मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७७ भदौ २३ मंगलबार ०४:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरस्वतीलाई सहयोग गर्न नमोबुद्ध नगरपालिका तत्पर, देश–विदेशबाट सहयोगको प्रस्ताव

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ भदौ २३ मंगलबार ०४:००:००

मेयर टिपी शर्मा (तिमल्सिना) भन्छन्– सरस्वती मैनालीको पीडा पत्रिकामार्फत थाहा पाएँ, साह्रै दुःख लाग्यो । उनीहरू हाम्रै नगरपालिकाका स्थानीय रहेछन् । उनीहरूलाई आवश्यक जुनसुकै सहयोग गर्न हामी तयार छौँ । उपचारका लागि आवश्यक प्रबन्ध हामी मिलाउँछौँ । केटाकेटीको पढाइमा पनि हामी सहयोग गर्छौँ ।

तरकारी बिक्री गर्दा प्रहरीले दुर्व्यवहार गरेकी काभ्रे नमोबुद्ध नगरपालिका–६ कानपुरकी ३९ वर्षीय सरस्वती मैनाली (सुभद्रा)को परिवारलाई नमोबुद्ध नगरपालिकाले सहयोग गर्ने भएको छ । दैनिक गुजाराका लागि घरघर पुगेर तरकारी बेच्दै आएकी मैनालीको पीडा सार्वजनिक भएपछि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । 

चाबहिल गोपीकृष्ण हलनजिकै डेरामा बस्ने मैनालीबारे सोमबारको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा (तिमल्सिना)ले मैनालीको परिवारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सरस्वती मैनालीको पीडा पत्रिकामार्फत थाहा पाएँ, साह्रै दुःख लाग्यो । उनीहरू हाम्रै नगरपालिकाका स्थानीय रहेछन् । उनीहरूलाई आवश्यक जुनसुकै सहयोग गर्न हामी तयार छौँ । उपचारका लागि आवश्यक प्रबन्ध हामी मिलाउँछौँ । केटाकेटीको पढाइमा पनि हामी सहयोग गर्छौँ,’ मेयर शर्माले नयाँ पत्रिकासँग भने ।

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा (तिमल्सिना)

त्यस्तै, अमेरिका, अस्ट्रेलियालगायत विभिन्न ठाउँबाट सम्पर्क गरेर विभिन्न व्यक्तिहरूले सरस्वती मैनालीलाई सहयोगको प्रस्ताव गरेका छन् । सम्पर्क गर्नेहरूलाई सरस्वतीकै बैंक खाता नम्बर उपलब्ध गराएको छ ।

मैनालीका दुई छोराछोरी सञ्जीव र सुस्मिता छन् । सुस्मिता स्नायु प्रणालीको समस्याबाट पीडित छिन् । उनी कक्षा १० मा अध्ययनरत छिन् । सञ्जीव कक्षा ६ मा पढ्छन् । सवारी दुर्घटनामा परेका उनका श्रीमान् ४१ वर्षीय शम्भु पनि नसासम्बन्धी रोगबाट पीडित छन् । सरस्वती आफैँ पनि मिर्गाैला र पाठेघरको समस्याबाट पीडित छिन् । औषधि उपचारमा मात्रै उनीहरूको मासिक पाँच हजार खर्च हुन्छ । 

खर्च जुटाउन पहिलो चरणको लकडाउनमा सरस्वती गाडा लिएर चाबहिल चोक निस्केकी थिइन् । यही क्रममा उनलाई प्रहरीले दुव्र्यवहार गरेको थियो । त्यहीवेला खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । सरस्वतीका अनुसार अटेर गरेको भन्दै त्यसवेला लिएर गएको ढक–तराजु अझैसम्म पनि प्रहरीले फिर्ता गरेको छैन । 

अहिले तरकारी बेच्न छिमेकीले दिएको ढक–तराजु प्रयोग गरिरहेको सरस्वतीले बताइन् । ‘प्रहरीले त्यसवेला ढक–तराजु लिएर गयो । त्यो अहिलेसम्म फिर्ता गरेको छैन,’ उनले भनिन्, ‘तरकारी त बेच्नैपर्‍यो, नत्र गुजारा गर्न गाह्रो हुन्छ । एकजना छिमेकीले केही समयका लागि ढक–तराजु दिएका छन् । अहिले त्यही चलाइरहेकी छु ।’

शारीरिक पीडा भुल्न निम्स र ब्रुफिन प्रयोग गर्ने उनले छोराछोरीको भविष्यको चिन्ताले निकै सताउने गरेको बताइन् । त्यसमा पनि उनलाई नसाकी रोगी छोरीको चिन्ताले ज्यादा सताउने गरेको छ । छोराछोरीकै लागि जोखिम मोलेर काम गरिरहेको बताउँदै उनले भनिन्, ‘श्रीमान् र म दुवै बिरामी छौँ । छोराछोरी सानै छन्, यिनीहरूका लागि बाटो देखाउन पाए हुन्थ्यो । अझ छोरीको चिन्ता धेरै लाग्छ ।’ 

याे पनि पढ्नूस्