मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २४ बुधबार ०९:५५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङका किसान अलैँची टिप्न व्यस्त

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार ०९:५५:००

लमजुङका विभिन्न ठाउँमा अलैँची टिप्ने सिजन सुरु भएको छ । सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले जानकारी दिए । 

अलैँची पाकेपछि यहाँका किसान अहिले टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । विशेषगरी यो वर्ष कोभिड– १९ को प्रभावसँगै सहरबजारमा बस्नेहरू गाउँ फर्किएर अलैँची खेतीमा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका अलैँची कृषक लोकनाथ घिमिरेले बताए । 

जिल्लाका अलैँची किसानले भदौ पहिलो हप्तादेखि अलैँची टिप्न सुरु गरेका हुन् । ‘धानको झार गोडेर, कोदो रोपेर सकियो अब अलैँची टिप्न सुरु भयो,’ मर्स्याङ्दी-७ ताराचोक शेराका अलैँची कृषक डम्बरसिंह अधिकारीले भने । उनले आठ रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन् ।

अलैँची पाक्न नपाउँदै चरा–मुसाले खाने भएकाले टिपाइमा ढिलाइ गर्न नहुने अधिकारीको भनाइ छ । यतिवेला बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैँची टिप्न सुरु गरिएको छ । 

अलैँचीका विभिन्न जात

जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैँची टिप्न सुरु गरिएको अध्यक्ष अजय तामाङले बताए । तामाङका अनुसार जिल्लामा लगाइएको अलैँची तीन चरणमा टिप्ने गरिन्छ ।

जिल्लामा सात सयदेखि १२ सय मिटरकाे उचाइमा लगाइएको अलैँची भदौको पहिलो साताबाट टिप्न सुरु गरिन्छ । यस उचाइमा साउने, जिर्मले र डम्बरशाही जातको अलैँची खेती हुन्छ ।  

१२ सयदेखि १६ सय मिटर उचाइमा गोलशाही जातको अलैँची खेती हुन्छ ।  जुन असोजको पहिलो साताबाट टिप्न सुरु गरिन्छ  । 

त्यस्तै १६ सय देखि २२ सय मिटर उचाइमा रामशाही र भलांगे जातको अलैँची कात्तिकको पहिलो हप्ताबाट टिप्न सुरु गरिन्छ । जिल्लामा यस वर्ष १५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । जसमध्ये नाै हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुनेछ ।  

गत वर्ष सात सय ५० हेक्टर क्षेत्रफलमा दुई हजार क्विन्टल अलैँची उत्पादन भएको थियो । अलैँची बिक्रीबाट गत वर्ष १२ करोड भित्रिएको थियो । यसपटक उत्पादन २५ प्रतिशतले वृद्धि हुने अध्यक्ष तामाङले बताए ।

जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरूमा व्यावसायिक अलैँची खेती हुँदै आएको छ ।  

अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले गाउँगाउँबाट सहरमा पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय सुरु गर्न थालेका छन् ।पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रूपमा समेत परिचित हुँदै आएको छ ।