मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २४ बुधबार १०:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साढे १५ किलो सुन तस्करी प्रकरण : न्युरोडका दुई सुन व्यापारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २४ बुधबार १०:१४:००

काठमाडौं सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा प्रहरीले न्यूरोडका दुई सुन व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सात दिनअघि न्युरोडबाटै पक्राउ गरेको हो । संगठित अपराधअन्तर्गत अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहित आधा किलो सक्कली सुन पनि प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले उक्त आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए । श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्ट्र बैंकबाट उक्त सुन खरिद गरेका थिए ।

राष्ट्र बैंकको नियमअनुसार खरिदपछि व्यापारीले ढिक्कै अर्को व्यापारीलाई बिक्री गर्न पाउँदैन । गहना बनाएर मात्र बिक्री गर्नुपर्छ । ‘पक्राउ परेका व्यापारीले सुन इल्ताफलाई दिएको पाइयो । उनीहरूले इल्ताफलाई ढिक्कै बेचेको पाइयो, जुन गैरकानुनी हो,’ एसपी राठौरले भने ।

प्रहरीले यस प्रकरणमा इल्ताफसहित निलेश सखिया, विजय पटेल, मनीष मल्लिक, कौशल पटेल, दिवाङ पटेल तथा प्रहरी जवानहरू बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजाना कसुरअन्तर्गत म्याद थप भई अनुसन्धान जारी छ । यस प्रकरणमा जोडिएका न्युरोडकै हुन्डी व्यापारी विकास अग्रवाल र सञ्जय पटेल भने फरार छन् ।