मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २४ बुधबार २०:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत उत्पादनकै खानी जिल्ला लमजुङमै  दिनमा १० देखि १५ पटक विजुली जान्छ

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार २०:३५:००

 मध्यमर्स्याङ्दी जस्तो ठुलो आयोजना भएको जिल्ला लमजुङमा दिनदिनै  लाइन जान थालेको छ । दुई महिना अघिदेखि लमजुङमा विद्युत ट्रिपिङ बढ्न थालेको हो ।

यो जिल्लामा ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथील्लो मर्स्याङ्दी ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाट क्षमताको राँधी खोला जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा मिसाइएको छ । तर, जिल्लाबासीले गोरखा हुदै तनहुँबाट पठाएको बत्ती बाल्न बाध्य छन् । विस्तारै फस्टाउँदै गएको उद्योगधन्दाहरुमा कोरोनाको प्रभाव त छदैछ तर नियमित विद्युत आपुर्तिमा अनावश्यक ट्रिपिङ भइरहँदा उद्योगहरुले क्षमता अनुसार वस्तु उत्पादन गर्न सकेका छैनन् ।

एकातिर कोरोनाको महामारीले उद्योग धन्दा बन्द छ भने अर्कोतिर विद्युत ट्रिपिङले साना तथा मझौला उद्योगहरु मर्कामा परेको लमजुङका उद्योग व्यवसायी शिव शिलवाल बताउँछन् । लगातारको विद्युत ट्रिपिङ हुने समस्याले जिल्लाबासीलाई हैरान बनाएको छ ।

घरी जाने घरी आउनेले त झनै सास्ती दिएको छ । नेपाल विद्युत प्राधिकरणको माताहतमा रहेर जिल्लामा विद्युत वितरण गर्ने जिम्मा लिएको लमजुङ विद्युत उपभोक्ता संस्था रानीकुवाले प्रवाह गरेको विद्युत लाइनमा कहिले उच्च भोल्टेज त कहिले कम भोल्टेज भएर जिल्लाबासीले सास्ती खेपिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत ३३ केभीएको संरचनामा समस्या हुँदा जिल्लाभर समस्या भएको लमजुङ विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले बताए । विद्युत अनियमित प्राधिकरणको नभई उपभोक्ता समितिकै लापरबाहीले भएको विद्युत् प्राधिकरणको दाबी छ ।

प्राविधिक पक्षमा केही कमजोरी भए पनि मुख्य समस्या उपभोक्ता समितिको कार्यक्षेत्रमै भएको विद्युत् प्राधिकरण अन्तर्गत लमजुङ वितरण केन्दका प्रमुख यमकुमारी गुरुङले बताइन् । उपभोक्ता समितिको कार्यक्षेत्र अन्तर्गतका संरचना जीर्ण हुँदा त्यसको असर ३३ केभि राष्ट्रिय प्रसारणलाइनमा परेको गुरुङको दाबी छ ।

विद्युत् वितरण गर्ने र रकम उठाउने जिम्मा लिए पनि संस्थाले संरचना मर्मतमा ध्यान नदिँदा समस्या आएको उनले बताइन् ।

नेपाल सरकारले तयार गरेको विनियमअनुसार जिल्लाभित्र ३३ केभी प्रसारणलाइन प्राधिकरणले हेर्ने तर ११ केभीएअन्तर्गत ग्राहकहरूको लाइन उपभोक्ता संस्थाले हेर्ने उल्लेख गरिएको छ । तर, ११ केभीएअन्तर्गत वितरण लाइनका संरचना जीर्ण भएको र त्यसको आवश्यक मर्मतमा उपभोक्ता समितिले चासो नदिएको प्राधिकरणको आरोप छ ।