Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २४ बुधबार ११:५७:००
Read Time : > 6 मिनेट
खेलकुद डिजिटल संस्करण

यी हुन् रोनाल्डो र मेसीसँगै खेलेका १२ खेलाडी

लुइस सुआरेज युभेन्टससँग अनुवन्धित भए, उनी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँगै प्रतिस्पर्धा गर्ने विश्वकै १३ औँ खेलाडी बन्ने छन्

Read Time : > 6 मिनेट
२०७७ भदौ २४ बुधबार ११:५७:००

उरुग्वेयन स्ट्राइकर लुइस सुआरेज र युभेन्टसबीचको सम्झौता पूरा भएको छैन । तर, युभेन्टस र सुआरेजबीचको सम्झौता प्रक्रिया निकै नजिक छ । सुआरेज सिरिए च्याम्पियन युभेन्टससँग आबद्ध उनी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने विश्वकै १३औँ खेलाडी बन्नेछन् ।

विश्वचर्चित खेलाडी कार्लोस ट्रभेज, जेरार्ड पिके, गोन्जालो हिगुइन तथा डेकोजस्ता खेलाडीले कुनै समय अर्जेन्टिनी मेसी र पोर्चुगिज रोनाल्डोसँगै खेलेका थिए । मेसी र रोनाल्डो वर्तमान समयकै उत्कृष्ट खेलाडीमा पर्छन् । मेसीले ६ तथा रोनाल्डोले पाँचपटक बालोन डिअर उपाधि जितेका छन् । 

अहिलेको पुस्तामा क्लबका लागि व्यक्तिगत सर्वाधिक गोल गर्ने खेलाडीमा मेसी र रोनाल्डो नै अगाडि छन् । मेसी र रोनाल्डोसँगै प्रतिस्पर्धा गर्ने सबैका सपना हुन्छन् । तर, धेरैले यो सपना पूरा गर्न सक्दैनन् । यी दुवै खेलाडीसँगै मैदानमा खेलेका १२ भाग्यमानी खेलाडी यस्ता छन् । 

१ फर्नान्डो गागो
रोनाल्डोसँग रियल म्याड्रिडमा २००९–०११
मेसीसँग अर्जेन्टिनी टोली २००७–०१७

सन् २००६–०७ को सिजनमा फर्नान्डो गागो र गोन्जालो हिगुइन एकैपटक स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भए । दुई वर्षपछि म्यानचेस्टर युनाइटेडबाट रियलले रोनाल्डोलाई भित्र्यायो । चार वर्ष रियलमा बिताएको फर्नान्डोले रोनाल्डोसँगै दुई वर्ष खेले । डिफेन्समा राम्रा खेलाडीको आगमनपछि फर्नान्डो रियलबाट बाहिरिए । फर्नान्डो एक अर्जेन्टिनी खेलाडी हुन् ।

उनले मेसीसँग दश वर्ष सहकार्य गरेका देखिन्छन् । राष्ट्रिय टोलीबाट ५० अन्तर्राष्ट्रिय खेलका फर्नान्डोले ०१७ मा सन्न्यास लिए । यसक्रममा उनले मेसीसँगै २००९ मा बेइजिङ ओलम्पिक स्वर्ण जिते । उनी सन् २०१४ को विश्वकप तथा २०११ को कोपा अमेरिकामा सहभागी रहे । 

२ ग्राबिएल हेनिज 
रोनाल्डोसँग म्यानचेस्टर युनाइटेड २००४–०७
मेसीसँग अर्जेन्टिनी टोलीमा २००५–२०१०

अर्जेन्टिनी खेलाडी हेनिज स्पोर्टिङसँग सम्झौता भइसकेको थियो । उनले सम्झौता गरेको समयमा रोनाल्डो पनि त्यही क्लबमा थिए । तर, दुवैले स्पोर्टिङ क्लबबाट एकसाथ कहिले खेल्ने मौका पाएनन् । पोर्चुगी क्लबबाट हेनिज लोनमा म्यानचेस्टर युनाइटेडमा आए । उनीभन्दा अगाडि नै रोनाल्डो युनाइटेडमा आबद्ध भइसकेका थिए । 

