मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ भदौ २२ सोमबार १३:१०:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

युएस ओपनमा जोकोभिक अयोग्य घोषित

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ भदौ २२ सोमबार १३:१०:००

नियम भनेको नियम नै हो । यसमा ठूलो वा सानो भन्ने हुनुहुँदैन । 

नियमले सबैलाई एकै रूपले व्यवहार गर्छ । नराम्रो काम गर्ने जोकोही व्यक्ति वा खेलाडी कारबाहीमा पर्छन् । 

वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनमा सोमबार यस्तै भयो । पुरुषतर्फ प्रिक्वार्टरफाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिकले यस्तै सामना गरे । स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्टाविरुद्ध जोकोभिकले प्रतिस्पर्धा गरेका हुन् । 

पहिलो सेटको ११औँ गेममा जोकोभिकले साइड लाइन्सम्यान (जर्ज) लाई टेनिस बल प्रहार गरे । जोकोभिकले साइड लाइन्सम्यानलाई नै भनी बल प्रहार गरेका होइनन् । 

भिडियोअनुसार जोकोभिकले खल्तीबाट निकालेको बल बाहिर पठाउन ऱ्याकेटले प्रहार गरेका थिए । उनले हुत्याएको बल सीधै साइड लाइन्सम्यानको घाँटीमा लाग्यो । 

ती लाइन्सम्यान कोर्टमै लडिन् । तत्कालै जोकोभिक ती महिलाको अवस्था बुझ्न नजिक गए । 

सम्भवतः जोकोभिकले साइड लाइन्सम्यानसँग माफी मागेका हुनुपर्छ । जोकोभिकले प्रतियोगिताकै नियमविपरीत र अमानवीय काम गरेको ठहर अम्पायरले गरे । 

टेक्निकल कमिटी तथा जर्जहरूबीच लामो छलफल चलेको थियो । अन्ततः जुरीले जोकोभिकलाई प्रतियोगितामा अयोग्य (डिस्वालिफाइड) घोषणा गरे । 

यससँगै जोकोभिक युएस ओपनको चौथो चरणबाटै बाहिरिए । जोकोभिकको १८औँ ग्रान्डस्लाम जित्ने सपना तुहिएको छ । 

यसपटक राफेल नाडाल र रोजर फेडेररको अनुपस्थितिमा जोकोभिकलाई युएस ओपनको प्रमुख दाबेदार खेलाडीका रूपमा हेरिएको थियो । 

प्रतियोगितामा अयोग्य हुनुअघि जोकोभिक पहिलो सेटमा ६–५ ले अघि थिए । खेल उनकै हातमा थियो । 

युएस ओपन टेनिस एसोसिएसनले ग्रान्डस्लामको नियमअनुसारै जोकोभिकलाई कारबाही गरिएको जनाएको छ । 

ग्रान्डस्लामको नियमअनुरूप खेलाडीले अन्य व्यक्तिको ज्यान नै जोखिममा पर्ने गरी कार्य गरेको देखिन्छ, प्रतियोगिताको रेफ्री जुरीले नै जोकोभिकलाई अयाेग्य घोषणा गरेका छन् । उनी २०२० को युएस ओपनमा डिस्वालिफाइड भएका छन्– युएस ओपनको वेबसाइटमा भनिएको छ । 

अब जोकोभिकले युएस ओपनबाट केही पनि हात पार्ने छैनन् । उनको वरीयता अंक तथा चौथो चरणसम्म पुगेकोबापत आउने रकम पनि खोसिनेछ । 

कोरोना भाइरस महामारीबीच जोकोभिक वर्षको पहिलो ग्रान्डस्लामा जित्ने अभियानमा थिए । 

अहिलेसम्म जोकोभिक स्पेनिस खेलाडी बुस्टासँग पराजित भएका थिएनन् । जोकोभिक प्रतियोगिताबाट बाहिरिएपछि सन् २०१४ यता पहिलोपटक शीर्ष पाँच वरीयताबाहेक नयाँ खेलाडी विजेता बन्ने पक्का भएको छ । 

सन् २०१६ मा जोकोभिक, फेडेरर र नाडालबाट उपाधि खोस्दै स्टान वारिन्काले युएस ओपन जितेका थिए । 

जोकोभिक बुस्टासँगको प्रतिस्पर्धामा सहज जित निकाल्ने योजनाका साथ आएका थिए । यद्यपि बुस्टाले पहिलो सेटको ११औँ गेमसम्म पनि उपाधि दाबेदार जोकोभिकलाई चुनौती दिइरहेका थिए । 

