मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ भदौ २३ मंगलबार ०५:३६:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिडको आयुर्वेदिक उपचार :  ‘भर्ना भएका ९० प्रतिशत संक्रमित सात दिनभित्रै डिस्चार्ज’

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ भदौ २३ मंगलबार ०५:३६:००

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको निश्चित औषधि र भ्याक्सिन उपलब्ध नहुँदा नियन्त्रणमा कठिनाइ थपिँदै गएको छ । नेपालमा पनि पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या बढ्दै जाने र लक्षणसहितका संक्रमित देखिन थालेकाले व्यवस्थापन जोखिमपूर्ण बनेको छ । केही दिनयता मृत्युदर र संक्रमित दर बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आयुर्वेदिक अस्पतालहरूलाई पनि कोरोना बिरामीको उपचार गर्न मान्यता दिएको छ । आयुर्वेद शिक्षण अस्पतालअन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा दुई सय बेडको आइसोलेसनमा कोभिड संक्रमितको उपचार भइरहेको छ । वैशाखदेखि उपचार गरिरहेको आयुर्वेदिक अनुसन्धान केन्द्रमा हालसम्म पाँच सय सातजना संक्रमित भर्ना भएका थिए । जसमध्ये दुई सय ८३ जना संक्रमित छोटो समयमै निको भएर घर फर्किसकेका छन् । १५ जना बिरामीमा थप स्वास्थ्य समस्या देखिएकाले अन्य अस्पताल रिफर गरिएको छ । 

केन्द्रमा हाल ४० जना कैदीबन्दी गरी २०८ संक्रमितको उपचार भइरहेको छ । एकजना बिरामी भने आइसोलेसनबाट भागेका थिए । अहलिे उनको बाराको एक अस्पतालमा उपचार भइरहेको छ । अनुसन्धान केन्द्रका अनुसार उपचाररत सबै लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमित हुन् । राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका निर्देशक डा.रामआधार यादवका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रिफर गरेका बिरामीको हाल आयुर्वेदिक पद्धतिबाट उपचार भइरहेको छ । भन्छन्, ‘अस्पतालमा दुई सयवटा मात्र बेड छन्, संक्रमितको संख्या धेरै भएपछि बिरामीको स्वास्थ्य अवस्थाको आधारमा मिलाएर राखेका छौँ । पछिल्लो समय संक्रमित कैदीबन्दी आएपछि आइसोलेसन वार्ड छुट्याउनुपरेको छ । सामान्य नागरिक र कैदीबन्दीलाई छुटै आइसोलेसन वार्ड बनाउँदा बेड अभावका कारण व्यवस्थापनमा कठिनाइ भएको छ ।’ 

दैनिक औषधिको प्रयोग
बाहिर नै पिसिआर परीक्षण गरेर सामान्य लक्षण देखिएका संक्रमितलाई मात्र रोग नियन्त्रक महाशाखाले उपचारका लागि अनुसन्धान केन्द्र पठाउने गर्छ । अनुसन्धान केन्द्रले बिरामीको स्वास्थ्य अवस्थाको आधारमा छुट्याएर प्रत्येक बिरामीलाई औषधिको माध्यमबाट उपचार गरिरहेको छ । बिरामीमा प्रयोग गरिने औषधि परम्परागत जडीबुटीबाट बनाइएको सामान्य औषधि भएको डा.यादव बताउँछन् । ‘कोभिडका बिरामी राख्ने भएपछि उनीहरूमा छोटो समयमा रोगप्रतिरोधी क्षमता बढाउन के गर्न सकिन्छ भनेर अनुसन्धान गरेका थियौँ । त्यसकै आधारमा चारवटा जडीबुटी मिसाएर औषधि बनाएका छौँ,’ उनी भन्छन्, ‘जडीबुटी र मिनरल मिश्रण गरेर बनाइएका दुई–दुईवटा गोली बिहान, दिउँसो र बेलुका दिइन्छ ।’

