मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २२ सोमबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रि-ओपन सेसनमा बढेको बजारले नियमित कारोबारमा पाएन निरन्तरता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २२ सोमबार ०८:२०:००

प्रि–ओपन सेसनमा बजार उच्च दरमा बढे पनि नियमित कारोबारमा भने आइतबार सेयर बजार खुलेको केही समयदेखि नै ओरालो लाग्यो । अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको बहिर्गमनलाई रणनीति बनाइरहेकाहरूमा आइतबार उच्च दरमा बजार बढ्ने अनुमान थियो । तर, बजार १० अंकले घटेर १ हजार ४ सय ९९ मा आइपुगेको छ । 

प्रि–ओपनमा बजार बढ्ने आकांक्षा देखाइएको भन्दै केही लगानीकर्ताले सामाजिक सञ्जालमा यो व्यवस्था हटाउनुपर्ने माग गर्न थालेका छन् । २०५० सालदेखि नै प्रचलनमा रहेको यो व्यवस्था अहिले आएर विवादित भएको छ । ब्रोकर र केही लगानीकर्ताले मिलेमतोमा पहिलो सत्रमा बजार बढेको देखाउने गरेको आरोपसमेत केहीले लगाइरहेका छन् । 

प्रि–ओपन सेसनमा समेत सबै लगानीकर्ताको पहुँच पुग्ने भएकाले यसलाई म्यानुपुलेसन (चलखेल) अस्त्रका रूपमा लिन नमिल्ने नेप्सेका अधिकारीहरू बताउँछन् । 

‘केही ठूला लगानीकर्ताले नै प्रि–ओपन सेसनलाई विवादित बनाइरहेको पायौँ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘यो अभ्यास संसारभर छ, यदि अघिल्लो दिन बजार बन्द भएपछि कम्पनी वा अर्थ क्षेत्रमा कुनै ठूलो घोषणा वा घटना भएमा त्यसको प्रभाव सामान्यीकरण गर्न गरिन्छ ।’ लगानीकर्तामा कतिपय यो व्यवस्था आवश्यक भए पनि केही परिमार्जन आवश्यक रहेको बताउँछन् । 

‘आजै पहिलो सत्रमा बजार बढाएर लगानीकर्तालाई चलाखहरूले झुक्याए,’ लगानीकर्ता तथा सेयर बजारका जानकार दिलीप मुनकर्मीले भने, ‘नियमित बजारमा ४ प्रतिशत बजार बढ्दा कारोबार रोक्न सर्किट ब्रेक लगाइन्छ, तर प्रि–सेसनमा ५ प्रतिशतसम्म घटबढ गरेर मूल्य राख्न दिने चलन छ ।’

सर्किट ब्रेकको नीति परिमार्जन गर्ने वा प्रि–ओपन सेसनको कारोबारलाई बजारको नियमित कारोबारमा नदेखाउने व्यवस्था हुनुपर्ने सुझाब मुनकर्मीको छ । नियमित बजारमा भने सेयरको मूल्य आदेश दिँदा एकपटकमा दुई प्रतिशतभन्दा बढी घटबढ गर्न पाइँदैन । प्रि–ओपनमा बढेको मूल्यमा घटेर बिक्री गर्न नचाहने प्रवृत्तिले नियमित कारोबारमा केही कम्पनीको कारोबार नै रोकिने गरेको समेत मुनकर्मीको भनाइ छ । 

यद्यपि, पहिले सीमितले मात्रै ब्रोकरमार्फत आदेश दिने अवस्था भए पनि अहिले अनलाइन कारोबार गर्नेको संख्या नै करिब ६५ हजार रहेकाले सबैले एउटै नियतले प्रि–ओपनमा कारोबार नगर्ने भएकाले चलखेल नहुने नेप्सेको भनाइ छ ।  

प्रि–ओपन सेसनमा लगानीकर्ताले ५ प्रतिशत मूल्य घटबढ गरेर भाउ राख्न पाउँछन् । यसरी दिइएको आदेशमा खरिदकर्ताबाट राखिएको सस्तो दर र बिक्रीकर्ताबाट राखिएको महँगो दरलाई प्रणालीले नै तालिका बनाएर एउटा मिलनबिन्दुमा पुगेपछि कारोबार सम्पन्न गराइदिन्छ । 

खतिवडाको बहिर्गमनले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता बजार घटेपछि निराश भएका छन् । मूलतः बजारमा उपलब्ध पर्याप्त तरलताका कारण बढिरहेको बजारमा खतिवडाको बहिर्गमनलाई पनि केहीले लगानी रणनीति बनाइरहेका थिए ।

तर, बजार करिब २ वर्ष ९ महिनायताकै उच्च बिन्दुमा आएकाले पनि करेक्सन अपेक्षित नै थियो । मुलुकको आर्थिक अवस्था खस्किरहे पनि लगानी विकल्पका रूपमा सेयर बजार मात्र हुँदा बजार बढिरहेको थियो । अहिले बढेको बजारबाट लगानीकर्ता मुनाफा सुनिश्चित गर्नसमेत लागेका छन् । बजारले १ हजार ५ सयको मनोवैज्ञानिक तहमा प्रतिरोध परीक्षणसमेत गरिरहेको छ । 

आइतबार १ सय ९१ कम्पनीको सेयर किनबेच भएर २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । बजार घटे पनि लगानी रकम उलेख्य नै रहेको छ । कारोबारमा आएकामध्ये व्यापारमूलक र सामूहिक लगानी कोषबाहेक अन्य सबै समूहको परिसूचक घटेको छ ।