बुस्टाले कतिपय अवस्थामा विजयी अंक बटुल्दा जोकोभिक नर्भस तथा अनियन्त्रित भएका थिए । पहिलो सेटको ५–४ को अवस्थामा बुस्टा ०–४० ले पछि थिए । उत्कृष्ट पुनरागमन गर्दै बुस्टाले खेल ५–५ को बराबरीमा पुऱ्याए । बुस्टाले नम्बर एक खेलाडीविरुद्ध ब्याक टु ब्याक ड्युस गर्न सफल भए । 
यही गेमबाट जोकोभिकको व्यवहार हल्का परिवर्तन आयो । अर्को गेम अघिसम्म उनले त्यस्तो केही व्यवहार गरेनन् । 

खेल हातमै भए पनि सहज अंक बटुल्न नसक्दा जोकोभिक निराश देखिन्थे । यसैअनुरूप नै उनले दायाँबायाँ हेर्दै नहेरी बल प्रहार गरे । त्यही बल नै साइड लाइन्सम्यानको घाँटीमा परेको हो । जोकोभिकले रेफ्री तथा जर्जसँग आफूले जानाजान बल प्रहार नगरेको बताएका छन् । 

जर्ज र रेफ्रीबीच दश मिनेटसम्म चलेको छलफलमा जोकोभिकलाई समावेश गराइएको थिएन । उनलाई टाढा नै राखिएको थियो । 

एकैपटक रेफ्रीले जोकोभिकलाई डिस्क्वालिफाइड भएको जानकारी दिए । जोकोभिकले केही प्रतिक्रिया दिएनन् । सीधै स्पेनिस खेलाडी बसेको स्थानमा उनी गए । बुस्टालाई बधाई दिँदै जोकोभिक कोर्टबाट निराश हुँदै बाहिरिए । 

रमाइलो के भयो भने बुस्टाले कोर्टमा के भइराखेको थियो भन्ने हेक्का नै राखेका थिएनन् । उनी आफ्ना प्रशिक्षकसँग योजना बनाइरहेका थिए । 

एकैपटक जोकोभिकले अर्को चरणका लागि बधाई दिन आउँदा उनी स्तब्ध नै भए । 

‘जोकोभिकले बधाई दिए, खेलमा के भएको भन्ने केही थाहा थिएन, जोकोभिकले प्रहार गरेको बलले साइड लाइन्सम्यानलाई लागेको थाहा थियो र रेफ्री र प्रावधिक कमिटीबीच छलफल भइरहेको थियो, एकैपटक यस्तो निर्णय आउँदा म स्तब्ध नै भए,’ बुस्टाले भने, ‘अझ म अर्को सेटमा कसरी खेल्ने भनी सोचिरहेको थिएँ ।’ 

बुस्टाले जोकोभिकप्रति सदभाव राख्दै नियम सबैका लागि एक भएको बताए । 

उनी भन्छन्, ‘यो घटनाप्रति म दुःख छु, जोकोभिक जतिको खेलाडी एक सानो गल्तीका कारण बाहिरिएका छन्, उनका लागि आज खराब दिन थियो, तर नियमभन्दा कोही पनि माथि रहन सक्दैन, मेरो विचारमा यो एउटा उदाहरणीय निर्णय थियो ।’ 

धेरैजसो टेनिस विज्ञहरूले जोकोभिकलाई एकपटक चेतावनी वा मौका दिनुपर्ने धारणा राखेका छन् । एकैपटक यस्तो निर्णय लिन नहुनु उनीहरूले बताएका छन् । 

‘कम्तीमा जोकोभिकलाई एकपटक चेतवानी दिनुपर्ने थियो, तीनपटक पनि यस्तो कार्य गरेमा उनलाई अयोग्य घोषणा जायज नै थियो, तर एकैपटक निर्णय गर्नु  जोकोभिकको हकमा राम्रो भएन,’ डेभिस कपका खेलाडी स्मिथले भने । 
यसैगरी महिलातर्फकी १८ ग्रान्डस्लाम च्याम्पियन मार्टिना नभ्रातिलोभाले युएस ओपनमा अहिलेसम्म नदेखेको घटना भएको बताइन् । 

‘जोकोभिकले मूर्खतापूर्ण काम गरेको हो, कसैलाई पनि जानाजान वा अन्जानबस बलले प्रहार गर्नुहुन्न, मेरो विचारमा निर्णय सही हो, अफिसियलले धेरै विचार गरी नै निर्णय सुनाए,’ मार्टिनाले भनिन् । 

एक सय ४० वर्षको ग्रान्डस्लाम इतिहासमा जोकोभिक तेस्रो अयोग्य खेलाडीमा परेका छन् । 

सन् १९९० मा अस्ट्रेलियन ओपनबाट जोन मच्रनो र २००० को फ्रेन्च ओपनमा स्टफिन पनि अयोग्य हुँदै प्रतियोतिगाबाट बाहिरिएका थिए । 

जोकोभिकले इन्स्टाग्राममा घटनाप्रति दुःख मनाएका छन् । 

उनले भनेका छन्, ‘घटनाले म आफू पनि दुःखी भएको छु, युएस ओपनसँगै सबै समर्थकसँग माफी माग्न चाहन्छु साथै बलले घाइते भएकी महिलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’