युनाइटेडमा रोनाल्डो र हेनिजले छिटै एकसाथ खेल्न अवसर पाए । प्रशिक्षक सर एलेक्स फर्गुसनले दुवैलाई एक सेटमा प्रतिस्पर्धा गराएका थिए । हेनिजले २००५ मा मेसीसँग राष्ट्रिय टोलीबाट खेल्न अवसर पाए । हेनिजले राष्ट्रिय टोलीबाट डेब्यु गरेको खेलको ४३औँ सेकेन्डमै मेसीले गोल गरेका थिए । 

३ जेरार्ड पिके
रोनाल्डोसँग म्यानचेस्टर युनाइटेडमा २००४–०६ र २००७–०८
मेसीसँग बार्सिलोनामा २००८ देखि

स्पेनिस खेलाडी पिके बार्सिलोनाकै पाका खेलाडीमा पर्छन् । पछिल्लो १२ वर्षदेखि बार्सिलोनाको डिफेन्समा पिकेको प्रदर्शन जबर्जस्त छ । बार्सिलोनाबाट स्टार खेलाडीका बर्हिगमनको समाचार आइरहे पनि पिके र मेसी अहिलेसम्म नाउ क्याम्पमै छन् । यद्यपि यी दुईबीचका ट्रान्सफर विन्डोमा हल्ला चल्ने गर्छन् । मेसी र पिकेबीचको सहकार्यमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युरोपियन सुपरकप, कोपा डेल रे तथा स्पेनिस ला लिगा उपाधि जित्यो । 

बार्सिलोनामा आबद्ध हुनुअघि पिकेले इंग्लिस क्लबमा आफ्नो भविष्य देखेका थिए । ३३ वर्षीय पिकेले दुईपटक जीवनमा म्यानचेस्टर युनाइटेडसँग नाता गाँसे । सन २००४ देखि ०६ सम्म र २००७ को सिजनमा पिके युनाइटेडका खेलाडी थिए । यही अवधिमै पिकेले रोनाल्डोसँग खेल्ने अवसर पाए ।  युनाइटेडबाट रोनाल्डोसँगै २३ खेलमा अवसर पाएका पिकेले सन् २००७ को च्याम्पियन्स लिगको समूह चरणमा दुई गोल गरेका थिए । सन् २००७ को सिजनमै उनी स्पेनिस क्लब जारागोजासँग आबद्ध भए । 

४ एन्जेल डी मारिया
रोनाल्डोसँग रियल म्याड्रिडमा २०१०–०१४
मेसीसँग अर्जेन्टिनी टोलीमा २००९ देखि

एन्जेल डी मारियाले पनि रोनाल्डो र मेसीसँगै लामो अवधिसम्म सँगै खेल्ने खेलाडीमा पर्छन् । पेरिस फ्रेन्च जर्मन (पिएसजी) क्लब र म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि डी मारिया रियल म्याड्रिडमा आबद्ध थिए । २०१० देखि २०१४ सम्म रियलमा रहँदा डी मारिया र रोनाल्डोबीचको सहकार्य निकै राम्रो मानिएको थियो । रियलबाट एक सय ९० खेलमा प्रतिस्पर्धा गरेका डी मारियाले रोनाल्डोसँगै करिमा बेन्जिमासँग राम्रो सम्बन्ध राखेका थिए । 

कुनै समय यी तीनजना खेलाडी एकैसाथ मैदानमा उत्रँदा रियलका फिनिसिङ बलियो मानिएको थियो । ३२ वर्षीय वेन्जिमाले रोनाल्डोसँगै ६ उपाधि जिते । सन् २००९ देखि डी मारियाले मेसीसँग राष्ट्रिय टोलीमा सहकार्य गर्दै आइरहेका छन् । 

