मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २१ आइतबार ०६:५९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेशले पठाएको राहत गोदाममा कुहिँदै, विपन्नलाई संघसंस्थाले खुवाउँदै

Read Time : > 2 मिनेट
२०७७ भदौ २१ आइतबार ०६:५९:००

लकडाउनका समयमा प्रदेश २ सरकारले पठाएको राहत सामग्री सिराहाका स्थानीय तहले अझै वितरण गरेका छैनन् । विपन्न परिवार संघसंस्थाले दिएको राहत सामग्रीले गुजारा चलाइरहेका छन् । 

राहत सामग्री वितरण नगरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ साउनमा औरही गाउँपालिकामा छापा हानेको थियो । त्यतिवेला औरही– ३ वडा कार्यालयले हतारहतार राहत वितरण गरेको थियो । तर, अन्य वडाले अझै राहत वितरण नगरेको स्थानीय बासिन्दाको गुनासो छ । 
त्यस्तै, सिराहा नगरपालिका– २२ सन्हैठाकामा रहेको वडा कार्यालयमा अध्यक्ष बस्ने कोठामै राहतका सामग्री राखिएको छ । राहत सामग्री वडा कार्यालयमा आएको तीन महिना भएको छ । तर, अझै विपन्न परिवारलाई वितरण गरिएको छैन । 

सिराहा नगरपालिका– ९ को गोदाममा पनि प्रदेश सरकारले विपन्नका लागि पठाएको राहत सामग्री राखिएको छ । कुहिन लागेको भए पनि वितरण नगरिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सिराहा नगरपालिका वडा नं. १३, १९, २०, २१ र २२ ले पनि प्रदेश सरकारले लकडाउनमा पठाएको राहत सामग्री वितरण गरेका छैनन् । वडा नं. ५ मा आएका ५८ मध्ये ३७ वटा प्याकेट राहत सामग्री वितरण गरिएको वडाध्यक्ष सुनील बैदा यादवले बताए । बाँकी २१ वटा प्याकेट राहत सामग्री गोदामै छन् । 

प्रदेश २ सरकारले विपन्नका लागि पठाएको राहत वितरण नगर्ने अर्को स्थानीय तह हो– अर्नामा गाउँपालिका । यो गाउँपालिकाका पाँचवटै वडाले राहत सामग्री अझै पनि वितरण गरेका छैनन् । अर्नामा गाउँपालिका– ५ का वडाध्यक्ष भोला मण्डलले राहत वितरण गर्न नसकिएको बताए । त्यो सामग्री अब वितरण गर्ने उनको भनाइ छ । 

कतिपय स्थानीय तहको वडा कार्यालयको गोदाममा राहत सामग्री कुहिन थालेको जनता समाजवादी पार्टीका युवा नेता वीरेन्द्र यादवले बताए । स्थानीय तहको लापरबाहीका कारण विपन्न परिवारले राहत सामग्री पाउन नसकेको उनको भनाइ छ । ‘यो त अति नै भयो । आफैँले वितरण गर्नुपर्नेमा प्रदेश सरकारले पठाएको सामग्री पनि गोदाममै थन्क्याएका छन्,’ उनले भने, ‘यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ ।’

सिराहाका गोलबजार, लहान र मिर्चैया नगरपालिकाका वडाले त राहत सामग्री लिएका पनि छैनन् । प्रदेश सरकारले पठाएको राहत सामग्री घरेलु तथा साना उद्योग कार्यालयले वडाहरूलाई उपलब्ध गराएको थियो । १६ वटा वडाले राहत सामग्री नलगेको घरेलु कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलबजार नगरपालिकाका १३ वटा वडा, मिर्चैया नगरपालिकाका दुईवटा र लहान नगरपालिकाका एकवटा वडाले राहत बुझेको छैन । 

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय सिराहालाई एक करोड ८९ लाख रुपैयाँ दोस्रो चरणमा राहत वितरणका लागि पठाएको थियो । १० वैशाखमा पठाए पनि घरेलु कार्यालयले १७ वैशाखमा टेन्डर प्रक्रिया थालेको थियो । एक करोड ७४ लाख सात हजार नौ सय ७६ रुपैयाँ टेन्डर स्विकारेको सुरज जेनरल अर्डर सप्लायर्स नगराइनले जेठ दोस्रो सातादेखि राहत सामग्री उपलब्ध गराएको घरेलु कार्यालय प्रमुख दीपेन्द्र यादवले बताए । 

उनका अनुसार राहत सामग्रीमा प्रतिपरिवारर २५ किलो चामल, दुई किलो मसुरोको दाल, एक लिटर खाने तेल, एक किलो नुन, आधा किलो सोयाबिन र एउटा हात धुने साबुन थियो । जिल्लाका एक सय ६४ मध्ये एक सय ४८ वडा कार्यालयलाई जेठ दोस्रो साता नै राहत हस्तान्तरण गरेको घरेलु कार्यालय प्रमुख यादवले बताए । प्रत्येक वडालाई ५८ प्याकेट वितरण गरिएको थियो । तर, अहलिेसम्म गरिब तथा विपन्न परिवारलाई राहत बुझाएको भर्पाई ६ वटा वडा कार्यालयले मात्रै बुझाएको उनले बताए । 

विपन्नलाई संघसंस्थाले सहयोग गर्दै
अहिले सिराहामा दोस्रोपटक १२ दिने निषेधाज्ञा थपिएको छ । रोजगारी नभएका विपन्न गरिब परिवारलाई खाद्यान्न सामग्री पुर्‍याउन संघसंस्थाले सदरमुकाम सिराहा, गोलबजार र लहानमा फुड बैंक स्थापना गरेका छन् । उनीहरूले हुनेबाट सहयोग संकलन गरेर नहुनेलाई वितरण गरिरहेका छन् । 

सिराहा युनाइट्स संस्थाले सदरमुकाममा ११ दिनदेखि राहत वितरण गरिरहेको छ । गोलबजारमा युवा समूहले र लहानमा वडा नं. ७ ले खाद्यान्न वितरणसँगै तयारी खाना उपलब्ध गराउँदै आएको छ । सिराहा युनाइट्समा संलग्न युवा जितेस कर्णले लकडाउन र निषेधाज्ञाले मर्कामा परेका सात सयभन्दा वढी विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको बताए । देश–विदेशबाट मनकारीले सहयोग पठाएपछि गरिब तथा विपन्न परिवारलाई खाद्यान्न पुर्‍याउन सहज भएको कर्णले बताए ।