मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भरतपुर महानगरपालिका– ६ केशरवागका योगेन्द्रराज चापागाईं दूध फाल्दै । 
२०७७ भदौ २१ आइतबार ०४:००:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिक्री नहुँदा दिनदिनै दूध फाल्न बाध्य किसान

Read Time : > 2 मिनेट
२०७७ भदौ २१ आइतबार ०४:००:००

व्यावसायिक रूपमा उन्नत जातका गाई पाल्दै आएका चितवनको भरतपुर महानगरपालिका–६ केशरवागका शोभाखर चापागाईंको कोरोना भाइरसको संक्रमणबाट १५ भदौमा मृत्यु भयो । ५ भदौमा कोरोना संक्रमण पुष्टि भएदेखि नै उनको परिवारले दूध बिक्री गर्न पाएको छैन । 

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका चापागाईंको परिवारले ५ भदौदेखि नै दूध फाल्दै आएको छ । ६ भदौदेखि उनका नाति योगेन्द्रराज चापागाईं (आकाश)को काम बिहान उठेर दूध दुहुने र फाल्ने मात्रै भएको छ । ‘दुहुना गाई ६ वटा छन् । बाच्छाबाच्छीलाई खान दिएर, आफूले पनि खाएर दैनिक ४० लिटर दूध फाल्नु परिरहेको छ,’ आकाशले भने । सहकारीमा दूध बिक्री नभए पनि गाईका लागि चोकर, दाना भने स्थानीयले घरमै ल्याइदिएर सहयोग गरिरहेको उनले बताए । 

कोरोना संक्रमितको मात्रै होइन, अन्य किसानको पनि उस्तै पीडा छ । उनीहरूले दूध बिक्री गर्न पाएका छैनन् । भरतपुर– ८ का शिवलाल कँडेलको आदर्श पशुपालन फर्ममा एक सय गाईभैंसी छन् । जसमा ३५ गाई र ३७ भैंसीले दैनिक चार सय ५० लिटरभन्दा बढी दूध दिन्छन् । बजारछेउमै उनीहरूको फर्म भएकाले आफ्नै बिक्री केन्द्र पनि छ । स्थानीय प्रशासनले तोकेको समयमा दूध बिक्री गर्दै आए पनि फाल्नुपर्ने अवस्था रहेको उनले बताए । ‘पहिलेजस्तो सबै दूध बिक्री हुँदैन । केही दूधको क्रिम निकाल्छौँ, केही दूध फाल्छौँ,’ उनले भने । 

भरतपुर– ६ इन्द्रपुरीका विष्णु अधिकारीले दूध बिक्री गर्ने सहकारीको दुग्ध बिक्री केन्द्र बन्द भएको छ । निषेधाज्ञाको समयमा डिडिसीले दूध नलगेपछि बन्द भएको उनले बताए । उनले पालेका ५० मध्ये २० गाईले दैनिक दुई सय लिटरभन्दा बढी दूध दिन्छन् । ‘दूध बिक्री पनि हुँदैन, कोरोनाको डरले निःशुल्क बाँड्न पनि मिलेको छैन । दिनदिनै फाल्नु परिरहेको छ,’ उनले भने । 

चितवनका किसान गत ११ चैतमा लकडाउन सुरु भएदेखि नै समस्यामा पर्दै आएका छन् । कतिपयले दूध फाल्दै आएका छन् भने कतिपयले बिक्री गरेको दूधको पैसासमेत पाएका छैनन् । दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको समेत पैसा नपाएको भरतपुर– २१ पार्वतीपुरका कृष्णप्रसाद सोडारीले गुनासो गरे । आफ्नै सोडारी गाई फार्म र स्थानीय बासिन्दाबाट संकलन गरेर उनले डिडिसीलाई दूध बिक्री गर्दै आएका छन् । ‘लकडाउनमा दूध बिक्री नै भएन, फाल्नुपर्‍यो । त्यसबापत सरकारले राहत दिन्छ भन्ने सुनेको थिएँ, तर बिक्री भएको दूधको समेत पैसा पाएको छैन,’ उनले भने । 

कोरोना र त्यसपछि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण चितवनका सयौँ किसान मर्कामा परेका छन् । दुग्ध उद्योगले किसानको फार्म र सहकारीबाट दूध खरिद गरेको छैन । बजार बन्द छ भने कोरोनाको भयले स्थानीय खपत पनि कम भएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगालेले बताए । उनका अहिले चितवनमा दैनिक तीन लाख लिटर दूध उत्पादन भए पनि ५० प्रतिशतसमेत बिक्री भएको छैन । 

चितवनमा दुग्ध उत्पादक सहकारी संघमा एक सय १० वटा दुग्ध उत्पादक सहकारी संस्था छन् । जसमा करिब ३० हजार किसान आबद्ध छन् । उनीहरूले उत्पादन गरेको दूध खेर गइरहेको बगालेको भनाइ छ । ‘हामीलाई दूध बिक्रीको विकल्प दिनुप¥यो । अहिले किसानलाई विशेष ध्यान नदिने हो भने सबैजना पेसाबाट पलायन हुन सक्छन्,’ उनले भने । 

त्यस्तै, पाँच सयभन्दा बढी व्यावसायिक पशुपालक किसान छन् । उनीहरूले ५० हजारदेखि दुई लाखसम्मका गाई पालेका छन् । दूध बिक्री नहुँदा गाईलाई चोकर खुवाउन पनि समस्या भएको उनले बताए । 

चिकित्सक भन्छन्– दूधबाट कोरोना सर्दैन

चिकित्सकहरूले दूधबाट कोरोना नसर्ने बताएका छन् । भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले दूधबाट अहिलेसम्म कोरोना सरेको नपाइएको बताए । ‘दूध उमालेर खाने भएकाले यसमा कोरोना मात्र होइन, अन्य भएका संक्रमण पनि रहँदैनन्,’ डा. सापकोटाले भने, ‘दूध मात्र होइन, अन्य खानेकुरा फलफूल, तरकारीबाट पनि कोरोना सर्दैन ।’

बरु खरिद गर्दा माक्सको प्रयोग गर्ने, दूरी कायम गर्नुपर्ने उनले बताए । यस्तो वेला बालबालिका, वृद्धवृद्धा, बिरामी र कमजोर व्यक्तिले शक्ति बढाउन दूध खानुपर्ने उनको भनाइ छ । ‘दूधमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । शुद्ध दूधले शरीरमा हड्डी, मांसपेशी, नसाहरू, दिमागलाई पनि फाइदा गर्छ । यसले रोगसँग प्रतिरोध गर्ने क्षमता पनि राख्छ,’ डा. सापकोटाले भने, ‘त्यसैले दूध कम गर्ने होइन, यसको प्रयोग बढाऔँ ।’

सबै जिम्मेवार बनौँ : मेयर

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सहजीकरणका लागि प्रयास भइरहेको बताइन् । ‘हामीसँग पर्याप्त साधन–स्रोत र सुविधा छैन । तैपनि सकेसम्म सहजीकरणका लागि महानगरले काम गरिरहेको छ,’ दाहालले भनिन् । 

महानगरले कृषिलाई प्राथमिकतामा राखेको बताउँदै अहिलेको समयमा सबैले सहयोग गर्नुपर्ने बताइन् । ‘अहिले सबै क्षेत्र ठप्प छ । मान्छेको स्वास्थ्य नै जोखिममा छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्न आवश्यक छ,’ उनले भनिन् । कृषि उत्पादनलाई खेर जान नदिन पहल गर्ने उनको भनाइ छ ।