१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ भदौ २१ आइतबार ०५:५९:००
Read Time : > 4 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

टिकटकमा खुम्चियो गीत–संगीत

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ भदौ २१ आइतबार ०५:५९:००

प्रायःजसो १५ सेकेन्डको भिडियो अपलोड हुने टिकटकमा गीतको स्थायी या अन्तराको एक टुक्रामाथि गीत बनाउने प्रचलन बढ्दो, टिकटक स्टारलाई फाइदा, स्रष्टालाई आर्थिक भार

अहिले प्रविधिले फड्को मारेको छ । सिडी क्यासेटको माध्यमबाट व्यापार हुने नेपाली गीत–संगीत डिजिटल बजारमा छिरिसकेको छ । यसका लागि युट्युब ठूलो प्लेटफर्म बनिदिएको छ । सँगसँगै गीत निर्माणका प्रक्रिया पनि फेरिएका छन् । प्रविधिको विकासले पहिलेभन्दा सहज बनेको छ गीत निर्माण गर्न । तर, अहिले श्रोताका लागि मात्र गीत बनाएर पुग्दैन । दर्शकका लागि पनि बनाउनुपर्ने अवस्था छ । 

गीतसंगीतमा हुने लगानी उठ्ने भनेकोचाहिँ कलाकारले पाउने कन्सर्ट, इभेन्ट, महोत्सव नै हुन् । एकदमै न्यून संख्याका गीतले मात्र युट्युबमार्फत लगानी सुरक्षित गर्ने गर्छन् । कतिपय अवस्थामा गीत चलेन भने चार पाँच लाख रुपैयाँको लगानी डुब्ने खतरा पनि उत्तिकै हुन्छ । झनै बुस्ट गरिएका गीतको मामिलामा त १५ लाख रुपैयाँ नाघ्ने जानकारहरू बताउँछन् । 

दैनिक दर्जनौँ संख्यामा गीत तथा भिडियोहरू युट्युबमा रिलिज हुन्छन् । तर, सबै गीत चल्छन् भन्ने हुँदैन । सबै कलाकार हिट हुन्छन् र मेला महोत्सव पाउँछन् भन्ने पनि हुँदैन । यस हिसाबले धेरै कलाकारको आर्थिक अवस्था राम्रो छ भन्ने हुँदैन । ऋणमा डुबेका कलाकार पनि उत्तिकै संख्यामा छन् । ऋणको भारले थेग्न नसकेपछि पलायन भएका उदाहरण पनि धेरै छन् । गीत निर्माण गर्न महँगो बजेट लाग्नु र संघर्षशील कलाकारको महँगो प्रोजेक्ट दर्शक, श्रोताले नरुचाइदिनुले कलाकारलाई तनाव पनि दिने गरेको छ । 

गायक सुमन सगरमको केही वर्षअघि एउटा गीत खुबै रुचाइयो, ‘म कुनै हतारमा छैन ।’ यसपछि केही समय उनी ग्याप बसे । अहिले नयाँ एल्बम ल्याउने तयारीमा छन् । तर, गीतको भिडियो नबनाई उनलाई धरै छैन । त्यसका लागि मोडेल र निर्देशक चाहियो । उनीहरू सबैको पारिश्रमिक महँगो छ । यस विषयले औधि तनाव दिने बताउँछन् सरगम । ‘अहिले जोखिमै धेरै छ । गीत बनाउन महँगो बजेट लाग्छ । डिजिटल प्लेटफर्मले मात्र लगानी उठाउन सक्दैन,’ गायक सुमन सरगम भन्छन्, ‘चार–पाँच लाख लगानी गरेर एउटा गीत तयार गर्न हजारपटक सोच्नुपर्ने हुन्छ ।’

सुरुसुरुमा गायक सरगमले मोडेल, म्युजिक भिडियो निर्देशकको रेट सुनैरै चकित खाए । झनै टिकटकमा प्रमोसनका लागि धेरै फ्लोअर्स भएका टिकटक स्टारलाई दिनुपर्ने रकम फलामको चिउरा चपाउनुसरह छ सरगमका लागि । भन्छन्, ‘एउटा गीत करोड क्लबमा पुर्‍याउन १५ देखि २० लाख रुपैयाँसम्म प्रमोसन र बुस्टमा खर्च भएका उदाहरण टन्नै भेटेको छु ।

