मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी म्याड्रिड
२०७७ भदौ २० शनिबार ०६:२२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीकै पथमा सुआरेज

Read Time : > 1 मिनेट
एजेन्सी म्याड्रिड
२०७७ भदौ २० शनिबार ०६:२२:००

लियोनल मेसीले बार्सिलोना छाड्ने चर्चा सेलाउन नपाउँदै लुइस सुआरेज पनि खेलाडी किनबेच सिजनमा आफू उपलब्ध भएको जनाएका छन् । यदि मेसी र सुआरेज एकै समयमा नाउ क्याम्पबाट बिदा भए भने बार्सिलोनाले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । पछिल्लो ६ वर्षदेखि यी दुवै खेलाडी बार्सिलोनाका मुख्य फिनिसरका रूपमा थिए । सेटपिस खेलाडी बाहिरिँदा बार्सिलोनाले त्यही स्तरका खेलाडी खोजी गर्नुपर्ने हुन्छ । प्रशिक्षक रोनाल्ड कोएम्यानलाई निकै चुनौती देखिन्छ । 

सुआरेजले बिहीबार आफ्ना मित्र मेसीको घरमा बिदा लिएको स्थानीय एजेन्सीहरूले उल्लेख गरेका छन् । सुआरेज सम्भवत सिरिए क्लब युभेन्ट्ससँग नजिक छन् । उनले एजेन्टमार्फत युभेन्ट्ससँग वार्ता चलाइसकेका छन् । बार्सिलोनाले पनि पुराना खेलाडी बिक्रीमा रहेको जनाएको छ । सुआरेज बार्सिलोनाबाट बाहिरिनुको पछाडि प्रशिक्षक रोनाल्डसँग वार्ता नमिल्नु नै हो । 

नवनियुक्त प्रशिक्षक रोनाल्डले यसै साता सुआरेजसँग छलफल गरेका थिए । प्रि सिजनअघि कोभिड–१९ को प्रशिक्षण दौरान नै यी दुईबीच वार्ता भएको थियो । कोभिड–१९ को परीक्षणमा जाँदा सुआरेज बार्सिलोनामा नै रहने पक्कापक्कीजस्तै थियो । तर, रोनाल्डले आफू युवा खेलाडीका साथ अगाडि बढ्ने स्पष्ट पारेपछि सुआरेजको मन बदलिएको हो । ‘अब बार्सिलोना युवाहरूका साथमा रहनेछ, जहाँ पाका खेलाडीको कुनै काम छैन,’ रोनाल्डको भनाइ उद्धृत गर्दै सुआरेजले भने । यो भनाइपछि नै उनले बार्सिलोना त्याग्ने निधो गरे । 

बार्सिलोनामा थोरै दिन बाँकी रहेको जनाउँदै सुआरेज र उनकी श्रीमती सोफिया मेसीको घर पुगेका हुन् । जहाँ मेसीले नयाँ क्लबमा सफल भविष्यको शुभकामना दिएका छन् । स्पेनिस एजेन्सीहरूका अनुसार सुआरेज युभेन्ट्समा ४ करोड ४० लाख पाउन्डमा अनुबन्ध हुन सक्छन् । यसका साथै सुआरेजसँग प्रतिवर्ष नौ करोड पाउन्डको अलग सम्झौता गर्नेछ । इटालियन स्काई स्पोट्र्सका अनुसार सुआरेजले वार्षिक रूपमा युभेन्ट्सबाट राम्रो बोनस पाउनेछन् ।