मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ भदौ २२ सोमबार १७:२९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्सामा बजार अनुगमन तीव्र, दुई दिनमा आठ पसललाई कारबाही

Read Time : > 1 मिनेट
२०७७ भदौ २२ सोमबार १७:२९:००

पर्साका उपभोक्ताले ठगिएको गुनासो गरेपछि केही दिनयता स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा व्यापारीले लापरबाही गरेको फेला पारेपछि सोमबार वीरगन्जका पाँचवटा पसललाई पाँच हजारदेखि २० हजारसम्म जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख जितबहादुर भण्डारीकोे नेतृत्वमा खटिएको अनुगमन टोलीले पाँचवटा पसललाई ७० हजार रुपैयाँ जरिवाना गरेको हो । वीरगन्ज महानगरपालिका– १९ विन्ध्यबासिनीस्थित मनीष गल्ला भण्डार एन्ड ट्रेड सप्लाइयर्सलाई २० हजार, शशी किरानालाई २० हजार, सन्दीप किराना तथा गल्ला भण्डार सप्लाइयर्सलाई २० हजार र वीरगन्ज–१३ राधेमाईको आंशिका जनरल स्टोरलाई पाँच हजार र चन्दन ट्रेड इन्टरनेसनललाई पाँच हजार जरिवाना गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक र प्रहरीसहितको अनुगमन टोलीले विन्ध्यबासिनी र राधेमाईमा खाद्यान्न र किराना पसलमा सोमबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरूले मूल्यसूची नराखेको, खरिद र बिक्री बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका सामान सञ्चित गरी राखेको फेला परेकाले जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीप खङखत्वेले जानकारी दिए । 

आर्थिक जरिवानाका साथै सम्बन्धित पसलका सञ्चालकलाई खाद्य वस्तुहरूको कालोबाजारी तथा मूल्य वृद्धि नगरी बिक्री–वितरण गर्न निर्देशन पनि दिइएको खङखत्वेले बताए । कोरोनाको महामारीमा पसलेहरुले मूल्यवृद्धि गर्नुका साथै म्याद गुज्रिएका सामान बिक्री गरेको गुनासो उपभोक्ताबाट आउन थालेपछि बजार अनुगमन गर्न थालिएको खत्वेले बताए ।
उनले सम्पूर्ण व्यवसायीलाई पसलमा मूल्यसूची, खरिद र बिक्री बिल, दर्ता प्रमाणपत्र अनिवार्य रूपमा राख्न तथा यस्तो समयमा कालोबजारी नगर्न आग्रह गरेका छन् । यसअघि आइतबार वीरगन्जको पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार तथा पानगल्लीमै रहेको न्यू सन्तोष जनरल स्टोर, जय पान पसल सेन्ट र रानीघाटस्थित न्यू हरिओम किराना पसललाई जनही २० हजार जरिवाना गरेको थियो ।