५ कार्लोस टेभेज
रोनाल्डोसँग म्यानचेस्टर युनाइटेड २००७–०९
मेसीसँग अर्जेन्टिना टोलीमा २००५ देखि २०१५

कार्लोस टेभेज र मेसीबीचको सम्बन्ध राष्ट्रिय टोलीमा निकै राम्रो मानिन्छ । यी दुवैले विश्वकप छनोटअन्तर्गत पेरूविरुद्धको खेलमा एकैपटक डेब्यु गरेका थिए । २००४ मै अर्जेन्टिनी टोलीबाट डेब्यु गरेका टेभेजले २०१५ मा सन्न्यास लिए । टेभेजको राष्ट्रिय टोलीमा आउने र जाने भइरह्यो । मेसी र टेभेजले लगातार पाँच वर्ष राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका थिए । 

 

टेभेजले अर्को स्टार खेलाडी रोनाल्डोसँगै म्यानचेस्टर युनाइटेडबाट खेल्न अवसर पाए । वेस्ट हामबाट युनाइेटडसँग आबद्ध हुँदा रोनाल्डो स्टार खेलाडीका रूपमा थिए । फर्गुसनको प्रशिक्षणमा रोनाल्डो पहिलो रोजाइका स्ट्राइकर रहँदा टेभेज दोस्रो वर्गमा पर्थे । 

६ पाउल डिबाला
रोनाल्डोसँग युभेन्टसमा २०१८ देखि 
मेसीसँग अर्जेन्टिना टोलीमा २०१५ देखि

अन्तर्राष्ट्रिय फुटबलमा पाउल डिबाला चम्केको धेरै वर्ष भएको छैन । उनले वर्तमान समयकै उत्कृष्ट दुई खेलाडीसँगै मैदानमा प्रतिस्पर्धा गर्न मौका पाएका छन् । युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका डिबालाका अहिले मिल्ने साथीमा रोनाल्डो पर्छन् । सन् २०१८ मा रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो र डिबालाबीच मैदानमा राम्रो तालमेल मिल्छ ।

पछिल्लो दुई वर्षमा युभेन्टसको सफलतामा रोनाल्डो र डिबालाको योगदान अहं मानिएको छ । सन् २०१५ मा प्रशिक्षक जेरार्डो मार्टिनोको प्रशिक्षणमा अर्जेन्टिनी टोलीबाट डेब्यु गर्न अवसर पाउँदा डिबालाको मेसीसँगै खेल्ने सपना पूरा भएको थियो । पाँच वर्षदेखि मेसीको कप्तानीमा डिबालाले प्रतिस्पर्धा गरिरहेका छन् । 

७ गोन्जालो हिगुइन
रोनाल्डोसँग रियल म्याड्रिडमा २००९–०१३, युभेन्टसमा २०१८ देखि
मेसीसँग अर्जेन्टिना टोलीमा २००९ देखि २०१९

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले दुई फरक क्लबबाट रोनाल्डोसँगै प्रतिस्पर्धा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडमा हिगुइन र रोनाल्डोबीच चार वर्ष सहकार्य भएको थियो । रोनाल्डो रियलमा युनाइटेडबाट आगमन हुनुअघि सान्टिएगो बर्नावेउमा हिगुइनको दबदबा थियो । टोलीका सिनियर खेलाडी हिगुइन र करिम बेन्जिमासँग राम्रो तालमेल मिलाउँदै रोनाल्डो अगाडि बढे । २०१३ पछि हिगुइन लोनमा एसी मिलान तथा चेल्सीमा आबद्ध भए । 

