Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २२ सोमबार १७:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छोटो दूरीको उत्कृष्ट पर्यटकीय गन्तव्य दुधेदह (फोटोफिचर) 

Read Time : > 1 मिनेट
२०७७ भदौ २२ सोमबार १७:५६:००

खार्पुनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने दुधेदह ताल प्रचारप्रसार अभावले ओझेल परेको छ । विशेषगरी छोटो यात्रामै उत्कृष्ट पर्यटकीय गन्तव्यको स्वाद लिन चाहनेहरूका लागि रायाँ र थालीगाउँबीचको दुधेदह उपयुक्त हुने गरेको छ । 

दुधेदहलाई सरकारले नयाँ सय पर्यटकीय गन्तव्यको सूचीमा समेत छनाेट गरेको छ । तर, आवश्यक प्रचारप्रसार अभावमा यो दह जिल्लाभित्रै पनि गुमनाम छ ।

स्थानीयस्तरमा भने कोही मानिस मरेमा पवित्र तीर्थस्थल दुधेदह पुगेर पाप कटाउने गरेको खार्पुनाथ गाउँपालिका–२ का नवराज छन्त्यालले बताए । तर यो स्थनामा जाने सहज बाटो नहुँदा निकै कठिन हुने छन्त्यालको भनाइ छ । हुन त दुधेदह मात्रै होइन हुम्लाका अन्य पर्यटकीय स्थलले पनि आवश्यक प्रचारप्रसार पाएका छैनन् । पर्यटकीय गन्तव्य विकासमा स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य नहुँदा प्रचुर सम्भावना बोकेका हुम्लाका पर्यटकीय गन्तव्य ओझेलमा परेको टच कैलाश ट्राभल्स एजेन्सीका क्षेत्रीय प्रबन्धक विष्णु रावतले दुखेसो गरे । करिब पाँच हजार मिटर उचाइमा रहेको दुधेदह ताल पदयात्राका क्रममा यहाँ पाइने विभिन्न किसिमका जडीबुटी, फुल्ने अनौठा र सुन्दर फूल अर्को आकर्षण भएको उनले बताए ।

जडीबुटीको केन्द्र
दुधेदह ताल क्षेत्र कटुकी, जटामासी, सुगन्धवाल, पाँच औले, सेन्टाइनोजस्ता जडीबुटीको भण्डार पनि हो । तर, पहिचान नहुँदा अझै भर्जिन क्षेत्रको रूपमा रहेको छ । हिमाली भेगमा पाइने बुकी प्रजातीको घाँस, विभिन्न थरीका फूलले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउँछ ।

घुम्ने उपयुक्त समय
दुधेताल र हिमशृंखलाको मनमोहक दृश्य हेर्नका लागि भदौ महिनाको सुरुदेखि मंसिर महिना अन्तसम्म राम्रो समय हो । खार्पुनाथ गाउँपालिका–३ का पूर्णबहादुर रोकायाका अनुसार जेठ, असार, साउन महिनामा हुस्सु लाग्ने भएकोले भदौ, असोजदेखि मंसिर उपयुक्त समय हो ।

खार्पुनाथ गाउँपालिका–२ थाली र वडा नम्बर ३ रायाँ गाउँबाट छोटो दूरीमा दुधेदह ताल पुग्न सकिन्छ । तर खार्पुनाथ गाउँपालिकाको लेख, छिप्रा माझगाउँबाट भने अलि टाढा हुन्छ । 

हिमाली क्षेत्र भएकाले यात्राका वेला खाजा नास्ता र बाक्लो ज्याकेट, टेन्टलगायत सामान बोक्नुपर्दछ । रायाँ गाउँबाट दुई घन्टा पैदलयात्रापछि रुगिखाँडा भन्ने स्थानमा पुग्न सकिन्छ । एकैदिनमा तालसम्म पुग्न नसकिने भएकाले बयाने भन्ने स्थानमा एक रात बास बस्नुपर्छ । भोलिपल्ट बिहान ताल दृश्यावलोकन गरी बेलुका रायाँगाउँ नै आइपुग्न सकिन्छ ।