१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २३ मंगलबार २०:१४:००
Read Time : > 1 मिनेट
अर्थ

‘निषेधाज्ञाका कारण दुग्ध व्यवसायमा २० अर्ब नोक्सान’ 

Read Time : > 1 मिनेट
२०७७ भदौ २३ मंगलबार २०:१४:००

दुग्ध व्यवसायीहरूले निषेधाज्ञाका कारण २० अर्ब नोक्सान व्यहार्नुपरेको बताएका छन् । कृषि पत्रकारहरूको साझा फोरम अनाजद्वारा मंगलबार आयोजित भर्चुअल अन्तर्क्रियामा सहभागी व्यवसायीले यस्तो दाबी गरेका हुन् । 

कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले निषेधाज्ञाका कारण दूध बिक्रीमा आएको गिरावटले २० अर्बभन्दा बढी नोक्सान व्यहार्नुपरेको बताए । उनले दूध संकलनमा समेत ३० प्रतिशत ह्रास आएको बताए । देशभर सहकारीमा दैनिक ६ लाख लिटर दूध संकलन हुने र निषेधाज्ञा अवधिमा ३० प्रतिशत घटेको उनको भनाइ छ । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाउँदा पीडामा परेको उनको गुनासो छ ।

कोरोनाका कारण डेरी तथा दुग्ध उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको संघको तथ्यांक छ । दुग्ध संकलनमा ह्रास, बजारमा गिरावट र अर्बौं नोक्सान व्यहोर्नुपरे पनि डेरीबाट बिक्री–वितरणलाई भने निरन्तता दिइरहेको देवकोटाले बताए ।

संघका अनुसार जनजीवन सामान्य रहेको अवस्थामा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनेमा ३१ लाख लिटर मात्र बजारमा जाने गरेको थियो । अत्यावश्यक क्षेत्रको रूपमा डेरी क्षेत्रलाई राखिए पनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको दुग्ध व्यवसायीहरूको गुनासो छ । 

सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ : मन्त्री लामा
बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले किसानको समस्या समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए । ‘कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र नभई समग्र किसान मारमा परेका छन्,’ उनले भने, ‘सबैका समस्या समाधानका लागि मिलेर अघि बढ्नुको विकल्प छैन ।’ उत्पादित कृषिजन्य वस्तुको बजार गिरावटसँगै नष्ट गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण किसान निकै मारमा परेको मन्त्री लामाको भनाइ छ । 
उनले किसानलाई राहत उपलब्ध गराउनेबारे सरकारले छलफलसँगै प्रक्रिया अघि बढाउने आश्वासन व्यक्त गरे ।