चेल्सीपछि हिगुइन युभेन्टसमा पुगे । जहाँ उनले पुनः एकपटक फिनिसिङमा रोनाल्डोसँगै सहयात्रा गर्न मौका पाएका छन् । अर्जेन्टिनी टोलीमा हिगुइनले दश वर्ष मेसीसँगै प्रतिस्पर्धा गरेका थिए । मेसीको कप्तानमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलमा पुग्दा हिगुइन पहिलो रोजाइकै खेलाडी थिए । जर्मनीविरुद्धको फाइनलमा हिगुइनले गोल्डेन चान्स गुमाएका थिए । हिगुइन त्यो क्षण सम्झँदा अहिले पनि चुकचुकाउँछन् । 

८ हेन्रिक लार्सन
रोनाल्डोसँगै म्यानचेस्टर युनाइटेडमा २००७
मेसीसँग बार्सिलोनामा २००४–०६

युरोपियन फुटबलमा हेन्रिक लार्सन स्टकल्यान्डकै असाध्य राम्रा खेलाडीमा रूपमा पर्छन् । उनले सेल्टिकबाट दुई सय ४२ गोल गरेका छन् । स्कटल्यान्डको लिगमा उत्कृष्ट प्रदर्शन गरेका कारण नै उनले युरोपकै ठूला क्लबबाट खेल्न अवसर पाए ।

२००४ देखि २००६ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट हेन्रिकले खेले । जहाँ अर्जेन्टिनी युवा खेलाडी मेसीको भर्खर मात्र डेब्यु भएको थियो । उनकै समयमा बार्सिलोनाले रोनाल्डिन्हो, सामुइल इटो तथा डेको अनुबन्ध गऱ्याे । स्टार खेलाडीबीच हेन्रिकले दुई वर्ष बार्सिलोनामा बिताए । हेन्रिकले सन् २००७ मा बार्सिलोना छाडे । 

त्यसपछि उनी म्यानचेस्टर युनाइेटडमा आबद्ध भए । स्टार खेलाडी क्लब छाडेको हेन्रिकले अर्को क्लबमा आबद्ध हुँदा त्यत्तिकै नाम चलेका खेलाडीसँग ड्रेसिङ रुममा सेयर गर्न अवसर पाए । युनाइटेडमा लुइस साह, क्रिस्टियानो रोनाल्डो तथा वाइन रुनीसँगै उनले प्रतिस्पर्धा गरे । युनाइटेडमा एक सिजन मात्र बिताएका हेन्रिकले युनाइटेडबाट सहभागी भएका सबै युरोपियन फुटबल प्रतियोगितामा गोल गरेका थिए । 

९ नेल्सन सेमेडो
रोनाल्डोसँग पोर्चुगल टोलीमा २०१५ देखि
मेसीसँग बार्सिलोनामा २०१७ देखि
 
वर्तमान समयमा रोनाल्डो र मेसीसँगै सक्रिय रूपमा मैदानमा देखापरेका खेलाडीमा पर्छन्, नेल्सन सेमेडो । २०१५ मा पोर्चुगी टोलीबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न पाएका सेमेडोले रोनाल्डोसँग १४ खेलमा प्रतिस्पर्धा गरेका छन् ।

रोनाल्डोले राष्ट्रिय टोलीबाट सर्वाधिक एक सय ६४ खेल खेलेका छन् । रोनाल्डोले २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सेमेडो दुई वर्षयता नाउ क्याम्पमा आबद्ध छन् । २६ वर्षीय सेमेडोले बार्सिलोनाबाट आधिकारिक रूपमा ९८ खेल खेल्न पाएका छन् । क्लबमा अनुबन्ध भएको पहिलो सिजनमा उनी मेसीसँगै पहिलो रोजाइमा परेका थिए । मेसीले सेमेडोको सहयोगमा ६ पटक गोल गरेका छन् । 

१० इजेक्विल गेराय 
रोनाल्डोसँग रियल म्याड्रिडमा २००९–०११
मेसीसँग अर्जेन्टिना टोलीमा २००७–०१५ 

