मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २१ आइतबार १२:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य सेवाको दुर्दशा : मनाङमा भेन्टिलेटर पुग्यो, तर चलाउने मान्छे छैन

Read Time : > 1 मिनेट
२०७७ भदौ २१ आइतबार १२:१८:००

हिमालपारिको जिल्ला मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा दुई महिनाअघि पुगेको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन । 

अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई महिनाअघि भेन्टिलेटर पुगेको हो । तर, दुई महिना बितिसक्दा पनि उक्त सामान प्रयोगमा आउन सकेको छैन ।

कोरोना संक्रमितको संख्या बढेको अवस्था र बिरामीको अवस्था जटिल बनेका वेला भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै दुई महिनाअघि भेन्टिलेटर ल्याइएको थियो ।

मनाङ जिल्लामा एकजना मात्र डा. सन्तोष अधिकारी कार्यरत छन् ।

‘मनाङ जिल्लाभर अस्पतालमा कार्यरत डाक्टर म मात्र हुँ ।  कोभिडका बिरामीका लागि उपचार गराउन आइसियूका सबै सामग्री छन्, तर जडान गरिएको छैन,’ उनले भने, ‘कम्तीमा दुईजना डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’

उनले दैनिक बिरामी हेर्ने र कोरोना संक्रमितलाई पनि हेर्ने काम गरेका छन् ।

‘भेन्टिलेटरको आवश्यकता त्यतिवेला पर्छ जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ । पछिल्लो समय कोरोनाको बिरामीको संख्या र उनीहरूलाई देखापरेको समस्या हेर्दा भेन्टिलेटर आवश्यक सामग्री हो । तर, भेन्टिलेटर मात्र पठाएर हुँदैन । त्यसलाई सञ्चालन गर्न दक्ष जनशक्तिको पनि उत्तिकै आवश्यकता पर्छ,’ डा. अधिकारीले भने । 

अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसियू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए । 

उनका अनुसार हाल जिल्ला अस्पतालमा सबै गरी चारजना कर्मचारी छन् । सिनियर अहेब प्रमुख अन्सारी, डाक्टर सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करार कर्मचारी प्रकाश रोक्का छन् । 

दुईजना डाक्टरको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर एकजना पनि छैनन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । मनाङमा भएका दक्ष जनशक्ति एकजना डाक्टरलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरेर पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो । 

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार जिल्लामा शुक्रबारसम्म कुल कोरोना संक्रमित ६ जना छन् । जसमध्ये चारजना निको भएका छन् भने दुईजना आइसोलेसनमा छन् ।