मरिच, गुड्ची, पिपला र सुन्ठी (सुकेको अदुवा)को मिश्रणबाट बनाइन्छ औषधि बनाइएको उनी बताउँछन् । भन्छन्, ‘यसले संक्रमितको शरीरमा प्रतिरोधी क्षमता बढाउँछ । जुन निकै प्रभावकारी देखिएको छ ।’ आइसोलेसनको प्रयोगका लागि आवश्यक औषधि अनुसन्धान केन्द्र आफैँले ल्याबमा बनाउने गरेको छ । बिरामीलाई आवश्यक पर्ने निश्चित औषधि मात्र उत्पादन गर्दछ, यस्तो औषधि सामान्य जडीबुटीबाट बनाइने भएकाले प्रत्येक हप्ता बिरामीको संख्याको आधारमा उत्पादन गरिने यादवको भनाइ छ । प्रतिरोधी क्षमता बढाउन रिसर्च सेन्टरले विभिन्न स्थानीय जडीबुटीको प्रयोग गरिरहेको छ ।

अनुसन्धान केन्द्रका अनुसार, अस्पताल भर्ना भएका ९० प्रतिशतभन्दा बढी बिरामी सात दिनमै पूर्णतया निको भएर घर फर्केका छन् । डा.यादव भन्छन्, ‘उपचार सुरु गरेको सात दिनमा पुनः परीक्षण गर्दा अधिकांश बिरामीमा नेगेटिभ देखिन्छ । यसबाहेक हामीकहाँ सघन स्वास्थ्य सेवा (आइसियू) उपलब्ध नभएकाले हालसम्म जम्मा नौजना संक्रमित मात्रै थप स्वास्थ्य समस्या देखिएर अन्य अस्पताल रिफर गरेका छौँ । यी सबै मिर्गौला, मुटु, श्वासप्रश्वाससँग जटिल समस्या र शल्यक्रिया गरेका बिरामी हुन् ।’

इम्युनिटी पावर बढाउन वैकल्पिक पद्धति
आइसोलेसनमा बस्दा सँगै उपचाररत संक्रमितमा समस्या देखिँदा अन्य बिरामीमा पनि त्रास बढेको पाइन्छ । लक्षण देखिएका संक्रमितको सम्पर्कमा बस्दा आफूलाई पनि लक्षण देखिने हो कि भन्ने मनोविज्ञानले असर पारिरहेको चिकित्सक बताउँछन् । बिरामीको मनोविज्ञान उच्च राख्न स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिइएको यादवले सुनाए । योसँगै अनुसन्धान केन्द्रले काउन्सिलिङ, म्युजिक थेरापी, योगा र मेडिटेसनको समेत अभ्यास गराउँदै आएको छ । 

‘बिरामीको मनोबल उच्च राख्न हामीले उपचारसँगै अन्य विकल्प पनि खोजिरहेका छौँ । बेलुकाको समयमा भजन र नरम संगीत सुनाउने, दिउँसो बिरामीलाई काउन्सिलिङ गर्ने, बिहानको समयमा योग, प्रणायाम र मेडिटेसनको अभ्यास गराइरहेका छौँ,’ निर्देशक यादव भन्छन्, ‘सामान्यतः संक्रमितको सम्पर्कमा बसेर योग ध्यान सिकाउन नसकिने भएकाले सल्लाह दिएर अभ्यास गराइरहेका छौँ । जानेका संक्रमितले एकअर्कालाई सहयोग गरिरहेका हुन्छन् ।’ 

संक्रमितमा प्रतिरोधी क्षमता सकेसम्म बलियो बनाउने केन्द्रको उद्देश्य रहेको उनी बताउँछन् । ‘जसका लागि हामीले औषधिसँगै खानपान र व्यायाममा ध्यान दिइरहेका छौँ । घरमै आइसोलेसनमा बसेका व्यक्तिलाई पनि जडीबुटीको प्रयोग, शारीरिक अभ्यासमा ध्यान दिन सुझाब दिइरहेका छौँ,’ उनी भन्छन्, ‘कोरोनाको भ्याक्सिन र निश्चित औषधि नबन्दासम्म घरायसी जडीबुटीको प्रयोग राम्रो विकल्प बन्न सक्छ ।’