इच्छाकामना गाउँपालिका– २ थामडाँडाका २८ वर्षीय बुधलाल चेपाङ दुईपटकसम्म मलेसिया गएर फर्किए । विदेशमा कमाएको धनले गरिब परिवार लालनपालनमै खर्च भएपछि तेस्रोपटकका लागि उनी मलेसिया जान तयार भएनन् । बरु उनले गाउँमै सुर्कासुर्की बारी खनजोत गरेर अन्नपात लगाउन थाले । मुख्य रूपमा मकैखेती हुने त्यस ठाउँमा बिस्तारै उनी तरकारी खेतीतर्फ पनि आकर्षित हुन थाले ।
अहिले बुधलाल गोलभेंडा बिक्री गर्न व्यस्त छन् । अफ सिजनमा फलाएको गोलभेंडाले राम्रो मूल्य पाएपछि उनी खुसी छन् । व्यापारीहरू बारीमै आएर गोलभेंडा लैजाने गरेको उनले सुनाए । झन्डै १० कट्ठा क्षेत्रफलमा उनले गोलभेंडा खेती गरेका छन् ।
‘एक महिनाअघि बजारसम्म लगेर जम्मा ३५ रुपैयाँ किलो बेचेको हुँ,’ बुधलालले भने, ‘अहिले व्यापारी बारीमै ८० रुपैयाँ किलो दिन आइपुग्छन् ।’ त्यस ठाउँको तरकारी संकलन र बिक्री केन्द्रका रूपमा फिस्लिङ बजार रहेको छ । एक महिनाको बीचमा पटकपटक भाउ बढेर ८० रुपैयाँसम्म पुगेको उनी बताउँछन् ।
आकाशेपानीको भरमा खेती गर्ने गरेको उनले बताए । बारीमा असी रुपैयाँ परेको गोलभेंडाको भाउ उपभोक्तासम्म पुग्दा दोब्बरसम्म बढ्ने गरेको पाइन्छ । यसबीचमा बिचौलियाका कारण उपभोक्ता ठगिने गरेका छन् । तपाईंले ८० रुपैयाँमा बेचेको गोलभेंडा किसानले एक सय ६० रुपैयाँसम्म मूल्य तिर्नुपरेको छ नि भनी प्रश्न गर्दा उनले भने, ‘केही घन्टामै बिचौलियाले यसरी पैसा खाइदिँदा किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका छौँ ।’ ‘गाउँमा पिउने पानीको समस्या छ, सिँचाइको लागि पानी झनै पाउन सकिएको छैन,’ उनले भने, ‘तरकारी आकाशेपानीको भरमा लगाउने गरिएको छ ।’ सिजन र अफसिजन दुवै अवस्थामा गोलभेंडा, बोडी, स्कुसलगायतको तरकारी फलाउने गरको स्थानीय युवा विकास गुरुङले बताए ।
हरेक दिन बिहान गाउँमा चल्ने ट्रक, बोलेरो जिपले गाउँबाट तरकारी ओसार्ने गर्छ । फिस्लिङ झारेको तरकारी काठमाडौं, पोखरा, नारायणगढ, गोरखा जाने गरेको छ । तरकारी लिनका लागि ढुवानीको साधन उपलब्ध भएकाले अन्नबालीभन्दा पनि नगदेबालीमा किसान आकर्षित हुन थालेका छन् ।
हिजोआज सहरमा लकडाउन र निषेधाज्ञा छ । मानिस काममा जान सकिरहेका छैनन् । तर, गाउँमा भने खेतीकिसान गर्नेहरू आफ्नो दैनिकीमा व्यस्त छन् । व्यस्तमध्येकै एक हुन्, बुधलाल । उनी भन्छन्, ‘रोग, संक्रमण, डर, निषेधाज्ञा सबै सहरमा छ । तर, हामी गाउँले ढुक्कले जीवनयापन गरिरहेका छौँ ।’