नेपाली गीतसंगीतको व्यापारको क्षेत्रसँगै प्रमोसनको क्षेत्र पनि बदलिएको छ । पहिला नेपाल टेलिभिजनमा एउटा प्रोमो बजाउनकै लागि लाखौँ रुपैयाँ खर्च हुन्थ्यो । स्थानीय रेडियोमा विज्ञापन बनाएर बजाउन अर्को खर्च । अहिले त्यो खर्च टिकटक र सामाजिक सञ्जालमा बुस्ट गर्न प्रयोग भइरहेको देखिन्छ । 

पछिल्लो समय टिकटकले नेपाली गीतको प्रमोसनको ठूलो हिस्सा ओगटेको छ । प्रायःजसो १५ सेकेन्डको भिडियो अपलोड हुने टिकटकमा गीतको स्थायी या अन्तराको एक टुक्रामाथि टिकटक प्रयोगकर्ताले मोडलिङ गर्ने या भिडियो बनाउने प्रचलन बढेको छ । टिकटकमा जति धेरै भिडियो बन्छन्, त्यही हिसाबमा गीतको सफलताको निक्र्योल हुने गरेको कलाकारहरू बताउँछन् । चलेका टिकटक प्रयोगकर्तालाई पैसा तिरेर भिडियो बनाउन लगाउनेको भिड पनि बाक्लै छ । तर, पनि युट्युबमा भिडियोको भ्युज उस्तो बढेको देखिन्न । प्रचार र चर्चा टिकटकमै सीमित भएका दृष्टान्त प्रशस्तै छन् । सामाजिक सञ्जालको फाइदा र बेफाइदाको बहस आफ्नो ठाउँमा छ । यसले मानिसको जीवनशैलीमा पारेको असर र गरेको परिवर्तनको बहस संसारभर भइरहेकै छ । टिकटकमाथि पनि बहस भइरहेकै छ । सेन्सर छैन, यसमाथि विमर्श भइरहेकै छन् । अश्लील विषय पोस्ट पनि उस्तै हुन्छन् । 

संगीतकार हरि लम्साल भने नेपाली गीतको बजार र प्रमोसनमा आएको बदलावलाई समय र प्रविधिको उपज ठान्छन् । टिकटकमा गीतको प्रमोसनले स्रष्टालाई फाइदा नै गरेको बताउँछन् उनी । टिकटकमा हुने प्रमोसनले गीतको भ्युजमा माइलेज दिने र दर्शक–श्रोतासम्म छिटो पुर्‍याउनु फाइदाकै विषय रहेको लम्सालको तर्क छ । ‘तर, यसमा सेन्सर नभइदिनाले तात्कालिक रूपमा फाइदा देखिए पनि कालान्तरमा यसले नराम्रो प्रभाव पार्ने देखेको छु,’ उनी भन्छन्, ‘टिकटकका लागि छुट्टै गीतको टुक्रा तयार हुन्छ । स्थायी या अन्तराको टुक्राका लागि मात्र फोकस्ड हुनु भनेको गीत–संगीतको पसल थाप्नु हो । कलामाथि लामो समय समर्पण गरेका स्रष्टाका लागि यो राम्रो त हुँदै होइन ।’

अहिले संसारभर चलेको गीतको समय भने तीनदेखि पाँच मिनेटको हो । यही समयबीच गीतले कथा, संवेदना, भावना बोकेको हुन्छ । तर, टिकटकमा १५–२० सेकेन्डका गीतका टुक्राहरू हुन्छन् । टिकटकमा गीतको कथा, भावना टुक्रिने भएकाले असली गीतको परख गर्न नपाइने सम्भावना उस्तै प्रचुर हुन्छ । ‘१५ सेकेन्डमै त भावना, कथा अभिव्यक्त नहुन सक्छन् । यदि प्र्रमोसन मात्र भए पनि दर्शक त्यसैमा रुमल्लिएर पूर्ण गीत नसुन्न पनि सक्छन्,’ लम्साल भन्छन्, ‘त्यस्ता टुक्राले पनि पूर्णता पाउँछ भने त ठीकै हो । तर, आउँदैन भने त दुर्घटना हो गीतका लागि । यसकारण पनि टिकटकमा प्रमोसनको उद्देश्यले मात्र गीतका टुक्राहरू राख्नुहुन्न भन्ने लाग्छ । राम्रो सिर्जना त दर्शक–श्रोताले खोजीखोजी सुन्छन् । प्रमोसनमा मात्र किन मरिमेट्नुपर्‍यो !’ 

