमेरिकी विशेषदूत जाल्मे खलिलजादसँग सोमबार प्रारम्भिक वार्ता गरेको जनाएको छ । समूहले अफगान शान्तिका बारेमा पाकिस्तान र साउदी अरेबिया तथा युएईका अधिकारीहरुसँग विस्तृत परामर्श गरेको बताएको छ । वार्तामा उनीहरुले अफगानिस्तानबाट सबै अन्तर्राष्ट्रिय फौज फिर्ता हुनु पर्ने पूर्वशर्त राखेका छन् । 

साउदी अरेबिया, युएई र पाकिस्तानले मात्र सन् १९९६ देखि २००१ सम्म चलेको तालिबान सरकारलाई मान्यता दिएका थिए । अबुधाबीमा खलिलजाद र तालिबानबीच प्रत्यक्ष वार्ता भए नभएको बारेमा अमेरिकाले अझै पुष्टी गरेको छैन । गत सोमबार वासिङ्टनले एक वक्तव्य जारी गरी युएईमा अफगानिस्तानको शान्तिका बारेमा वार्ता भइरहेको बताएको थियो । वक्तव्यमा खलिलजादले द्वन्द्व समाप्तीका बारेमा इच्छुक सबै पक्षसँग वार्ता गर्ने जनाइएको छ । 

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले हस्तक्षेप गरेको थियो । उक्त घटनापछि तालिबान सरकार अपदस्थ गरिएको थियो । तर त्यसयता तालिबान समूह र इस्लामिक स्टेटले अफगानिस्तानमा सशस्त्र युद्ध गरिरहेका छन् जसका कारण हजारौंको ज्यान जानुका साथै लाखौं विस्थापित भएका छन् ।