१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २१ आइतबार ०८:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्टरनेट प्रयोगकर्तामध्ये ८० प्रतिशतले हेर्छन् भिडियो : टिकटकको प्रयोग ७५ प्रतिशत बढ्दा इन्टरनेट नै ढिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २१ आइतबार ०८:१२:००

कोरोना संक्रमणले लकडाउन सुरु भएपछि नेपालमा टिकटकको प्रयोग ७५ प्रतिशतले बढेको छ । त्यस्तै, नेटफ्लिक्सको ५२ प्रतिशत, गुगल ३७ प्रतिशत र फेसबुक ४७ प्रतिशतले बढेका छन् ।

लकडाउनका कारण घरभित्रै इन्टरनेट प्रयोगगर्नेहरूमा ८० प्रतिशतले भिडियो हेर्ने गरेको समेत सेवाप्रदायकहरूले बताउँदै आएका छन् । त्यस्तै, वर्क फ्रम होम र अनलाइन क्लासले पनि नेपालमा इन्टरनेट ब्यान्डविथको माग बढेको सेवाप्रदायकको दाबी छ । 

इन्टरनेट स्पिडको निर्धारण सेवाप्रदायकले मात्र गर्न नसक्ने

इन्टरनेट स्पिडको निर्धारण इन्टरनेट सेवाप्रदायकले मात्रै गर्न नसक्ने सुबिसु केबल नेट प्रालिका सिइओ विनयमोहन साउदले बताए । उनले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारणले गर्दासमेत इन्टरनेट स्लो हुने दाबी गरे ।

भारतका टाटा, एयरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमताभन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो भएको उनले बताए । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौँ । उनले उपभोक्ता र सर्भर वेब एपबीचको माध्यम मात्र भएकाले तीनवटा पक्षमध्ये कुनै एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुने, तर आफूले मात्र गाली खानुपर्ने उनको भनाइ थियो । 

भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । उनले भने, ‘अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरै इन्टरनेट खपत गर्ने साइट आउला । त्यसवेला पनि इन्टरनेट केही स्लो हुन सक्छ ।’ त्यसैले ग्राहकको गुनासो पूर्ण रूपमा समाधान हुन नसक्ने उनको भनाइ छ । 

सेवाप्रदायकलाई मात्र दोष दिएर हुँदैन : आनन्दराज खनाल, दूरसञ्चारविज्ञ

टिजेएफले गरेको भर्चुअल अन्तक्र्रियामा दूरसञ्चारविज्ञ आनन्दराज खनालले देशमा भइरहेका अनेक अभावका बीच इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरूले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए । महामारीका वेलामा इन्टरनेटको गुणस्तर सुधारका लागि विकसित देशले ब्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छुट दिने निर्देशनबाहेक अरू केही नगरेको खनालको आरोप छ । 

खनालले भने, ‘इन्टरनेटको गुणस्तर सेवाप्रदायकको हातमा मात्रै छैन । इन्टरनेट आफैँमा एउटा ठूलो प्रणाली हो । सरकार, नियामक र उपभोक्ताले धेरै बुझ्न बाँकी छ । यदि सेवाप्रदायकको दुःख बुझ्ने हो भने सेवाप्रदायकलाई गाली गर्ने थिएनौँ होला ।’ 

कोरोनाका कारण समस्या झनै बढ्दो

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पिडमा थप समस्या भएको छ । विशेष गरी टिकटक, फेसबुक र युट्युबका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन हम्मे–हम्मे परेको सुबिसु केबल नेट प्रालिका सिइओ विनयमोहन साउदको भनाइ छ । 
भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक बोहराले कोरोनापछि इन्टरनेट सेवाप्रदायकलाई झनै ठूलो समस्या परेको बताए । बोहराले भने, ‘इन्टरनेटको माग धान्नै नसक्ने गरी बढेको छ, हाम्रा उपकरण बिग्रिरहन्छन् । यस्तो वेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ । भनेका वेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौँ ।’