पछिल्लो समय गीत–संगीतको प्रमोसनमा मात्र ध्यान दिइरहेको झैँ देखिन्छ । गीतमार्फत प्राप्त आर्थिक लाभ या निर्माणमा लागेको लगानीबारे खासै ध्यान दिइएको पाइँदैन । यसबारे पनि कलाकारले सोच्नुपर्ने बताउँछन् संगीतकार अर्जुन पोखरेल । तर, गीतका लागि प्रमोसन पनि चाहिने भएकाले टिकटक आएपछि एक हिसाबले सजिलो भएको पोखरेलको अनुभव छ । ‘टिकटकमा प्रायः १५ सेकेन्डको भिडियो बन्ने हो । यसकारण टिकटकका लागि क्याची गीत बनाएर बाँकी कमजोर गीत बनाइएका उदाहरण पनि छन्,’ उनी भन्छन्, ‘यसले चाहिँ नेपाली संगीतलाई नै घाटा पु¥याइरहेको छ । साथमा सेन्सरको व्यवस्था पनि अतिआवश्यक देख्छु । सेन्सरचाहिँ टिकटकमा मात्र होइन, अन्य सोसल मिडिया सबैतिर आवश्यक छ ।’

क्यासेट, सिडी, भिसिडीको जमानादेखि सक्रिय गायक शिव परियार यस्तो अवस्थालाई समयको माग भएको धारणा राख्छन् । उनको अनुभव भन्छः अहिले रेकर्डिङदेखि एरेन्जमेन्टसम्म सबै सहज भएको छ । साथमा प्रमोसनमा पनि पहिलेको तुलनामा सहज भएको छ । अहिले सबैसँग समान पहुँच र अवसर पनि छ । ‘मान्छेसँग कला, साहित्य, संगीतको प्रतिभा, क्षमता छ भने अहिले समय लाग्दैन । छोटो समयमा सबैको नोटिस्डमा पर्न सक्छन्,’ परियार भन्छन्, ‘त्यस हिसाबले टिकटकमा पनि आफ्नो प्रतिभा देखाएका प्रयोगकर्ताहरूले गीतको प्रमोसन गरिदिएर आयस्रोतको माध्यम पनि बनाएका छन् ।’

टिकटकमा गीतको प्रमोसन दुई तरिकाले भइरहेको देख्छन् गायक परियार । एक, टिकटकमा मिलियन फलोअर्स कमाउन सफल टिकटक स्टारहरूको माध्यमबाट । दुई, प्रयोगकर्ताले आफूखुसी भिडियो बनाइदिने प्रयोगकर्ताको माध्यमबाट । तर, पैसा तिरेर, मिलियन पलोअर्सको माध्यमबाट गरिने प्रमोसनको सबै गीतले दर्शक–श्रोताको माया भने नपाउने उनी बताउँछन् । ‘यहीकारण टिकटकका गीतका टुक्राहरू बजारिया मार्केटिङ मात्र हो । त्यो मार्केटिङको रणनीति मात्र हो,’ परियार भन्छन्, ‘तर, राम्रो सिर्जनालाई त्यस्तो औधि प्रमोसनमा बल लगाउनु पनि पर्दैन । आफैँ दर्शक–श्रोताको मन–मस्तिष्कमा पुग्छन् ।’

टिकटकका चर्चित स्टार
टिकटकमा प्रमोसनका लागि खोजिने टिकटक स्टारमध्ये सबैभन्दा अगाडि नाम आउँछ जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा । म्युजिक भिडियोमा पनि सक्रिय उनीहरू नयाँ नेपाली गीतको प्रमोसनका लागि पहिलो रोजाइमा पर्छन् । अस्मिता गुरुङ, सुधिर श्रेष्ठ, उषा उप्रेती, रेश्मा घिमिरेलगायत राम्रो फलोअर्स भएका कलाकार हुन् । साथै, सिने क्षेत्रका अभिनेत्रीहरूको पनि राम्रै फलोअर्स छन् । राम्रो फलोअर्स भएका टिकटकरहरूमा अहिलेको नेपाली संगीत भर परेको देखिन्छ भन्दा पनि फरक पर्दैन । धेरै फलोअर्स भएका कलाकारको कमाई पनि राम्रै छ ।