१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २० शनिबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटक बसपार्क निर्माण ९० प्रतिशत सम्पन्न, डेढ महिनामा सकिने

Read Time : > 1 मिनेट
२०७७ भदौ २० शनिबार १०:००:००

पोखरामा पर्यटक बसपार्क निर्माणको काम झन्डै ९० प्रतिशत पूरा भएकोे छ । कोभिड–१९ प्रभावका कारण लक्ष्यअनुरूप काम गर्न नपाए पनि बिस्तारै भइरहेको निर्माता कम्पनी आशिष–सिएम–मिसन जेभीका निर्देशक शान्तकुमार श्रेष्ठले बताए । वैशाखमै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण गेट निर्माण, रङरोगनलगायतका काम बाँकी रहेको उनको भनाइ छ । 

नियमित काम गर्ने वातावरण भएमा अबको एकडेढ महिनामा सबै काम सम्पन्न गरेर बसपार्क हस्तान्तरण गर्ने उनले बताए । ‘हाम्रो लक्ष्य वैशाखको अन्त्यसम्ममा काम सक्ने र हस्तान्तरण गर्ने थियोे,’ उनले भने, ‘तर, कोरोना संक्रमणका कारण लकडाउन र निषेधाज्ञाले नियमित काममा बाधा पुग्दा ढिलाइ भयो । अबको एकडेढ महिनामा सक्ने र हस्तान्तरण गर्ने योजनामा छौँ ।’ कम्पाउन्ड वाल, बिल्डिङको ढलान र प्लास्टर सकाएर अहिले बसपार्कको गेट राख्ने र भुइँको ढलानको काम भइरहेको छ ।  

४० बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न मिल्छ
पर्यटक बसपार्कमा ४० वटा पर्यटक बस आवतजावत गर्न सक्ने निर्माण कम्पनीको स्थानीय आधिकारिक प्रतिनिधि एविज इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रोजेक्ट डाइरेक्टर इन्जिनियर असिम बरालले बताए । त्यस्तै, १० वटा माइक्रोबस, २० वटा ट्याक्सी पार्किङस्थल तथा केही कारसमेत पार्किङ गर्न सकिनेछ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुवैतर्फ १ सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बन्नेछ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन उत्तरी हिमालतर्फको मनमोहक दृश्यावलोक गर्न सक्नेछन् । सडकको बीचमा रहने डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइनेछ । बसपार्कमा व्यवस्थित शौचालय, चमेनागृह रहन्छन् ।  

लागत ७ करोड ५० लाख
पोखरा महानगरपालिका–७, राष्ट्र बैंक चोकनजिक निर्माण भइरहेको आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन ०७५ मा भएको हो । निर्माण कम्पनीका अनुसार २ असोज ०७७ भित्र बसपार्क निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ । तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको हो । ७ हजार ९ सय वर्गमिटरमा बन्ने बसपार्कको निर्माण ७ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने सम्झौता भएको हो ।