स्पेनिस क्लब रियल म्याड्रिडमा राम्रो स्थान रहँदैको अवस्थामा अर्जेन्टिनी खेलाडी इजेक्विलले सान्टिएगो बर्नावेउ २०११ मा छाडे ।  इजेक्विल अहिले पनि आफ्नो निर्णय सही भएको मान्छन् । रेसिङ स्टान्डर्ड क्लबबाट ९० लाख पाउन्डमा अनुबन्ध भएका इजेक्विलले २००८ मा कोपा डेल रे उपाधि जितेका थिए ।

२०११ को सुरुवातमै उनी पहिलो रोजाइमा परेनन् । दुई वर्ष रोनाल्डोसँग बिताएको क्षण स्मरणीय भएको उनी बताउँछन् । लियोनल मेसीसँग भने उनले राष्ट्रिय टोलीमा आठ वर्ष बिताएका छन् । राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाए पनि उनले त्यति राम्रो प्रभाव पार्न सकेनन् । 

११ डेको
रोनाल्डोसँग पोर्चुगल राष्ट्रिय टोलीमा २००३ देखि ०१०
मेसीसँग बार्सिलोनामा २००८ देखि ००८

बार्सिलोनामा मेसी स्थापित हुनुमा पोर्चुगाली मिडफिल्डर डेकोको योगदान ठूलै मानिन्छ । एट्याकिङ मिडफिल्डर डेकोलाई विस्थापन्न गरी मेसीले बार्सिलोनामा डेब्यु गरेका थिए । डेब्युपछि मेसीले फर्केर हेर्नुपरेको छैन । यिनै खेलाडीले अहिले बार्सिलोनाबाट अलटाइम गोल स्कोररका रूपमा ६ सय ३४ गोल गरेका छन् । सात सय ३१ खेलबाट मेसीले स्पेनिस ला लिगामा चार सय ४४ गाल गरे ।

डेको र रोनाल्डोले एकै समयमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । दुवैले सन २००३ मा काजखस्तानविरुद्ध खेलमा डेब्यु गरेका थिए । संयोग कस्तो रह्यो भने दुवैले आ–आफना पहिलो अन्तर्राष्ट्रिय गोल २००४ को युरोकपमै गरेका थिए । यी दुई खेलाडीबीच सात वर्ष राष्ट्रिय टोलीमा सहकार्य भएको देखिन्छ । 

१२ एन्ड्रे गोमेज
रोनाल्डोसँग राष्ट्रिय टोली पोर्चुगलमा २०१३ देखि
मेसीसँग बार्सिलोनामा २०१६ देखि ०१८ सम्म 

सन् २०१६ मा एन्ड्रे गोमेज दोधारमा थिए । त्यसवेला उनलाई बार्सिलोना र रियल म्याड्रिडले प्रस्ताव राखेका थिए । गोमेजले रियल छाडेर क्याटलान क्लब बार्सिलोना रोजे । बार्सिलोनाले उनलाई भित्र्याउन तीन करोड १० लाख पाउन्ड खर्चिएको थियो ।  गोमेज एउटै कारण बार्सिलोनासँग अनुबन्ध भएका थिए । गोमेजले लियोनल मेसी र एन्ड्रेस इनिस्टाको सहयोगमा फुटबलमा एउटा उचाइ लिने सपना देखेका थिए । 

तर, पोर्चुगलका खेलाडी गोमेजले दुई वर्षपछि नै बार्सिलोना छाडे । २०१३ को फेब्रुअरीमा उनी पोर्चुगलको टोलीमा परे । १९ वर्षको उमेरमै उनले रोनाल्डोसँग खेल्ने अवसर पाए । इन्जुरी कारण गोमेजले राष्ट्रिय टोलीमा आउने र जाने मात्र भएका छन् । अहिले नेसल्स कपमा उनले रोनाल्डोलाई साथ दिइरहेका छन् । 

एजेन्सीको सहयोगमा